२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चीनमा कार्यरत नेपाली वैज्ञानिकलाई आकर्षक अनुसन्धानवृत्ति

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा कार्यरत एक जना नेपाली वैज्ञानिकले चीन सरकारबाट अनुसन्धानमा प्रदान गरिने एक आकर्षक अनुसन्धानवृत्ति प्राप्त गरेका छन् । बेइजिङमा कार्यरत वैज्ञानिक डा. डीबी कट्टेलले १ करोड ३० लाख नेपाली रुपैयाँ बराबरको अनुसन्धानवृत्ति पाएका हुन् ।

चीनमा कार्यरत नेपाली वैज्ञानिकलाई आकर्षक अनुसन्धानवृत्ति

‘कडा प्रतिस्पर्धामा विशेषज्ञहरूले तेस्रो ध्रुवीय क्षेत्रमा जलवायु परिवर्तनको चरित्र, प्रक्रिया र संयन्त्र सम्बन्धी ‘प्रपोजल’लाई स्वीकृत गरेपछि यो ‘ग्रान्ट’ प्राप्त भएको हो’, शनिबार कट्टेलले कान्तिपुरसित भने, ‘तिब्बत र दक्षिण एसियाली हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तनसम्बन्धी अध्ययनबाट ठोस नतिजा निकाल्ने अपेक्षा छ।’

कट्टेल चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस ‘क्यास’) बेइजिङमा ६ वर्षदेखि सहप्राध्यापकका रुपमा कार्यरत छन् ।

पाकिस्तान, बंगलादेश, भारत, भुटान, नेपाल, तिब्बतका हिमाली क्षेत्रमा एकीकृत अध्ययनका लागि सन् २०२३ जनवरीदेखि २०२४ डिसेम्बर सम्मका लागि उत्कृष्ट युवा वैज्ञानिक अनुसन्धान कोषबाट उनले सात लाख चिनियाँ युआन बराबरको अनुसन्धानवृत्ति पाएका हुन् ।

डा. कट्टेलका अनुसार चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानबाट चिनियाँ प्रोफेसरहरूले यस्तो कोष प्राप्त गर्नका लागि प्रतिस्पर्धामा भाग लिन पाउँछन् ।

‘एक नेपाली भएको नाताले हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तन र विश्वव्यापी असरको कारणबारे सतही रुपमा सबैलाई ज्ञान भएपनि आधारभूत कारणहरू पहिल्याउन बाँकी छ। मेरो अध्ययन त्यसैमा केन्द्रित हुनेछ,’ कट्टेलले भने।

नेपालमा जलवायु परिवर्तनका कारण दुईथरीका छन् भने हिन्दकुश हिमालय क्षेत्रको हावापानी र जलवायु परिवर्तनका असरका कारक तत्त्व दक्षिण एसियाली क्षेत्रमा फरक फरक भएकाले कारण अनुसन्धानका लागि लागिपर्ने उनले बताए। उनले भने, ‘यो अनुसन्धानबाट हिमाली क्षेत्रको जलवायु परिवर्तनबारे पूर्व सतर्कता तथा रोकथामका उपाय अपनाउन नेपाल मात्र नभएर हिमाली क्षेत्रका मुलुकहरू लाभान्वित हुन सक्नेछन् ।’

कट्टेलले अनुसन्धानवृत्तिबाट दुई जनालाई पीएचडी गराउनेदेखि विज्ञहरूलाई बोलाएर अनुसन्धान गराउन पाउनेछन् ।

प्रकाशित : भाद्र २६, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?