
काठमाडौं — नेपालबाट ४४ वटा क्षुद्र ग्रहको पहिचानसँगै अस्थायी नाम पाएका छन् । सन् २०१६ देखि नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)मार्फत् यस्ता ग्रहको खोजी गर्न थालिएयता ४४ वटा क्षुद्र ग्रहको अस्थायी नाम आएको हो ।

यस्तै, नेपालबाट प्रारम्भिक पहिचान भएका क्षुद्र ग्रहको संख्या भने १४ सय २८ वटा रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
क्षुद्र ग्रह खोज्ने अभियान सन् २०१६ देखि नै सुरु भए पनि सन् २०१७ देखि मात्रै यसको प्रारम्भिक पहिचान हुन थालेको थियो । यस्तै २०१८ पछि क्षुद्र ग्रहको अस्थायी नाम दिइन थालियो । सन् २०१८ मा १, सन् २०१९ मा ६, सन् २०२० मा १२ र सन् २०२१ मा २५ वटा क्षुद्र ग्रहले अस्थायी नाम पाएको नासोले जनाएको छ । यस्तै यो वर्ष खोजी भएका क्षुद्र ग्रहको नाम आउन पनि बाँकी रहेको अध्यक्ष भट्टराईले बताए ।
नासोले हरेक वर्ष इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोलाब्रेसन (आईएएससी) को सहकार्यमा राष्ट्रिय क्षुद्र ग्रह खोज अभियानमार्फत क्षुद्र ग्रहको खोजी गर्दै आएको छ ।
नागरिक वैज्ञानिक अवधारणाअनुसार विश्वका हरेक मुलुकमा क्षुद्र ग्रह खोज्ने अभियान सञ्चालन गरिन्छ । इन्टरनेसनल एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएएससी) सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ । अमेरिकाको हवाईस्थित पाम–स्टार्स टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरू निश्चित सर्भरमा राखिएका हुन्छन् । एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका ती तस्बिरहरूबाट घुमिरहेको वस्तु खोजिन्छ र तिनीहरू क्षुद्र ग्रह हुन् कि होइनन् भन्नेबारे पहिचान गरिन्छ । अभियानमा संलग्न व्यक्तिलाई उक्त सर्भरमा पहुँच दिइन्छ ।
अभियानमा सहभागीले क्षुद्र ग्रह भेटेको बताएपछि त्यसलाई प्रमाणीकरण गर्नका लागि अमेरिका पठाइने नासोका अध्यक्ष भट्टराईले बताए । उनका अनुसार इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले प्रमाणित गरेपछि मात्रै क्षुद्र ग्रहको ‘प्रिलिमिनेरी’ अर्थात् प्रारम्भिक पहिचानको सूची आउँछ ।
युनियनले त्यसपछि पुनः प्रमाणीकरणका लागि अन्य विभिन्न टेलिस्कोपमार्फत खोज तथा आफूमातहतका कार्यालयलाई सर्कुलेसन जारी गर्छ । अन्य स्थानबाट पनि उक्त क्षुद्र ग्रह देखिए त्यसलाई ‘प्रोभिजनल’ स्टाटस दिइन्छ । त्यसपछि उक्त क्षुद्र ग्रहको अध्ययन गरिन्छ । छुद्र ग्रहको प्रारम्भिक नाम आईओयू माइनर प्लानेट सेन्टरले दिने भट्टराईले बताए ।
विद्यालय तहका विद्यार्थी बढी सक्रिय
क्षुद्र ग्रह खोज्ने अभियान सबै इच्छुक व्यक्तिहरुका लागि खुला गरिए पनि यसप्रति विद्यालय तहका विद्यार्थीहरुको बढी रुची देखिएको छ । नासोको अध्यक्ष भट्टराईका अनुसार क्षुद्र ग्रह पत्ता लगाउनेहरू कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु छन् । ग्रह खोज्ने अभियानमा सहभागी हुँदा विद्यार्थीहरूलाई खगोलशास्त्र र विज्ञानमा पनि रूची जागेको नासोले जनाएको छ ।
के हो क्षुद्र ग्रह
ग्रह बन्न नसकेका र गति भएका आकाशीय पिण्डहरूलाई क्षुद्र ग्रह भनिन्छ । सौर्यमण्डलमा धेरै आकाशीय पिण्ड छन् र तिनले पनि सूर्यलाई परिक्रमा गर्छन् । अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा बढी व्यास भएका क्षुद्र ग्रह ३ वटा भएको रेकर्ड गरिएको छ । यस्तै सय किलोमिटर व्यासका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी क्षुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् । मंगल ग्रहदेखि र वृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धूलो, कण, क्षुद्र ग्रह, ढुंगालगायत धेरै वस्तुहरू देखिन्छन् ।
सानो आकारका ‘एस्टोरोइड’ हरू पृथ्वीतिर आइरहेका हुन्छन् । त्यस्ता वस्तु वायुमण्डलको माथिल्लो सतहमै बिलाउँछन् । यदाकदा केही आकाशीय टुक्रा भने खस्ने गरेका छन् । यस्ता पिण्ड र कणले पृथ्वीको तौल बढिरहेको भौतिकशास्त्रीहरू बताउँछन् । स–साना पिण्ड वायुमण्डलसँगको घर्षणबाट उत्पन्न हुने तापका कारण त्यत्तिकै बिलाउने गरेको भट्टराईले बताए । यस्ता बिलाएर जाने पिण्डलाई तारा खसेको भन्ने गरिन्छ ।
एक सय किलोमिटरभन्दा बढी व्यास भएका एस्टोरोइडको भित्री भाग फलामभन्दा कडा वस्तु, बीच भागमा आइस (विभिन्न ग्यासको आइस), सतहमा कार्बन हुने गरेको छ । ठूला क्षुद्र ग्रहको सतहमा एमिनो एसिड पनि भेटिने गरेको भौतिकशास्त्रीहरूको भनाइ छ ।
यसैबीच, नेपालाबाट हालसम्म ६५ जना विद्यार्थीहरूले अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल ओलम्पियाडमा सहभागी जनाएको नासोले जनाएको छ । १५औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा नासोले अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका ६५ जना विद्यार्थीहरूमध्ये १० जनालाई अवार्ड प्रदान गरेको थियो ।
नेपालमा सन् २०१४ देखि नियमित रुपमा राष्ट्रिय एस्ट्रोनोमिकल ओलम्पियाड सुरू हुँदै आएको छ । अहिलेसम्म एस्ट्रोनोमिकल ओलम्पियाडमा २७ सय विद्यार्थीले भाग लिएको भट्टराईले बताए । तीमध्ये उत्कृष्ट भएका ६५ जना विभिन्न वर्षमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका थिए । यो ओलम्पियाडमा कक्षा ८ देखि १२ अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।
नासोले यी कार्यक्रमबाहेक हरेक वर्ष खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी प्रचारात्मक कार्यक्रम गर्दै आएको परियोजना संयोजक एवं निर्देशक मनीषा द्वाले बताइन् । सन् २०२० बाट ७ वटै प्रदेशमा नासोले स्पेस एप्स च्यालेन्ज पनि गराउँदै आएको द्वाले बताइन् ।
प्रकाशित : भाद्र १९, २०७९ १८:०६