गुड्ने मिनी अस्पताल !- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

गुड्ने मिनी अस्पताल !

रासस

काठमाडौँ — नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।  

तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा ।

मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला ? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने सुविधासहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो ।

अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपद्मा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे।

यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।

मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशनको पैसा परेको छ । गृहमन्त्री बालकृष्ण खाँणले आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।

प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ । नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ । कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ ।

कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ । त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ । सरकारसँगको सहमतिअनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो । उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् ।

जीवन बचाउने आधुनिक उपकरण, महत्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसीटिभी क्यामेरा छन् । उक्त गाडी एउटाको झण्डै एक करोड रुपैयाँ पर्ने बताइएको छ । ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ ।

गृहमन्त्री खाँणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्वपूर्ण योगदान गर्नै विश्वस व्यक्त गरे । आजै प्राधिकरणले अपांगता भएकाहरूका लागि १५१ प्रकारका सहयोगी सामग्रीसमेत राष्ट्रिय अपांग कोषलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण समारोहमा गृहमन्त्री खाँणले अपांगता भएकाहरूका लागि बजेट बढाउनुपर्ने आवश्यकता औंल्याउँदै हरेक क्षेत्र उनीहरुका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए । उनीहरुको जीवनयापनलाई कसरी सहज बनाउने भन्नेमा नै सरकारको ध्यान रहेको बताए ।

गृहसचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई संकटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उक्त गाडीलाई गुड्ने अस्पतालकै संज्ञा दिन्छन् । समारोहमा सशस्त्र प्रहरीलाई ६५ थान विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा प्राधिकरणका प्रवक्ता डिजन भट्टराई, सहसचिव अनिता निरौला, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अपांग कोषका सभापति डेकराज भट्टराईले धारण राखेका थिए ।

प्रकाशित : श्रावण ७, २०७९ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्

'आज हामीले देख्ने ताराहरू आजैका हुँदैनन्, ती वर्षौंअघिका हुन्' [भिडियो]

'हामीले लगभग दुई/तीन वर्षअघिको तारा देखेका हुन्छौं । हाम्रो सबैभन्दा नजिकको तारा नै ४ प्रकाश वर्ष टाढा छ । यसको मतलब त्यो तारालाई हेर्दा हामीले चार वर्षअघिको तारालाई हेरिरहेका हुन्छौं ।'
गोविन्द पोखरेल

काठमाडौँ — जुलाई दोस्रो साता अमेरिकी अन्तरिक्ष संस्था नासाले जेम्स वेब्स स्पेस टेलिस्कोपले खिचेका तस्बिरहरू सार्वजनिक गर्‍यो । यसअघि हबल स्पेस टेलिस्कोपले खिचेका तस्बिरहरूसँग दाँज्दा यी तस्बिरहरू धेरै चकिलो, बृहत र गाढा देखियो । जेम्स वेब्सले खिचेका तस्बिरलाई लिएर ब्रह्माण्डको अनुसन्धानमा ‘खगोलशास्त्रीय क्षेत्रमा नयाँ युग’को सुरुआत भनेर व्याख्या गरिँदै छ ।

ब्रह्माण्ड र खगोलशास्त्रमा अढाइ दशकदेखि अध्ययन अनुसन्धानमा संलग्न रहेका त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा विनिल अर्यालसँगै जेम्स वेबले सार्वजनिक गरेका तस्बिर र नेपालका विज्ञान तथा अनुसन्धानको विषयमा केन्द्रीत भएर इकान्तिपुरका गोविन्द पोखरेलले गरेका कुराकानी:

नासाले सार्वजनिक गरेकै तस्बिरबाट चर्चा गरौं, केरिना नेबुलाबाट । जेम्स वेब्सले खिचेको र हबलले खिचेको तस्बिरमा के फरक पाउन हुन्छ ?

मुख्य रुपमा यसमा ताराहरू बनिरहेको एउटा क्षेत्र देखिन्छ । एउटा माथि कुनामा तारा बनिरहेको ठाउँ देखिन्छ । त्यसलाई हामी ‘पीडीआर’ भन्छौं । त्यो चाहिँ हबल स्पेस टेलिस्कोपमा देखिएको थिएन । अर्को पाटो भनेको हबलले खिचेको तस्बिरको तल्लो भागमा दुईवटा कालो क्षेत्र देखिएको छ ।

त्यहाँ धुलोहरूको मात्रामा एकदमै धेरै छ भन्ने भनिएको थियो । तर अहिले नयाँ तस्बिर आएपछि त्यो ठाउँमा अन्य चम्किलो वस्तुहरूमा पनि देखिएको छ । यसबाट के बुझियो भने त्यो क्षेत्रमा धुलो मात्रै होइन, आकशीय पिण्डहरूबीच केही गतिविधि पनि भइरहेको छ । वायु र आकशीय पदार्थहरूबीच कुनै ‘इन्टरयाक्सन’ भइरहेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

७ हजार ६ वर्ष प्रकाश वर्ष टाढा छ भनिएको छ । यो भनेको चाहिँ ७ हजार ६ वर्ष पुरानो तस्बिर हो ?

एक्ज्याट्ली ।

डब्लूएसपी–९६बी बाह्य ग्रह पनि सार्वजनिक भएको छ । यो कस्तो खालको ग्रह हो ?

