साइबर सुरक्षाका लागि हालका नीति अपुग छन् : मन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न कानुनी र नीतिगत व्यवस्था भए पनि साइबर सुरक्षाका सवालमा अपुग रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको साइबर सुरक्षाको संवाद कार्यक्रममा मन्त्री शर्माले हालैका दिनमा सरकारका वेबसाइटहरु अवरुद्ध भएका घटनाले थप संवेदनशील बनाएको बताइन् ।

साइबर सुरक्षाका लागि हालका नीति अपुग छन् : मन्त्री शर्मा

'साइबर सुरक्षालाई थप बलियो र ब्यवस्थित गर्नुपर्ने दायित्वबोध गर्दै सरकार चाँडोभन्दा चाँडो साइबर सुरक्षा नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको छ,' उनले भनिन् 'जसअनुसार साइबर सुरक्षा नीति २०७९ को मस्यौदा अन्तिम चरणमा पुर्‍याइएको छ । त्यसैगरी सूचना प्रविधि ऐनको व्यवस्था गर्न सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा पेश गर्न गृहकार्य भइरहेको छ । यसबाट नागरिकका व्यक्तिगत तथा राज्यका तथ्यांकहरु सुरक्षित गर्न सहयोग पुग्ने छ ।'

सरकारी निकायहरुले प्रयोग गर्ने वेबसाइट र एप्लिकेसनहरुको निर्माण गभर्मेन्ट इन्टरप्राइजेज आर्किटेक्चर (जीईए) बमोजिमको मापदण्डअनुसार गर्ने व्यवस्था मिलाइएको उनले बताइन् । मन्त्री शर्माका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सेक्युरिटी अप्रेसन सेन्टर सञ्चालनमा ल्याइएको छ, जसबाट सरकारी डाटा सेन्टरहरुलाई जोडेर त्यसको अनुमगन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयमा अवस्थित राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रमार्फत सूचना तथा सञ्चार पूर्वाधार, सरकारी वेबसाइट र एप्लिकेसनलगायत अन्य वेब सेवामा हुनसक्ने सुरक्षा चुनौती तथा सूचना तथा प्रविधिको माध्यमबाट हुनसक्ने अपराधन्य गतिविधिलाई रोक्न निरन्तर अनुगमन गरिँदै आएको उनले दाबी गरिन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?