३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चन्द्रयान - ३ : चन्द्रमाको सतहमा प्रज्ञान रोभर

अतुल मिश्र

काठमाडौँ — भारतले चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफलतापूर्वक अवतरण गराएको चन्द्रयान–३ ले आफ्नो यात्रा सुरु गरेको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले शुक्रबार सार्वजनिक गरेको भिडियोमा चन्द्रयान–३ ले चन्द्रमाको सतहमा यात्रा सुरु गरेको प्रस्ट देख्न सकिन्छ । 

चन्द्रयान - ३ : चन्द्रमाको सतहमा प्रज्ञान रोभर

चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान ओराल्ने भारत विश्वको पहिलो मुलुक हो । उक्त भिडियोमा प्रज्ञान रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा रहेको प्लेटफर्मबाट ओर्लिरहेको देख्न सकिन्छ । चन्द्रयान ३ को ल्यान्डरको नाम विक्रम हो भने यसको रोभरको नाम प्रज्ञान हो ।

विक्रम ल्यान्डर प्लेटफर्मबाट ओर्लिएपछि प्रज्ञान रोभर केही अघि बढेको भिडिओमा प्रष्ट देखिन्छ । विक्रम ल्यान्डर बाट प्रज्ञान रोभर अवतरण गरी चन्द्रमाको सतहमा हिँडेको र यसले चन्द्रमाको सतहमा रोभरको पाङ्ग्राले बनाएको छाप समेत देख्न सकिन्छ ।

विक्रम ल्यान्डरको क्यामराले खिचेको यो भिडियो २३ अगस्टमा चन्द्रमामा विक्रमको सफल ल्यान्डिङ पछि को हो । इसरोको अनुसार भारतमा चन्द्रको लागि बनाइएको चन्द्रयान–३ रोभर बनाइएको हो ।

चन्द्रयान–३ लाइ श्रीहरिकोटास्थित सतिश धवन स्पेस सेन्टर वाट गत १४ जुलाईमा लन्च गरिएको थियो । विक्रम ल्यान्डर र प्रज्ञान रोभरले अब दुई सातासम्म चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा काम गर्ने छ । यो १४ दिन चन्द्रमाको १ दिन बराबर हो ।

इसरोको अनुसार चन्द्रयान ३ ले चन्द्रमामा परेको प्रकाश र विकीरणको अध्ययन गर्नेछ । यस्तै यसले चन्द्रमाको थर्मल कन्डक्टिभिटी र तापक्रमको समेत अध्ययन गर्नेछ ।

चन्द्रयान–३ ले अवतरण स्थलको वरिपरि भूकम्पीय गतिविधिहरूको अध्ययन गर्नेछ । यस्तै प्लाज्माको घनत्व र यसमा भएका परिवर्तनहरूको अध्ययन समेत गर्नेछ।

इसरो प्रमुख एस सोमनाथले भारतीय सञ्चार माध्यमलाई भने अनुसार अवतरण भएको २४ घण्टापछि विक्रम ल्यान्डर र प्रज्ञान रोभर दुवै पूर्ण रुपमा संचालित भइरहेका छन् ।

चन्द्रायान–३ मिसनको तीन वटा उद्देश्य छ । पहिलो चन्द्रमा सतहमा सुरक्षित र सफ्ट ल्यान्डिङ सुनिश्चित गर्नु थियो । बुधबार साँझमै इसरोले त्यो सफलता प्राप्त गरिसकेको छ । यस्तै दोश्रो उद्देश्य चन्द्रमामा हिँड्न सक्ने रोभर ओराल्नु, यो पनि उद्देश्य इसरोले प्राप्त गरि सकेको हो भने यसको तेश्रो उद्देश्य वैज्ञानिक प्रयोग गर्नु समेत हो । जुन आगामी दुई सातासम्म जारी रहन्छ ।

सन २००८ को २२ अक्टुबरमा इसरोले चन्द्रयान–१ लाइ प्रक्षेपित गरेको थियो । चन्द्रकामो कक्ष मा जाने यो पहिलो भारतीय अन्तरिक्ष यान थियो । चन्द्रयान–१ द्वारा छोडिएको मुन इम्प्याक्ट प्रोवले चन्द्रमाको सतहमा कन्ट्र्रोल्ड क्र्यास ल्याण्डिङ गरेको थियो । चन्द्रयान–१ को सबैभन्दा महत्वपूर्ण खोजमध्ये एक चन्द्रमाको सतहमा पानीको अंश पत्ता लगाउनु हो ।

यस्तै चन्द्रयान–२ सन २०१९ को २२ जुलाईमा लन्च गरिएको थियो । यसमा एउटा अर्विटर, ल्यान्डर र रोभर सामिल थियो । चन्द्रयान–२ ७ सेप्टेम्बर मा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङको प्रयास गरेपनि अन्तिम ल्याण्डिङको समय सम्पर्क टुट्यो र क्र्यास भयो । चन्द्रयान २ अर्विटर अत्याधुनिक वैज्ञानिक उपकरणले सुसज्जित छ र यसले चन्द्रमालाई परिक्रमा गर्दै सतह सँगै बाहिरी वायुमण्डलको समेत अध्ययन गरिरहेको छ ।

प्रकाशित : भाद्र ८, २०८० १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?