युवाले बनाए पानीको प्रदूषण हटाउने प्रविधि- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाले बनाए पानीको प्रदूषण हटाउने प्रविधि

गोविन्द पोखरेल

काठमाडौँ — ताल, पोखरी तथा सिमसारमा पानीको प्रदूषण हटाउन नेपालमै पहिलो पटक ‘एफटीडब्लूएस’ नामक वातावरणमैत्री प्रविधि प्रयोगमा ल्याइएको छ । ललितपुर महानगरपालिकास्थित नागदहमा ‘फ्लोटिङ ट्रिटमेन्ट वेटलेन्ड सिस्टम (एफटीडब्लूएस)’ को प्रयोग सुरु गरिएको हो ।

प्रविधिअन्तर्गत जराको माध्यमबाट पानीमा भएका प्रदूषक तत्त्वहरू हटाइन्छ । ‘द स्मल अर्थ’ नेपालको पहलमा नागदहका चार कुनामा ४० वटा एफटीडब्लूएस राखिएको छ । एउटा एफटीडब्लूएस ४/६ वर्ग फिटको राफ्ट आकार छ । त्यसमा ५० वटा बिरुवा राखिन्छ । हाल भने सर्वदा र ठूलो ल्वाङ फूलको प्रयोग गरिएको द स्मल अर्थ नेपालकी अनुसन्धानकर्ता असोरी ब्यान्जुले बताइन् । ‘सिमसारको सुरक्षाका लागि हामीले पहिलोपटक यो जैविक विधि अपनाएका हौं,’ उनले भनिन् ।

राफ्टको माथिल्लो भागमा राखिएका फूलका जराले पानीको सतह छुने किसिमका छन् । दहमा आउने चराहरूले राफ्टमा क्षति पुर्‍याउन सक्ने भएकाले सुरक्षाका लागि बीचमा निगालोका मान्द्रा राखिएको छ । ब्यान्जुका अनुसार मान्द्रामा प्वाल खोपेर फूल राखिएको हो । बिरुवाका जरा पानीको सतहसम्म फैलिएका कारण बिरुवाले प्रदूषक तत्त्वहरू सोस्ने उनले बताइन् । ‘दिगो रूपमा पानीमा भएका प्रदूषक तत्त्वहरू हटाउने यो उत्तम प्रविधि हो,’ उनले भनिन्, ‘यो प्रविधि सफल भएमा अन्य ठाउँमा प्रयोग गर्ने योजना छ ।’ प्रविधि पानीमा हुने इयुट्रोफिकेसन (सुपोषण) हटाउने काममा प्रभावकारी हुने विज्ञहरू बताउँछन् । सिमसार विज्ञ एवं त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक दीपनारायण शाह भन्छन्, ‘पानीमा हुने नाइट्रोजन र फोस्फोरसका कारण पोषक तत्त्व बढ्दै जाँदा लेउ (अल्गी) को वृद्धि हुन्छ । जसले पानीको सतहलाई पूर्ण रूपमा ढाकिदिन्छ ।’

पानीका सतहलाई लेउलगायतका जलीय बिरुवाले ढाक्दा जलीय पारिस्थितिक प्रणालीलाई प्रत्यक्ष असर गर्छ । जलस्रोतमा सुपोषण धेरै हुँदा जलजीवनको स्वच्छतामाथि नकारात्मक प्रभाव पार्छ । धेरै धेरैजसो स्थानमा भने जलकुम्भीजस्ता मिचाहा झारले पानीको स्रोतलाई पूरै ढाकिदिने सिमसार विज्ञ शाहले बताए । नेपालका सिमसारमा पनि सुपोषण बढ्दै जाँदा लेउसहित जलकुम्भी झार बढ्ने र पारिस्थितिक प्रणालीलाई असर गर्ने विभिन्न अनुसन्धानहरूबाट पुष्टि भएको छ ।

एफटीडब्लूएस प्रविधिको प्रयोगले पोखरी र दहजस्ता जलस्रोतमा सुपोषणको समस्याबाट मुक्त गराउन भूमिका खेल्ने स्मल अर्थ नेपालको दाबी छ । नागदहमा यसको प्रयोग गर्नुअघिको अध्ययनमा सकारात्मक नतिजा प्राप्त भएको निर्माणकर्ताको भनाइ छ । प्रविधिको प्रयोगबाट पानीमा भएको नाइट्रेटको मात्रा ९९.५ प्रतिशतले, एमोनिया ९०.२, अर्थोफोस्फेट ८६.७ र आइरन ६१ प्रतिशतले घटेको पाइएको हो । प्रविधिको प्रयोगले पानीमा घुलित अक्सिजनको मात्रा ५० प्रतिशतले बढेको छ भने बायोलोजिकल अक्सिजन डिमान्ड ४१.५ प्रतिशतले घटेको पाइएको थियो । ‘यो नतिजाबाट हामी उत्साहित छौं । नागदहको पानीको गुणस्तर पनि सुधार हुने आशा लिएका छौं,’ ब्यान्जुले भनिन् ।

