चीनमा कार्यरत नेपाली वैज्ञानिकलाई आकर्षक अनुसन्धानवृत्ति- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा कार्यरत नेपाली वैज्ञानिकलाई आकर्षक अनुसन्धानवृत्ति

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा कार्यरत एक जना नेपाली वैज्ञानिकले चीन सरकारबाट अनुसन्धानमा प्रदान गरिने एक आकर्षक अनुसन्धानवृत्ति प्राप्त गरेका छन् । बेइजिङमा कार्यरत वैज्ञानिक डा. डीबी कट्टेलले १ करोड ३० लाख नेपाली रुपैयाँ बराबरको अनुसन्धानवृत्ति पाएका हुन् ।

‘कडा प्रतिस्पर्धामा विशेषज्ञहरूले तेस्रो ध्रुवीय क्षेत्रमा जलवायु परिवर्तनको चरित्र, प्रक्रिया र संयन्त्र सम्बन्धी ‘प्रपोजल’लाई स्वीकृत गरेपछि यो ‘ग्रान्ट’ प्राप्त भएको हो’, शनिबार कट्टेलले कान्तिपुरसित भने, ‘तिब्बत र दक्षिण एसियाली हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तनसम्बन्धी अध्ययनबाट ठोस नतिजा निकाल्ने अपेक्षा छ।’

कट्टेल चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस ‘क्यास’) बेइजिङमा ६ वर्षदेखि सहप्राध्यापकका रुपमा कार्यरत छन् ।

पाकिस्तान, बंगलादेश, भारत, भुटान, नेपाल, तिब्बतका हिमाली क्षेत्रमा एकीकृत अध्ययनका लागि सन् २०२३ जनवरीदेखि २०२४ डिसेम्बर सम्मका लागि उत्कृष्ट युवा वैज्ञानिक अनुसन्धान कोषबाट उनले सात लाख चिनियाँ युआन बराबरको अनुसन्धानवृत्ति पाएका हुन् ।

डा. कट्टेलका अनुसार चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानबाट चिनियाँ प्रोफेसरहरूले यस्तो कोष प्राप्त गर्नका लागि प्रतिस्पर्धामा भाग लिन पाउँछन् ।

‘एक नेपाली भएको नाताले हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तन र विश्वव्यापी असरको कारणबारे सतही रुपमा सबैलाई ज्ञान भएपनि आधारभूत कारणहरू पहिल्याउन बाँकी छ। मेरो अध्ययन त्यसैमा केन्द्रित हुनेछ,’ कट्टेलले भने।

नेपालमा जलवायु परिवर्तनका कारण दुईथरीका छन् भने हिन्दकुश हिमालय क्षेत्रको हावापानी र जलवायु परिवर्तनका असरका कारक तत्त्व दक्षिण एसियाली क्षेत्रमा फरक फरक भएकाले कारण अनुसन्धानका लागि लागिपर्ने उनले बताए। उनले भने, ‘यो अनुसन्धानबाट हिमाली क्षेत्रको जलवायु परिवर्तनबारे पूर्व सतर्कता तथा रोकथामका उपाय अपनाउन नेपाल मात्र नभएर हिमाली क्षेत्रका मुलुकहरू लाभान्वित हुन सक्नेछन् ।’

कट्टेलले अनुसन्धानवृत्तिबाट दुई जनालाई पीएचडी गराउनेदेखि विज्ञहरूलाई बोलाएर अनुसन्धान गराउन पाउनेछन् ।

प्रकाशित : भाद्र २६, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

'४६ सालको परिवर्तनपछि नेपालमा नागरिक र नागरिक समाजलाई फ्रिडम भयो'

कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिशास्त्री जीवन बानियाँले नेपालमा २०४६ सालको परिवर्तनपछि नागरिक र नागरिक समाजलाई 'फ्रिडम' भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र 'सार्वजनिक संवादको शैली' शीर्षकमा बोल्दै राजनीतिशास्त्री बानियाँले २०४६ सालको परिवर्तनले र राज्यले अंगीकार गरेका कानुनहरूले नागरिक र नागरिक समाजलाई फ्रिडम भएको बताएका हुन् । 

उनले राणाकालीन समयमा नागरिक समाज र नागरिक आवाजहरू कमै आउने गरेको बताउँदै त्यसबेला गरिने कामहरू समुदायस्तर र सामाजिक कार्यमा केन्द्रित हुने गरेको बताए ।

उनले भने, 'त्यसबेला नागरिक समाज तथा नागरिकका आवाजहरू आउँदैन थिए । केही सचेत समूहले अप्रत्यक्ष रुपमा आवाज उठाउँथे । '

अहिलेको समयमा राज्य र सरकारबाहेकको नागरिक समाज भन्ने तप्का रहेको बताए । उनले नागरिक समाजले नेपालमा सन् १९९० को दशकपछि प्रत्यक्ष रुपमा काम गरेको देखिएको उल्लेख गरे ।

यस्तै अहिले उपलब्ध हुने संवाद र स्पेस कतिको लोकतान्त्रिक छ भनेर हेरिनुपर्ने बताए । उनले अहिलेका राजनीतिक दल र संस्थाबारे बुझ्ने; सोधखोज गर्ने र उनीहरूको एजेन्डा पनि हेरिनुपर्ने बताए ।

राजनीतिशास्त्री बानियाँले संवाद सहर केन्द्रित भएको बताए । सहर केन्द्रित संवाद तल्लो तहमा पुगेपछि गम्भीर किसिमका छलफल र मूलभूत विषयहरू एकदमै कम भएको बताए । उनले स्थानीय तहमा योजना बनाउने प्रक्रियामा सामान्य नागरिकसम्म पनि नपुगेको बताए ।

पालिकास्तरमा राजनीतिक नेतृत्व र सीमित समूहरूले मात्रै योजना बनाउने र आम नागरिकको समस्या सम्बोधन कम हुने उनले बताए ।

सहभागितामूलक समाज बनाउने र जवाफदेही सरकार बनाउने विषयमा आम नागरिकको सहभागिता नभएको उनको भनाइ थियो ।

निर्माण भएका नीति र योजनाहरू कार्यान्वयनको अवस्था हेर्ने सवाल व्यवहारमा कहीँ पनि नदेखिएको उनले जनाए ।

पालिकास्तरबाट एजेन्डा सेट गर्ने भए पनि त्यो नभएको उनको भनाइ थियो । 'स्थानीय तहबाट एजेन्डा सेट हुनुपर्ने हो तर भएको छैन । संघले बजेट पठाउँछ अनि मात्रै योजनाहरू निर्माण हुन्छन्,' उनले भने ।

सार्वजनिक सुनुवाईको कार्यक्रम र छलफल पनि सीमित वर्गमा हुने गरेको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र २६, २०७९ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×