अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ ।

अनेरास्ववियुका अध्यक्ष बरालले महाधिवेशनलाई काजगविहीन बनाउनका लागि विद्युतीय मतदान उपकरणको प्रयोग गर्न थालिएको जानकारी दिइन् ।

अनेरास्ववियुले यसअघि महाधिवेशनमा भित्तेलेखन नगर्ने निर्णय गरेको छ । उनले सकभर सहमतिमा नेतृत्व टुंग्याउने प्रयास भइरहेको र निर्वाचन गर्न आवश्यक परेका खण्डमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने बताइन् । एक सय ९९ कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कूल दुई सय ४४ पदका लागि निर्वाचन हुनेछ ।

अध्यक्ष बरालका अनुसार एक हजार सात सयभन्दा बढी प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् । महाविधेशन लागि यही माघ २४ गतेसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्ने हुन्छ । अनेरास्ववियुको महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

राम, लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गर्ने बताए । उनले निर्वाचनअघि भोटिङ मेसिनमा नमूना मतदान गरेर सिकाइनेसमेत जानकारी दिए । इनोभेसनले यसअघि एक सय ११ वटा विद्युतीय मतदान उपकरण प्रयोग गरी मतदान गरिसकेको छ ।


प्रकाशित : माघ १८, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

एन्फा अध्यक्ष नेम्वाङ एएफसी कार्यसमितिमा निर्विरोध निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । बहराइनको राजधानी मनामामा बुधबार भएको ३३ औं एएफसी कंग्रेसबाट उनी निर्वाचित भएका हुन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको अयिभोगमा प्रतिबन्ध लगाइएका एन्फाका पूर्वअध्यक्ष गणेश थापापछि महादेशीय फुटबलको सर्वोच्च निकायमा निर्वाचित हुने पहिलो नेपाली हुन् नेम्वाङ । थापा सन् २००३ देखि दुई कार्यकाल एएफसी सदस्य र २०११ मा उपाध्यक्ष निर्वाचित भएका थिए । तर, उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले सन् २०१५ नोभेम्बरमा फुटबल गतिविधिमा संलग्न हुनबाट दस वर्षको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)का महासचिव शाजी प्रभाकरणले उम्मेदवारी फिर्ता लिएपछि एन्फा अध्यक्ष नेम्वाङसँगै माल्दिभ्स फुटबल संघका अध्यक्ष बसम अदिल जलिल ‘साउथ जोन’बाट एएफसी कार्यकारी समिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । यस क्षेत्रबाट भुटानका उगेन छेछुप उपाध्यक्षमा निर्विरोध भए । बंगलादेशकी मफुजा अख्तर महिला सदस्यको रुपमा फेरि चुनिइन् तर उनले फिफा काउन्सिल सदस्यता भने गुमाएकी छन् । उनी काउन्सिल सदस्यको निर्वाचनमा लाओसकी कान्या किमानीविरुद्ध ३६–७ मतले पराजित भइन् । बहराइनका शेख सलमान लगातार तेस्रोपल्ट एएफसी अध्यक्ष चुनिए । उनी पनि निर्विरोध भए । फिफा काउन्सिलका ६ सदस्यसहित २२ सदस्यीय कार्यसमितिको कार्यकाल सन् २०२३ देखि २०२७ रहने छ ।

नेम्वाङ गत असार ६ गते भएको एन्फा कार्यसमिति निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराएर अध्यक्ष चुनिएका थिए । दुई दशकअघि केन्द्रीय सदस्य बनेका उनी एन्फा अध्यक्ष हुनुअघि एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका थिए । मनामा यात्रासँगै एएफसीमा पुगे पनि उनलाई देशको मुख्य प्रतियोगिता लिगलगायत कार्यक्रमलाई व्यवस्थित र व्यावसायिक रुपमा सन्चालन गर्न एन्फा कार्यसमितिभित्रै संघर्ष गर्नुपर्ने अवस्थामा छन् ।

प्रकाशित : माघ १८, २०७९ २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×