प्रतिवेदनको पर्खाइमा मकिदै सिंहदरबारको पश्चिम मोहडा
काठमाडौँ — मुलुकको प्रुमख प्रशासनिक निकाय सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने की सबलीकरण गर्ने भन्ने बहस लम्बिरहँदा भवनको संरचना दिनानुदिन कमजोर बन्दै गएको छ।
तीन वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी मोहडामा सबलीकरण (रेट्रोफिटिङ) जारी रहेपनि पश्चिमी मोहडालाई भने अझै अध्ययन/अनुसन्धानकै क्रममा राखिएको छ । युरोपेली शैली–संरचना (नियो–क्लासिकल)मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमै बेलायती बैठकदेखि स्टेट हलसम्मका विशिष्ट संरचना छन्।
‘सिंहदरबारका तीन मोहडासहितको मुख्य भागमा भने तीन महिनायता रेट्रोफिटिङ जारी छ,’ राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका एक अधिकारीले भने, ‘अब १५ महिनामा सक्नुपर्ने रेट्रोफिटिङको शर्मा न्यू टेक्निकलले ठेक्का पाएको छ, यसमा २४ करोड रुपैयाँ बिनियोजित छ ।’
तर पश्चिमी मोहडा जिर्ण र संवेदनशील भएका कारण विषयविदको एउटा टोलीले जारी राखेको अध्ययनपछि मात्रै सवलीकरण गर्नेबारेमा टुंगो लाग्ने भएको छ । यो टोलीमा प्राधिकरणका सहसचिव राजु मानन्धर संयोजक रहेका छन् । टोलीले अब दुई सातामा आफ्नो अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँदैछ ।
‘यो ऐतिहासिक संरचना जोगाउने पक्षमा र सबलीकरण गर्ने पक्षमा निर्णय आउने अपेक्षा छ,’ प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत शुशिल ज्ञवालीले पश्चिमी मोहडाको स्थलगत भ्रमणपछि भने, ‘टोलीको सुझाव प्रतिवेदन आउनासाथै सबलीकरणको मोडालिटी निर्धारण गरिनेछ ।’
अहिले पश्चिम मोहडातर्फ माटो परीक्षणको काम समेत भैरहेको छ । जीएस सोयल एण्ड म्याटरियल इन्जिनियरिङका प्राविधिकले सोमबार मात्रै सिंहदरबार पश्चिमी मोहडाको १६ मिटर मुनिको माटो परीक्षण गरेको थियो । यो तहमा ‘कमजोर माटोको संरचना’ पाइएपछि थप विशिष्ट परीक्षण गरिने भएको छ ।
‘सिंहदरबार जोगाउनेबारेमा बहस जारी रहेकै बेला यो संरचना जोगाउन भनेर प्लास्टिक ओतले छोपछाप गर्ने निर्णय भएको थियो,’ अध्ययन टोलीका संयोजक समेत रहेका सहसचिव मानन्धरले भने, ‘पश्चिमी मोहडाको बेलायती बैठक कक्षमाथि भने प्लास्टिक ओतको कुनोमा पानी जमेर पोखरी बनेको अवस्था रहेछ, एकपट्टिको पर्खाल भिजेर संरचना निकै कमजोर बनेको स्थिती छ ।’ तर, सबलीकरणको जुनै उपाय लगाएर भएपनि सिंहदरबारको यो ‘सिग्नेचर’ संरचना जोगाउन सकिने अठोट मानन्धरले दोहोर्याए ।
तस्बिर : अंगद ढकाल
प्रकाशित : भाद्र १८, २०७५ २०:५२