नेपालमा पहिलो पटक प्रयोग भएकाले यो प्रविधिको प्रभावकारिताबारे अहिले नै भन्न सकिने अवस्था भने छैन । उपप्राध्यापक शाह भन्छन्, ‘यो खालका प्रविधि नेचुरल बेस्ड सोलुसन चाहिँ हो । लामो समयसम्मको तथ्यांक प्रयोग नगरी प्रभावकारिताबारे भन्न सकिँदैन ।’ चीन लगायत मुलुकमा यो प्रविधि सफल भइसकेको उनको भनाइ छ ।

प्रकाशित : माघ २, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

यो वर्षको हिउँद सुख्खा : सिँचाइको नयाँ प्रविधि प्रयोग गर्न किसानलाई आग्रह

सोमबारसम्म चिसो बढ्ने
गोविन्द पोखरेल

काठमाडौँ — नेपालका मौसमविद्हरुले यो वर्षको हिउँद सुख्खा हुने प्रक्षेपण गरेका छन् । पश्चिमी वायुमा वर्षा गराउने आद्रता पर्याप्त नहुँदा पानी नपर्ने मौसमविद्हरुले बताएका हुन् । मौसमविद्‍हरूका अनुसार नेपालमा अंग्रेजी महिना जुनदेखि सेप्टेम्बरमा मनसुन र डिसेम्बरदेखि फेब्रुअरीमा पश्चिमी वायुको प्रभाव रहन्छ ।

हिउँदमा पश्चिमी वायुको प्रभावले वर्षा हुने गर्छ । भूमध्यसागरबाट हिउँदमा पश्चिमी वायु इराक, इरान, पाकिस्तान भारत हुँदै नेपाल प्रवेश गर्छ ।

जल तथा मौसम विज्ञान विभागले पनि यो वर्षको हिउँदमा देशका अधिकांश स्थानमा फागुन १६ गतेसम्म कम वर्षा हुने र अधिकतम् दैनिक तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को कृषि वातावरण अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले संयुक्त रुपमा कृषि–मौसम सल्लाह बुलेटिन जारी गर्दै हिउँदे बाली तथा फलफूलहरूमा सिञ्चाइको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । हिउँदमा पर्याप्त पानी नपर्ने भएकाले कृषकहरुलाई प्लाष्टिक पोखरीहरुमा पानी जम्मा गरी थोपा सिञ्चाइ, स्प्रिन्क्लर लगायत सिञ्चाइको नवितनम् प्रविधिहरु प्रयोग गर्न आग्रह गरिएको छ ।

यो वर्षको मनसुन पनि विगतभन्दा कमजोर देखिएको थियो । मनसुन केही समय बढी सक्रिय भए पनि वर्षा कम मात्रामा भएको मौसम विभागले जनाएको छ । पूर्व क्षेत्रमा मनसुन छिटो देखिए पनि मनसुनी रेखा ढिला सर्दा पश्चिम नेपालमा ढिलो समयमा वर्षा भएको थियो । विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्,‘ जुलाई र अगस्टमा राम्रोसँग पानी परेन । सामान्यभन्दा कम अवस्था भयो । कतिपय ठाउँमा ६० देखि ७० प्रतिशतसम्म कम पानी पर्‍यो ।’ सेप्टेम्बरमा पश्चिम क्षेत्रमा पानी परे पनि पूर्वी क्षेत्र सुख्खा थियो ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरलले नेपाल प्रवेश गरेको पश्चिमी वायुमा वर्षा गराउने आद्रता नहुनेमा बंगालको खाडीमा न्यून चापीय प्रणाली भएको आशंका गर्छन् । ‘पश्चिमबाट आउने वायु मडारिएर अन्यत्रबाट नेपाल प्रवेश गरे पनि पानी परेको छैन । न्यून चापीय रेखाले पश्चिमी वायुलाई आउन रोकेको पनि हुन सक्ने अनुमान छ,’ उनले भने, ‘बंगालको खाडीबाट आउनुपर्ने वायु जुन रुपमा आउनुपर्ने हो त्यो नआउँदा पानी नपरेको हो कि भन्ने आकलन छ ।’

पानी नपर्दा सुख्खा बढेसँगै दैनिक अधिकतम् तापक्रम पनि बढ्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखा त्रिभुवन विमानस्थलकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकामा जनवरीका लागि औसत न्युनतम र अधिकतम् तापक्रम क्रमशः २.४ र १९.८ डिग्री हो । उनका अनुसार अहिले उपत्यकाको तापक्रम दैनिक १८ डिग्रीसम्म पुगेको छ । यो महिनाका लागि काठमाडौंको औसत दैनिक तापक्रम १४.४ डिग्री रहेको उनले जानकारी दिइन् । काठमाडौंमा केही दिनयताको दैनिक औसतम तापक्रम १६ डिग्रीभन्दा बढी छ ।

विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार तराई क्षेत्रका अधिकांश स्थानमा बाक्लो कुहिरो र हुस्सु लागिरहेको छ । ‘यसअघि पश्चिमी वायुको प्रभाव हुँदा एकै पटक थिग्रिएको धुलोलाई सोहोरेर लैजान्थ्यो । २ दिनसम्म आकाश खुला भइसक्थ्यो । अहिले यो अवस्था छैन,’ मौसमविद् पोखरेलले भनिन्, ‘अहिले पश्चिमी वायु कमजोर छ ।’

