पाटनका एक्ला सनई बाजक कान्छा कपालीको सनई

पाटनका एक्ला सनई बाजक
प्रशान्त माली

ललितपुर — एक दशकअघि रातो मत्स्येन्द्रनाथ जात्रामा म्वाली (सनई) बजेको सुनिन्थ्यो । पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक राजखड्गअगाडि बजाइन्थ्यो यो बाजा । संस्कृविदहरूका अनुसार लाखे नचाउँदा पनि अनिवार्य बजाउनुपर्थ्यो ।

अहिले यो सनईको धुन हराउँदै गएको छ । पाटन दुपा टोलका ७६ बर्षिय कान्छा कपाली नै अन्तिम सनईवादक बनेका छन् । ‘छोरा नातीले चासो देखाउन छाडे’, हालैको भेटमा कान्छाले गुनासो गरे, ‘अरुलाई के भन्नु ।’

कान्छाले १२ वर्ष उमेरमा म्वाली (सनई) बजाउन सिके । त्यति बेला उनको परिवारको गुजारा म्वाली बजाएरै हुन्थ्यो, घरमा बाली भित्रिन्थ्यो । त्यसैले उनलाई बुबाले बाजा सिक्न प्रस्ताव राख्नेबित्तिकै नाइँनास्ति गरेनन् । बुबाले जस्तै उनले पनि ३४ वर्षअघि छोरा रत्नलाललाई बाजा सिक्न आग्रह गरे । समय फेरियो, छोराले मानेनन् । ‘नगर प्रहरीमा जागिरे बन्नतिर पो लागे’, ७६ वर्षीय कान्छाले भने, ‘अब सनई बजाउने मान्छे नै छैनन् ।’

उनका अनुसार शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा पनि कुनैबेला दैनिक बिहान र साँझ सनई बजाउनु पर्थ्यो । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच मञ्चन गर्दा र सिंह जात्रा मनाउँदा मात्रै बजाउने चलन बाँकी छ । कान्छाका अनुसार मन्दिरमा बाजामार्फत विभिन्न देवीदेवताका नेपाल भाषामा लेखिएका गीत बाह्रै महिना फरकफरक गाउनुपर्थ्यो । ‘अहिले बाजासँगै गीत पनि हराउँदै गएको छ,’ उनले भने ‘यस बाजाको छुट्टै गुठी नभएकाले पनि जर्गेना गर्न गाह्रो परेको हो ।’

गार्‍हो त कान्छा स्वयंलाई पनि छ । उनी ढाड, घुँडा दुख्ने समस्याका कारणले मुस्किलले घर भित्र–बाहिर गर्छन् । स्थानीयवासी भने जसरी भए पनि उनले अरूलाई बाजा सिकाउनुपर्ने पक्षमा छन् । ‘छोरालाई त बाजा बजाउनुपर्छ, संस्कृति मास्नु हुँदैन भनेर सिकाउन सकिनँ’, उनले भने, ‘अरूको त कुरै छाडौं ।’ उनले पुराना समय सम्झे । तिनताक पाटनका कपाली समुदायका प्रत्येक घरका एक जना सदस्यले अनिवार्य बाजा बजाउन जानेका हुन्थे ।

पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । ०३८ मा ५ खलकमा सीमित भए । अहिले उनीसँगै बाजा बजाउन सिकेकामध्ये बाँचेकाहरू अशक्त छन् । ‘मैलेपनि जेनतेन चलाइरहेको छु । कहिले छोड्छु थाहा छैन’, उनले भने ।

उनका अनुसार ०४० सम्म बाजा बजाएबापत बाली भित्रिन्थ्यो । गुठी संस्थानबाट वार्षिक ५ मुरी धान दिन्थे । पछि जग्गा धनीले संस्थानमा केही रकम जम्मा गरी जग्गा रैतानीमा परिणत गरे । त्यसयता न गुठीले रकम दिए न त जग्गाधनीले बाली नै दिए ।


प्रकाशित : वैशाख ३१, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

उखेलिएको ट्युबवेल तुरुन्त गाड्न मोरङ प्रहरीको निर्देशन, सनी र सिर्जनाको खोजी तीव्र

विनु तिम्सिना

काठमाडौँ — मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका २ सख्मा टोलमा उखेलिएको ट्युबवेल तुरुन्त पुनस्थापनामा सहयोग गर्न इलाका प्रहरी कार्यालय नेमुवालाई निर्देशन दिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर बेपत्ता चैत १८ गतेदेखि बेपत्ता छन् । यही घटनालाई लिएर वर्षौंदेखि एकापसमा मिलेर बसेका ऋषिदेव परिवार र थापा परिवारबीच दुस्मनी बढेपछि ऋषिदेव परिवारले प्रयोग गर्दै आएको सामूहिक ट्युबवेल थापा परिवारका सदस्यले उखेलिदिएका थिए । 

