तमु ल्होछारमा झाँकी नै आकर्षण


काठमाडौँ — गुरुङ समुदायले काठमाडौंको टुँडिखेल तथा देशविदेशमा धुमधामका साथ तमु ल्होसार मनाए । पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरेका छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभुषामा सजिएर ल्होसार मनाउन आएका गुरुङ समुदायले झाँकी प्रदर्शन गरे ।
आदीवासी जनजाती समुदाय अन्तर्गत पर्ने गुरुङहरुको आफ्नै सांस्कृतिक पहिचान छ । गुरुङ पुरुषहरुले भांग्रा, कच्छड लगाउँछन् । यो मुख्यत: अल्लोबाट बनाइन्छ । महिलाहरु गुन्युचोली र घलेक लगाउँछन् ।
उनीहरुले यो चाड तमु संवतअनुसार प्रत्येक पुस १५ मा मनाउँछन् । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाा सम्वत् सुरु भएको सङ्केत गर्छ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छन् ।
जसअनुसार विभिन्न १२ वटा जनावरको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ । तमु (गुरुङ) समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा आफ्नो मौलिक पर्वको रूपमा मनाउँदै आएका छन् ।