टिकटकको भाइरल च्यालेन्जले किया र हुन्डाईलाई २०० मिलियन डलर जरिबाना

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको विभिन्न भागमा भाइरल भएको 'किया च्यालेन्ज' नामक टिकटक ट्रेन्डका कारण दुई कार निर्माता कम्पनी किया र हुन्डाईलाई २०० मिलियन अमेरिकी डलर जरिबाना गरिएको छ । हुन्डाई कम्पनीका ६ र किया कम्पनीका ८ मोडलमा भएको एक कमजोरीको फाइदा उठाउँदै किया बोइज नामक कार चोरहरूको समूहले यूएसबी केबलजस्ता साधारण तारको मद्दतले कसरी सजिलै ती कारहरू चोर्न सकिन्छ भनेर टिकटक र युट्युबमा भिडियो अपलोड गर्ने गरेका थिए ।

कार चोरीका भिडियोसम्बन्धी ट्रेन्ड सन् २०२० यता अमेरिकाको विभिन्न सहर र अस्ट्रेलियामा समेत फैलिएको थियो । अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनको तथ्यांकअनुसार सो ट्रेन्डमा आधारित रहेर सयौं गाडी चोरिएका थिए ।

चोर्ने क्रममा १४ वटा गाडी दुर्घटना भएका र ८ जनाको मृत्‍युसमेत भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो जरिबानामध्ये १४५ मिलियन अमेरिकी डलर यो क्रममा आफ्नो कार गुमाएका व्यक्तिहरूले प्राप्त गर्नेछन् । यो ट्रेन्डका कारण जम्मा कतिवटा कार चोरिए भन्नेको यकिन तथ्यांक नभए पनि दुई सहरको उदाहरणले सो टिकटक ट्रेन्ड कतिसम्म फैलिएको थियो भन्ने झल्को दिन्छ ।

अमेरिकाको मेलवाकी सहरमा सन् २०२० मा ४६९ किया र ४२६ हुन्डाई कार चोरी भएको उजुरी आएका थिए । सन् २०२१ मा सो संख्या बढेर ३५५७ किया र ३४०६ ह्युन्डाई चोरी भएको उजुरी परेको थियो । यस्तै अमेरिकाको सिकागो सहरमा सो ब्रान्डका कारहरूको चोरी ९ गुणाले बढेको थियो । न्युयोर्क सहरमा ६ जना किशोरले एक किया स्पोर्टेज चोर्ने क्रममा भएको दुर्घटनामा ४ किशोरको ज्यान गएको थियो ।

यो ट्रेन्ड फैलँदै गएपछि दुई कम्पनीले नि:शुल्क सफ्टवेयर अपग्रेडलगायतका उपायबाट रोक्न खोजे पनि ट्रेन्ड जारी रहेको थियो । ती कम्पनीले विभिन्न कारणले सफ्टवेयर अपग्रेड गर्न नसकेका कारधनीहरूलाई सुरक्षाका अन्य उपाय अपनाउन रकम दिने भएको छ‚ जसमा नि:शुल्क ह्विल लक बाँड्नेसमेत सामेल छन् । विशेषगरी ११ देखि १८/१९ वर्षका युवाहरू सामेल हुने यो च्यालेन्जमा रोकिराखिएका किया वा हुन्डाइका गाडीलाई केही केबलको मद्दतले सजिलै स्टार्ट गर्ने, अत्यधिक गतिमा गुडाउने र बिगारेर छडिदिने गरेका थिए । यो जरिबानाले अस्ट्रेलियाका कारधनीहरूलाई भने समेटेको छैन ।

प्रकाशित : जेष्ठ ६, २०८० १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

गुडिरहेको जिपबाट खस्दा महिला घाइते

विप्लव महर्जन

सल्यान — गुडिरहेको डबल क्याप बोलेरो जिपबाट खस्दा सल्यानमा एक महिला सख्त घाइते भएकी छन् । त्रिवेणी गाउँपालिका १ काभ्रा बजारबाट नयाँ गाउँ जाँदै गरेको भे १ च १५५९ नम्बरको डबल क्याप बोलेरो जिपबाट शनिबार दिउँसो ११:३० बजे खस्दा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर निवासी ४० वर्षीया डिल्ली कामी गम्भीर घाइते भएकी हुन् ।

गुडिरहेको जिपको ढोका अकस्मात खुल्दा सोही जिपमा सवार कामी खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । गम्भीर घाइते भएकी कामीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि राप्ति उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको उनले जानकारी दिए ।

उनका अनुसार महिला अहिले पनि बेहोस अवस्थामा रहेकी छिन् । अहिले जिप चालक कालिमाटी गाउँपालिका १ का २६ वर्षीय पप्पु डाँगी सख्त घाइते भएकी महिलाको साथमा रहेका घाइते महिलालाई उनले नै अस्पताल लगे पनि घटनाको थप अनुसन्धान भरहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ६, २०८० १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×