१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चौथो अन्तर्राष्ट्रिय जैविक प्रविधि सम्मेलन काठमाडौंमा सुरू

१२ देशबाट करिब २ सय जना सहभागी

काठमाडौँ — प्राज्ञिक-उद्योग सहकार्य र बायोटेक्नोलोजीमा शैक्षिक अनुसन्धानलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यका साथ राजधानीमा चौथो अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन सुरू भएको छ ।

चौथो अन्तर्राष्ट्रिय जैविक प्रविधि सम्मेलन काठमाडौंमा सुरू

विश्वविख्यात नेत्ररोग विशेषज्ञ एवं तिलगंगा आँखा विज्ञान प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले सम्मेलनको उद्घाटन गरे । 'प्राज्ञिक ज्ञानदेखि उद्यमसम्म' भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । सम्मेलन उद्घाटन गर्दै डा. रुइतले तिलगंगा प्रतिष्ठानले गरेको अनुसन्धान र त्यसले विश्वभर आँखा उपचारमा पुर्‍याएको महत्वपूर्ण योगदानबारे प्रस्तुति दिएका थिए ।

‘आँखाको कन्ट्याक्ट सर्जरी गरी सहजरुपमा इन्ट्राकुलर लेन्स राखिएपछि विश्वभरका लाखौं मानिसले फेरि आँखाको ज्योति पाएका छन् । आँखाको उपचारलाई सर्वसुलभ र सजिलो बनाउन प्रविधिको ठूलो भूमिका छ,’ सम्मेलनको मुख्य वक्तासमेत रहेका डा. रुइतले भने । बायोटेक्नालोजी सम्मेलनबाट प्राप्त निचोडले प्राज्ञिक ज्ञानका साथै उद्यमशीलता विकास गर्न उल्लेखनीय भूमिका खेल्ने उनको धारणा थियो ।

सम्मेलनमा युवा वैज्ञानिक, अनुसन्धाता, विद्यार्थी, प्राध्यापकलगायतको उल्लेखनीय उपस्थिति रहेकोमा खुसी व्यक्त गर्दै निरन्तर लगनशीलता, दृढ इच्छाशक्ति, आत्मअनुशासन, सकारात्मक सोच आदिले वैज्ञानिक अनुसन्धानमा सफलता पाउन सकिने विचार व्यक्त गरे ।

वरिष्ठ न्युरो सर्जन वसन्त पन्तले बायोटेक्नोलोजीको माध्यमबाट चिकित्सा क्षेत्रमा आमूल परिवर्तन आएको उल्लेख गर्दै मुलुकलाई समृद्ध बनाउन विज्ञान तथा प्रविधि तथा अनुसन्धानमा पर्याप्त बजेट आवश्यक रहेको बताए । सीमित स्रोत–साधनका बाबजुद पनि न्युरो साइन्स तथा सर्जरीका क्षेत्रमा विभिन्न उल्लेखनीय कार्यहरु गरिँदै आएको उनले स्पष्ट पारे ।

युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रप्टले नेपालमा अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनमा वैज्ञानिक तथा अनुसन्धाताहरुबाट प्रस्तुत गरिएका कार्यपत्रले बायोटेक्नोलोजीको विकासमा योगदान पुर्‍याउने धारणा राखे ।

सम्मेलनकी संयोजक प्रा. डा. विजया पन्तले कृषि, चिकित्सा क्षेत्र, वातावरण संरक्षण, उद्योग र खाद्य प्रविधिमा नवप्रवर्तन तथा नवीन खोजको माध्यमबाट राष्ट्रको विकासका लागि बायो टेक्नोलोजी (जैविक प्रविधि)को महत्वलाई प्रवर्द्धन गरी त्यसलाई उद्यमशीलतासँग जोड्न यो सम्मेलन उपयोगी हुनसक्ने बताइन् । ‘प्राज्ञिक क्षेत्र र उद्योगबीच सहकार्यको महत्व र बायोटेक्नोलोजीका अनुसन्धानलाई कसरी उद्यमशीलतासाग जोड्न सकिन्छ भन्ने बारे सम्मेलनले मार्गप्रश्स्त गर्न सक्छ ,’ उनले भनिन् ।

नेपाल बायोटेक्नोलोजी एशोसिएसनका अध्यक्ष प्रा. डा. त्रिविक्रम भट्टराईले विभिन्न देशका वैज्ञानिक र विद्यार्थीहरूबीच आफ्ना अवधारणा र अनुभव आदानप्रदान गर्न सम्मेलनले उचित अवसर सिर्जना गर्ने अपेक्षा गरे । उक्त अवसरमा प्रमुख अतिथि डा. रुइतले जर्नल अफ नेपाल बायोटेक्नोलोजी एसोसिएसनको विमोचन गरेका थिए ।

सम्मेलनमा अष्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मलेसिया, नेपाल, कतार, दक्षिण कोरिया र थाइल्यान्ड, अमेरिकासहित १२ देशका करिब २०० सहभागी सहभागी छन् । सम्मेलनमा ३५ वटा मौखिक प्रस्तुति, २० वटा पस्टरको रूपमा ख्यातिप्राप्त वैज्ञानिक तथा विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलनमा सयवटा शोधपत्रहरु मध्ये ७० वटा शोधपत्र नेपाली विद्वान र युवा अनुसन्धानकर्ताले प्रस्तुत गर्ने छन् ।

विभिन्न देशका वैज्ञानिकहरू, युवा उद्यमीहरू र स्नातकोत्तर विद्यार्थीहरूका बीचमा आफ्ना अवधारणा र अनुभवहरू आदानप्रदान गर्ने अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, जैविक प्रविधि केन्द्रीय विभाग र अन्नपूर्ण अनुसन्धान केन्द्र, काठमाडौंको सहकार्यमा सम्मेलन सुरु भएको हो । यो सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सहयोग गरेका छन् । काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालयलगायत अन्य निजी स‌ंस्था तथा अनुसन्धान संस्थाहरू पनि सम्मेलनको साझेदारीका रूपमा छन् ।

प्रकाशित : चैत्र ४, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?