१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यूएईमा कार्यरत ३० नेपाली सुरक्षा गार्डको अपिल, ‘हामीलाई छिटो उद्दार गरिदेऊ’

होम कार्की

काठमाडौं — तीन महिनादेखि तलब बिहीन संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका झन्डै ३० नेपाली सुरक्षागार्डले आफूहरुलाई यथाशिघ्र उद्दार गर्न अपिल गरेका छन् । ती सुरक्षागार्ड १० महिनाअघि यूएई पुगेका थिए ।

यूएईमा कार्यरत ३० नेपाली सुरक्षा गार्डको अपिल, ‘हामीलाई छिटो उद्दार गरिदेऊ’

यूएईको सारजाहास्थित सनैया—३ लेबर क्याम्पमा बस्दै आएका उनीहरु ‘लिडर सेक्युरिटी सर्भिस’ मा कार्यरत थिए । ‘नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताविपरीत यहाँको कम्पनीले तलब दिएको थियो । 

‘कम तलब दिंदै आए पनि हामी काम गरिरहेका थियौं’, पीडित भएका भरत जोशीले कान्तिपुरलाई भने,‘कम्पनीले पछिल्लो समयदेखि तलब नै दिन छाड्यो ।’ 

उनीहरु काठमाडौंस्थित हिमारब ओभरसिज र एनसीअफ म्यानपवारलाई दुई लाख ५० देखि दुई लाख ७० हजार रुपैयाँ बुझाएर यूएई पुगेका थिए । 

अलपत्र परेका नेपाली सुरक्षागार्डको सूची । 

म्यानपावरले तलबसहित १८ सय ४१ दिराम पाउँने भन्दै कामदारसँग सम्झौता गराएको थियो । ‘यूएई आएपछि कम्पनीले अर्को सम्झौता गर्न बाध्य बनायो । जसमा कम तलब उल्लेख थियो’, उनले भने,‘पहिलो महिना देखि नै कहिले पूरा तलब भएन ।

कहिले ५ सय दिराम दिने । कहिले एक हजार दिराम दिन थाल्यो । हामीले पुरा तलब दिन माग गरिरहेको थियौ । पछि आएर कम्पनीले तलब दिन नसक्ने भन्दै हामीलाई वास्ता गरेन ।’ 

तलब नपाएपछि उनीहरुले एक महिनादेखि काम गरेको छैनन् । ‘हामी न्यायको लागि यूएईस्थित श्रम अदालतमा गयौं । अदालतमा छिट्टै सुनुवाई भएन । अदालतले अगस्ट ३१ तारिख तलब दिन कम्पनीलाई बोलाएको थियो । त्यो दिन पनि तलब दिएन’, अर्का पीडित देबकुमार श्रेष्ठले भने । 

नेपालमा म्यानपावरसँग गरिएको श्रम सम्झौता । जुनअनुसार उनीहरुले तलब पाएनन् । 

उनीहरुले यसबारे नेपाली दुताबासलाई सेप्टेम्बर १ मा जानकारी दिएको छ । दुताबासले अदालतमा मुद्दा भइसकेकोले तत्काल केही गर्न सक्ने अबस्था नभएको जानकारी दिएको उनीहरुले बताए । 

यूएई गएदेखि आफूहरुले स्वदेशमा एक लाख रुपैयाँ पनि पठाउन नसकेको बताए । ‘त्यत्रो रकम बुझाएर आयौं । अहिले हामीसँग खाने पैसा पनि छैन । घरमा एक लाख रुपैयाँ पनि पठाउन सकेको छैन’, भक्तराज थापाले भने । 

उनीहरुले उधारो खादै आएको बंगाली ब्यापारीले पनि सामान दिन छाडेको छ । ‘हामी थप मानसिक तनाव लिन सक्दैनौं’, थापाले भने,‘जतिसक्दो छिटो उद्दार गर्न दुताबास र नेपाल सरकार समक्ष अपिल गर्दछौं ।’ 


 

उद्दारको लागि आबुधाबीस्थित नेपाली दूताबासलाई गरिएको अनुरोध पत्र । 
 

 

प्रकाशित : भाद्र २३, २०७३ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?