मोरङ, बुढिगंगाको ऋषिदेव समुदायले खानेपानीबाट वञ्चित गराएको भन्दै उजुरी गरेपछि सोमबार इलाका प्रहरी कार्यालय नेमुवामा छलफल गरिँदै । तस्बिरः विनु/कान्तिपुर

गाउँमा रहेको सामूहिक ट्युबवेल उखेलेर फ्याँकिएपछि ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले खासै चासो नदेखिएको गुनासो ऋषिदेव परिवारले गरेका थिए। सोही विषयमा सोमबार नेमुवा प्रहरीले थापा र ऋषिदेव दुवै परिवारसँग छलफल गराएको थियो। छलफलबाट कुनै निष्कर्ष आउन सकेन।

करिब एक महिनादेखि ऋषिदेव परिवारले पानी खानकै लागि हारगुहार गरिरहेको समाचार प्रशासन भए पनि मंगलबार मोरङ प्रहरीले पुनः दुवै पक्षलाई बोलाएर घटनाका विषयमा जानकारी लिएको छ। साथै तुरुन्तै ट्युबवेल गाड्न निर्देशनसमेत दिएको छ।

कुनै पनि बाहानामा अत्यावश्यक वस्तुमाथि बन्देज लगाउन खोज्नु वा दुःख दिनु कानुनी अपराध हुने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोज केसीले बताए।

गाउँमा भएको सामूहिक ट्युवेल उखेलेर बस्तीलाई नै पिउनेपानीबाट बञ्चित गर्नु जघन्य अपराध भएको बताउँदै उनले यस्तो गर्ने जोसुकैलाई कारबाही गरिने बताए। तुरन्तै ट्युबवेल गाड्न, ट्युबवेल गाड्न कुनै अवरोध सिर्जना नगर्न निर्देशन गरिएको उनले जानकारी दिए। यसअघि कस्ले ट्युबवेल उखेलेको हो अनुसन्धानपछि कारबाही गर्ने उनले बताए।

'सनी र सिर्जना बेपत्ता भएको केस अर्कै हो,' उनले भने, 'कुनै पनि बाहानामा पानीजस्तो अत्यावश्यक वस्तुमा प्रतिबन्ध लगाउन खोज्नु जघन्य अपराध हो, ट्युबवेल कसले उखेलेको अनुसन्धान गर्दैछौं, यस्तो अपराध गर्नेलाई सख्त कारबाही हुन्छ।'
खोजी कार्य तीव्र
मोरङ प्रहरीले मोरङ सनी ऋषिदेव र सिर्जना थापामगरको खोजी कार्य तीव्र बनाएको छ। सिर्जनाका आफन्तले आफ्नी नाबालिक छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन्। कम उमेर बालिका हराएको भन्दै अभिभावकले उजुरी दिएकाले खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए।

सनी र सिर्जना दुवैजना कम उमेर भन्ने जानकारी आए पनि खोजी गर्न भने सिर्जनाका अभिभावकले मात्रै निवेदन दिएकाले बालिकाको खोजी भइरहेको उनले बताए। एउटै गाउँका सनी र सिर्जना एकै मितिबाट दुवैजना सँगसँगै बेपत्ता भएकोले सँगै भागेको भन्ने आशंका गरिएको उनले बताए। २० वर्ष उमेर नपुगेकालेले उनीहरुले विवाह नै गरेको भए पनि त्यसले कानुनी मान्यता नपाउने उनले बताए।

सिर्जनाका बुबा रामु थापाले उनी १८ वर्षमात्रै पुगेको बताएका छन् । सनीका आफन्तले भने उनको उमेर २० वर्ष पुगेको बताए । सिर्जनाका आफन्तहरुले आफ्नी नाबालीक छोरीलाई फकाएर भगाएको र बेचबिखन गरेको आरोप लगाउँदै आएका छन् ।

सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि गाउँमा भएको र सिर्जनाका आफन्तलाई पनि यो विषयमा जानकारी रहेको सनीका आफन्तको दाबी छ । एसईई परीक्षा सकिएकै दिन चैत १८ मा गाउँ छाडेर दुवैजना सम्पर्कविहीन छन् ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार ऋषिदेवहरुको संख्या नेपालभरमा २ लाख ३४ हजार ४ सय ९० छ । जुन कुल जनशंख्याको शुन्य दशमलव ८९ प्रतिशत हो । लामो समयदेखि मोरङमा रहेर मुसहरहरुको क्षेत्रमा काम गर्दै आएका गुरुचरण ऋषिदेवले अन्य समुदायभन्दा मुसहरहरु हरेक हिसाबले पछाडि परेको बताए । उनका अनुसार मोरङमा ऋषिदेवहरुको संख्या करिब ४० हजार छ ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : वैशाख ३१, २०७६ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्