विद्यार्थीहरूबीच विज्ञान प्रविधिसँग सम्बन्धित अध्ययन सामाग्री निर्माण प्रतिस्पर्धा गराइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो पटक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित(स्टिम)सँग सम्बन्धित अध्ययन सामग्री निर्माण प्रतिस्पर्धा गराउने तयारी गरेको छ ।

विद्यार्थीहरूबीच विज्ञान प्रविधिसँग सम्बन्धित अध्ययन सामाग्री निर्माण प्रतिस्पर्धा गराइँदै

कक्षा ५ देखि १० मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम)सँग सम्बन्धित सिकाई सामाग्री निर्माणका लागि प्रतिस्पर्धा गराउन लागिएको मन्त्रालयकी विज्ञान तथा प्रविधि महाशाखाकी उपसचिव अस्बिना बरालले बताइन् ।

पहिलो चरणमा विद्यार्थी समूहबाट निवेदन माग गरिने र प्राप्त निवेदनहरुबाट दोस्रो चरणका लागि समूह छनोट गरिने छ । विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको सामाग्री निर्माण गर्न ४ महिनाको समय दिइने मन्त्रालयले जनाएको छ । प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीले मन्त्रालयले तोकेको फारामसहित मेल गर्न वा निवेदन गर्न सकिने जनाएको छ ।

विश्वविद्यालय तहमा स्नातक पढ्दै गरेका वा सोभन्दा बढी अध्ययन गर्ने विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिन पाउने महाशाखाका प्रमुख इन्दुविक्रम जोशीले बताए । स्टिम सामग्री निर्माणका गर्नका लागि आवश्यक पर्ने खर्च मन्त्रालयले नै व्यहोर्ने छ ।

प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीहरुले कात्तिक २९ गतेसम्म आफ्नो अवधारणा पत्र पेश गर्नुपर्नेछ ।

मन्त्रालयले स्टिम सामग्री निर्माण गर्ख लाग्ने खर्च २५ हजार रुपैयाँदेखि अधिकतम् १ लाख रुपैयाँसम्म व्यहोर्ने बरालले बताइन् । यस्तै, उत्कृष्ट ३ वटा निर्माण सामग्रीलाई क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ दिइने मन्त्रालयले जनाएको छ ।

नेपाली विद्यार्थीहरुका लागि मन्त्रालयले यस किसिमको प्रतिस्पर्धा पहिलो पटक गराउन लागेको उनले बताइन् । ‘प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीहरुले थेउरीमा पढेका कुरालाई व्यवहारिक रुपमा देखाउन सक्ने किसिमको सामाग्री निर्माण गर्नुपर्नेछ,’ बरालले भनिन् ।

प्रकाशित : कार्तिक ५, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?