‘सैतानी ब्याज’ को पासोमा जकडिएकाहरुको पीडा (भिडियो)

जनकराज सापकोटा

काठमाडौँ — सैतानी ब्याजको पासोमा परी सर्लाहीको जब्दी, पिपरिया लगायतका ३० महिला सहित ३६ जना न्यायको खोजीमा भौतारिएको दुई बर्ष पुग्नै लाग्यो । यो अवधीमा उनीहरु कहाँ मात्रै पुगेनन् । तर कतैबाट केही हात परेन् ।

‘सैतानी ब्याज’ को पासोमा जकडिएकाहरुको पीडा (भिडियो)

प्रहरीको ढोका ढक्ढकाएनन् कि, जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीसँग विन्ती बिसाएनन् कि, जिल्लाका राजनीतिक दलका नेता कहाँ अनुरोध गरेनन् । तर कतैबाट केही हात परेन् ।

सर्लाहीकै श्याम प्रदेशी भनिने श्याम कृष्ण शाहले थापेको सैतानी ब्याजको पासोमा परेर मर्नु न बाँच्नु बनेकाहरुको संख्या करिव तीन सयको हाराहारीमा रहेको अनुमान छ । सय कडा पाँच रुपैया व्याजदरमा ५० हजार देखि दुई लाखसम्म ऋण दिने श्याम प्रदेशीले ऋणीको परिबन्दको फाईदा उठाउँछन् र तीन/चार वटा फर्जी कागज बनाएर ऋणीलाई कज्याउँछन् । रकम लिएको भन्दा धेरै पैसा भएको यस्तो फर्जी कागजका आधारमा प्रदेशीले ऋणी बिरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेका छन् ।

सर्लाही जिल्ला अदालतका कर्मचारी दिनेश मिश्रका अनुसार प्रदेशी र उनका परिवारका नाममा जारी लेनदेनको ५० मुद्दामा उनको पक्षमा फैसला गरी अदालतले ३५ दिने पुनरावेदनको म्याद जारी गरिसकेको छ । अदालतले जारी गरेको यस्तो म्याद तामेल भएको सात दिनभित्र अदालतमा उपस्थित नभएका कानून बमोजिम सजाय हुने कानूनी व्यवस्था छ । प्रदेशीले दायर गरेको लेनदेनको ३५ वटा मुद्दा भने अदालतमा फैसलाको क्रममा छ । प्रदेशीले दायर गरेको मुद्दाकै आधारमा दुई ऋणी भने जेल सजाय भोगिरहेका छन् । चलाख प्रदेशीले ऋण आफुले दिएपनि ऋणीहरुसँग आफ्नो छोरी ईला शाह, ज्वाई रामबाबु शाहदेखि छोरा सुजय शाह देखि श्रीमती रन्जु शाहसम्मको नाममा कागज बनाउँदै उनीहरुले ऋण दिएको कागज बनाएका छन् ।


सर्लाहीका कांग्रेस नेता एवं मन्त्री शम्भु श्रेष्ठले कानुन हातमा लिएर गरीब र निमुखामाथि शोषणको श्रृखलाबद्ध धन्दा चलाईएको बताउँछन् । हरिऔन नगरपालिकाका मेयर गणेश प्रसाई पनि प्रदेशीको ब्याजी मिटर धन्दाबारे राम्रोसँग जानकार छन् । उनले भने, ‘साँवा र ब्याज तिर्नेलाई भर्पाई नदिने र एउटै ऋणबाट बर्षौसम्म शोषण गरिरहने काम भईरहेछ ।’


एक लाख ४० हजार ऋण लिएका एक ऋणीले तीन बर्ष पछि ४ लाख ८० हजार बुझाउन खोज्दा पनि प्रदेशीले नमानेको कथा सुनाउँदै उनले भने, ‘यसैबाट थाह हुन्छ, उनी सुदखोर हुन् ।’ सर्लाहीका एमाले अध्यक्ष रेवती पन्त ब्याजी मिटरमा निर्लज्ज रुपमा ठगी भईरहेको बताउँछन् ।


प्रकाशित : पुस २१, २०७४ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?