काठमाडौं उपत्यकामा भने बाक्लो हुस्सु र कुहिरोको घटना यो वर्ष कम छन् । महाशाखाकी वरिष्ठ मौसमविद् कँडेलका अनुसार यो वर्ष एक दुई पटकभन्दा बढी हुस्सु र कुहिरो नलगोको बताइन । एक किलोमिटरभन्दा कम भिजिबिलटी हुँदा विभागले कुहिरो भन्ने गरेको छ । यस्तै, एकदेखि ५ किलोमिटरसम्मको पारदर्शिता नहुँदा हुस्सु भन्ने गरिएको छ ।

कुहिरो र हुस्सुका घटना कम भए पनि वायुमण्डलमा भने प्रदूषणको मात्रा बढिरहेको छ । साथै हिउँदमा उपत्यकामा प्रदूषणको मात्रा ह्वात्तै बढ्ने गर्छ । बिहानसम्म बाक्लो हुस्सु लाग्ने र दिउँसो घाम लागेसँगै हट्ने गरेको छ । ‘घाम लागेपछि प्रदूषण सतह विस्तारै घट्दै गएको देखिन्छ । हावाको बहाव नचलेको बेला प्रदूषण थिग्रिएको देखिन्छ,’ उनले भनिन् ।

वातावरण विभागका प्रवक्ता शंकर पौडेलले जनवरी महिनामा जुनसुकै बेला प्रदूषणको मात्रा घट्ने र बढ्ने भएकाले ठ्याक्कै अवस्था आकलन गर्न सकिने अवस्था नभएको बताए । 'विभागले प्रदूषणको विश्लेषण गरिसकेको छैन । यो महिना जतिबेला पनि प्रदूषण घट्ने र बढ्ने सयम हो । ठ्याक्कै भन्न सकिने अवस्थामा छैनौं । अब जनवरी सकिएपछि मात्रै विश्लेषण गर्छौं । यो वर्ष फोहोरको भन्दा कम प्रदूषण देखिन्छ,’ पौडेलले भने ।

हिउँदमा जमिनको सतहमा रहेको हावा चिसो हुने र माथिल्लो तहको तातो हुन्छ । यो अवस्था हुँदा जमिनबाट हावा माथिसम्म जान पाउँदैन । जसका कारण धुवाँ, धुलो एउटा तहमा थेग्रिने गर्छ । हावाको बहाव पनि नहुने र घाम पनि नदेखिदा वायुमण्डल ढाकिएको देखिन्छ ।

सोमबारसम्म चिसो बढ्ने

यसैबीच शनिबारदेखि सोमबारसम्म तापक्रम घट्दै जाने देखिएको छ । जनवरी १४ देखि १६ सम्म तापक्रम घट्दै जाने र जाडो बढ्ने अवस्था देखिएको सहप्राध्यापक डा. विनोद पोखरेलले बताए । पश्चिमी वायुसँगै आउने चिसो हावाको प्रभाव पश्चिम नेपाललमा बढी देखिने भएकाले ती क्षेत्रमा चिसो बढ्ने उनले बताए । ‘अहिलेको अवस्था हेर्दा सोमबारसम्म चिसो बढ्ने र त्यसपछि विस्तारै घट्ने देखिएको छ । बुधबारदेखि तापक्रम बढ्दै जाने देखिएको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभाग नियमित अपडेट र दैनिक कार्यसम्पादनमा मात्रै केन्द्रित हुँदा अनुसन्धानात्मक कार्यमा भने कमजोर छ । मौसम पूर्वानुमानका लागि गरिने तथ्यांक संकलन प्रणाली कमजोर हुँदा गणितीय समीकरणको निर्माण र विश्लेषण गरेर गरिने प्रक्षेपण पनि राम्रोसँग हुन नपाउने विभागकी कर्मचारीहरु बताउँछन् ।

३ दिनको पूर्वानुमान गरेर त्यसैको आधारमा ७ दिनको प्रक्षेपण हुने गर्छ । हावापानी मापन केन्द्रको तथ्यांक, त्यस अनुसारको तथ्यांकको आधारमा नेपालको छुट्टै प्रक्षेपण प्रणालीको विकास नभएको वरिष्ठ मौसमविद् कँडेलले बताइन् । अन्य मुलुकको मौसमी पूर्वानुमान प्रणालीलाई आधार मानेर नेपालमा यसको प्रक्षेपण गरिँदै आएको उनले जानकारी दिइन् । ‘हाम्रो यो विभाग दक्षिण एसियाली मुलकुहरुको तुलनामा कमजोर छ । ती मुलुकहरुमा भएका मौसम विभाग अनुसन्धान काममा सक्रिय छन्,’ उनले कान्तिपुरसित भनिन्, ‘हाम्रो देशको विभागमा दैनिक कार्यसम्पादन तथा जानकरी दिन मात्रै केन्द्रित छ ।’

प्रकाशित : पुस ३०, २०७९ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×