विज्ञान क्षेत्रमा योगदान पुर्‍याउने दर्जनबढी पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)ले विज्ञान क्षेत्रमा योगदान पुर्‍याउने दर्जनभन्दा बढीलाई पुरस्कार एवं सम्मान गरेको छ । विश्व विज्ञान दिवस २०२२ को पूर्वसन्ध्यामा बुधबार नास्टले गत वर्ष विभिन्न क्षेत्रमा योगदन पुर्‍याउनेहरुलाई पुरस्कृत गरेको हो ।

विज्ञान क्षेत्रमा योगदान पुर्‍याउने दर्जनबढी पुरस्कृत

नास्टले अत्यन्त उपयोगी कृषि यन्त्र उपकरण सुधार गरेको भन्दै नेपाल कृषि अनुसन्धान परिषद्लाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार प्रदान गरेको छ । यस्तै, सूक्ष्मजीव विज्ञान केन्द्रीय विभागका प्राध्यापक कोमल राज रिजाललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

मानव शरीरमा हुने कीटजन्य रोगको निदानमा विशेषत: औलो रोगको प्रजनन् तथा पुनरावृत्ति दर र सोको वर्गीकरण र ब्याक्टेरिया विरुद्ध प्रयोग हुने जैविक औषधि एन्टिबायोटिकको प्रतिरोधात्मक शक्ति सम्बन्धमा अनुसन्धान गरेर योगदान पुर्‍याएको भन्दै रिजाललाई उक्त पुरस्कार प्रदान गरिएको नास्टकी प्रवर्द्धन विभागकी प्रमुख लुना बज्रले जानकारी दिइन् । यस्तै, पत्रकार छत्र कार्कीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नास्टले विज्ञान तथा प्रविधि युवा पुरस्कार सुन्दरहरैंचाका लक्ष्मीकुमार पराजुली, पोखराका निरन्जन कोइराला र दूरसञ्चार प्राधिकरणका प्रदीपकुमार पौड्याल र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रकी रक्षा डंगोल र वीर अस्पतालकी अनु भट्टराईलाई प्रदान गरेको छ । सेन्टर फर नेचुरल एप्लाईड साइन्सेसकी बबिता पौडेलले महिला विज्ञान तथा प्रविधि पुरस्कार पाइन् ।

नास्टले विज्ञान तथा प्रविधिको उत्थानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । वैज्ञानिक, रिसर्चरलाई मात्रै नभएर विज्ञान शिक्षक तथा विज्ञान पत्रकारहरुलाई पनि पुरस्कृत गर्दै आएको छ । हरेक वर्ष विभिन्न १८ वटा विधामा पुरस्कृत गर्दै आएको उनले बताइन् ।

नास्टका उपकुलपति डाक्टर सुनिलबाबु श्रेष्ठले पुरस्कृत भएकाहरुलाई शुभकामना दिँदै समाज र समृद्धिका लागि विज्ञान क्षेत्रको विकासमा सबैको योगदान महत्वपूर्ण भएको बताए । नास्टले ७ वटै प्रदेशमा कार्यालयहरु पनि खोल्ने तयारी भइरहेको जानकारी दिए । नास्ट स्थापनाको चार दशक भएकाले पुर्नसंरचनाको आवश्यकता भएकाले सोको तयारी भइरहेको बताए । ‘चार दशकअघि ८ जना कर्मचारीबाट सुरु भएको नास्टमा अहिले २० दर्जनभन्दा बढी कर्मचारी छन्,’ उनले भने, ‘समयानुसार नास्टको पुर्नसंरचना आवश्यक देखिएको छ । ’

यसैबीच, नास्टले बाली विज्ञान शब्दावली प्रकाशन गरेको छ । उपकुलपति श्रेष्ठले उक्त शब्दावली पुस्तक बुधबार नै सार्वजनिक गरेका थिए । शब्दावली निर्माणका लागि नास्टका प्राज्ञ एवं प्राध्यापक गोपालबहादुर केसीको संयोजकत्वमा ८ सदस्सीय समिति निर्माण गरिएको थियो । उक्त समितिमा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ, नेपाली भाषा विज्ञहरु चूडामणि बन्धु, हेमांगराज अधिकारी, लालानाथ सुवेदी, अंग्रेजी भाषा विज्ञ योगेन्द्रप्रसाद यादव,कम्प्युटर भाषा विज्ञ बलराम प्रसाईं छन् ।

प्रकाशित : कार्तिक २३, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?