ट्विटरको लोगोमा डोजकोइनको ‘कुकुर’

२० प्रतिशत बढ्यो डोजकोइनको सेयर भ्यालु
कान्तिपुर संवाददाता

काठमाडौँ — अर्बपति प्रविधि व्यवसायी इलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसअघि लोगोको रुपमा रहेको ‘निलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी उनले अहिले डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकर)लाई ट्विटरको लोगो बनाएका हुन् ।

लोगो परिवर्तन भएपछि सोमबार विभिन्न ट्विटर युजरहरूले यसबारे आ-आफ्ना धारणा राखेका थिए । लोगो परिवर्तन भएको केही समयपछि ट्विटरका सीईओसमेत रहेका मस्कले ट्विटरमा रहेको निलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिनेखालको मिम पोस्ट गरेका थिए ।

अझै पनि केही मोबाइल डिभाइसमा भने ट्विटरको लोगोमा निलो चरो नै देखिइरहेको छ । ट्विटरको लोगोको रुपमा डोजकोइनको आइकन आएसँगै डोजकोइनको सेयर भ्यालु २० प्रतिशतले बढेको छ । अहिले डोजकोइनको भ्यालु ०.०७९ डलरबाट ०.०९४ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ ।

मिमको रुपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्विटरको लोगो बनेको छ । परिवर्तन भएको ट्विटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो ।

केही समयअघि ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका मस्कले आफू डोज मिमको ठूलो फ्यान भएको बताउँदै आएका छन् ।

मस्कले लोगो परिवर्तनको कारणबारे भने खुलाएका छैनन् । कतिपयले भने अप्रिल फूल मनाएको भनी टिप्पणीसमेत गरेका थिए ।

प्रकाशित : चैत्र २१, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

खेल मैदान अभावले खेत र सडकमै प्रतियोगिता

कान्तिपुर संवाददाता

हुम्ला — हुम्लाको खार्पुनाथमा गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । तर गाउँपालिकाको केन्द्र याङचु बजारमा सञ्चालन गरिएको प्रतियोगिता उपयुक्त खेल मैदान नहुँदा खेत र सडकमा खेल सञ्चालन गरिएको छ ।

प्रतियोगिताका खेलहरू पालिकामा उपयुक्त मैदान नहुँदा खेत र सडकमा गराउनु पर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बताए ।

पालिकाका ५ वटा माध्यामिक विद्यालय सहभागी भएको प्रतियोगितामा २ वटा इभेन्ट एथलेटिक्स र भलिबलमा छात्रछात्राका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ । ४ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभरिका ५ वटा विद्यालयबाट १ सय ४५ जना खेलाडी सहभागी रहेका छन् ।

खेलाडी उत्पादनको मुख्य आधार विद्यालय रहे पनि पालिकाले खेल क्षेत्रलाई प्राथमिकता तथा खेल पूर्वाधार निर्माणमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो । खेलकुदका गतिविधि सञ्चालनका लागि उपयुक्त खेल मैदान आवश्यक पर्ने भए पनि खेल मैदानबिना नै प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारा दिइए पनि उपयुक्त खेल मैदानबिना खेल सञ्चालन हुँदा खेलाडीले आफूले चाहेको प्रदर्शन गर्न नसक्ने र चोटपटक लाग्ने बढी सम्भावना रहेको खार्पुनाथ–५ का स्थानीयबासी भक्तबहादुर शाहीले बताए ।

पढाइसँगै खेलकुद पनि महत्त्वपूर्ण रहेकाले स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउन जरुरी रहेको स्थानीयको भनाइ छ । खेलकुदका लागि पालिकाले खेल पूर्वाधारका साथै खेल, खेल शिक्षक र प्रशिक्षण पनि थप्न आवश्यक रहेको शंकर माध्यमिक विद्यालय थालीका प्रधानाध्यापक वृष छत्यालले बताए ।

खेलमैदान अभावमा सडकमा दौड प्रतियोगिता र खेतमा भलिबल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता हामीकहाँ रहेको छ । अब निकट भविष्यमै खार्पुनाथ गाउँपालिकामा पालिकास्तरीय खेलमैदान निर्माण गरी खेल खेलाउने गाउँपालिकाको उद्देश्य रहेको कार्यवाहक अध्यक्ष भरतजंग शाहीले बताए ।

प्रकाशित : चैत्र २१, २०७९ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×