यो चाहिँ हाम्रो सौर्य मण्डलभन्दा बाहिरको ग्रह हो । एउटा ग्रहको यति राम्रो ग्यासहरू पनि देखिएको । ग्यासहरू पनि देखिएको, ‘इन्टरनल फिचर्स’हरू पनि देखिएको तस्बिर चाहिँ पहिलो पटक हाम्रो आँखाले हेर्न पाएका हौं ।

यसभन्दा अघि चाहिँ ‘लाइट कर्भ’हरू मात्रै आउने खालको थियो । ग्रहहरूले आफैं रेडिएसन ननिकाल्ने भएपछि यसभन्दा अघि असाध्यै अस्पष्ट तस्बिरहरू हुन्थे । सबैभन्दा ठूलो कुरा भनेको हामीले हेर्न सक्यौं अनि ग्रहको इन्टर फिचर्सहरू पनि आयो ।

साउर्दन रिङ नेबुलालाई पनि जेम्स बेब्सले खिच्यो । यसलाई प्लानेटरी नेबुला पनि भनिन्छ । यसबारे बताइदिनुहोस् न ?

ताराहरू दुई तरिकाले विस्फोट हुन्छन् । एउटा धेरै ठूलो तरिका र अर्को अलिक सामान्य खालको हुन्छ । ठूलो विस्फोटलाई सुपरनोभा विस्फोट भन्छौं हामी । सुपरनोभा बाहेक अर्को भनेको अलिक सानो हुन्छ ।

त्यो विस्फोट चाहिँ सुन्निदै पड्किने अनि पड्कदै–पड्कदै जाने खालको हुन्छ । एक खालको ‘इभोलुसनरी स्टेज’ हुन्छ त्यसलाई हामी प्लानेटरी नेबुला भन्छौं । यो सानो खालको विस्फोट हुने क्रममा बन्छ ।

स्टेफन क्विन्टेन्टको तस्बिरलाई कसरी लिनुहुन्छ ?

यी ग्यालेक्सीहरू हुन् । यो तस्बिरमा ग्यालेक्सीको ग्यासहरू अनि दुई वटा ग्यालेक्सीका ग्यासहरू ‘कनेक्टेड’ भएको भनौं या जोडिएको जस्तो भनौं । त्यो ग्यासहरू कनेक्टेड भएको जस्तो देखिएकाले ती ग्यालेक्सी (आकाशगंगा)हरूको स्थिती परिवर्तन भएको जस्तो देखिने एउटा लाइभ इमेज देखिन्छ ।

हबल टेलिस्कोपले खिच्दा त्यो थिएन । हबलको तस्बिरहरूमा यस्तो ‘एक्सिटिन्सन’हरू नै देखिदैन थियो । खाली सेन्ट्रलको ग्यालेक्सी मात्रै कनेक्टेड देखिन्थ्यो । अहिले त चारवटा ग्यालेक्सीहरू कनेक्टेड भएको जस्तो देखिन्छ ।

नासाले सार्वजनिक गरेको पहिलो तस्बिर, जहाँ ब्रह्माण्डको बृहत क्षेत्र देखाइएको छ । यसलाई कसरी व्याख्या गर्नु हुन्छ ?

हबल डिप फिल्ड जस्तै यसलाई ‘जेम्स डिप फिल्ड’ भनौं न । यो चाहिँ जेम्सले ब्रह्माण्डको कति भित्रसम्म गएर हेर्न सक्छ , फोकस गरेर कतिसम्म हेर्न सक्छ भनेर..यसको रिजोलुसनलाई अप्टिमाइज गरेर ब्रहमाण्डको भित्तामा भनौं न,त्यहाँ प्वाइन्ट गरेर खिचिएको ब्रह्माण्डको यो सानो हिस्सा हो ।

सानो हिस्सा त यो पक्कै पनि होइन । हबलले खिचेको हिस्साभन्दा यो धेरै नै ठूलो छ । लगभग ७ देखि ९ गुणा बढी यसको ‘फिल्ड अफ भ्यू’ छ । यसमा हेरौं, धेरै खालको सानो सानो आकशीय पिण्डहरू देखिन्छन् । कुनै रातो, हरियो जस्तो पिण्डहरू पुरानो तस्बिरमा देखिएको थिएन । अहिले त्यो देखिएको छ । यी वस्तुहरू ब्रह्माण्ड विस्फोट भएको १० लाख वर्षपछि वा त्योभन्दा पहिला धेरै वर्षपछि बनेका हुन् । अहिले ती वस्तुहरू छन् कि छैनन् हामीलाई थाहा छैन । त्यो बेलामा ती वस्तुहरूले निकालेको विकिरण अहिले बल्ल जेम्स टेलिस्कोपमा आइसकेपछि देखिएको हो । त्यसैले यो त हामीले ‘ब्याक इन टाइम’मा हेरिरहेका छौं नि त । लगभग चाहिँ १३ अर्ब वर्ष अगाडिको तस्बिर हामीले हेरिरहेका छौं ।

यो तस्बिरहरूको अर्थ के हो ? यसलाई खगोलशास्त्री र वैज्ञानिकहरूले कसरी लिने ?

अहिले जुन तस्बिर आयो यसको महत्त्व एकदमै भयो । यी तस्बिरलाई हबलले पहिला नै खिचेको थियो, अहिले अझ राम्रो र सफा तस्बिर आयो । तर ती तस्बिरको आयाम या डाइमेन्सन भने अप्टिकल (आँखा)ले हेर्न सकिने खालका मात्रै थिए । तर अहिले आएको तस्बिरमा आँखाले देख्न नसकिने रेडिएसनलाई पनि क्याप्चर गरेर आएका तस्बिरहरू हुन् । भिजिबल रेडिएसन बाहेक पनि अर्को इन्फ्रारेड रेडिएसन हुन्छ । जसको इनर्जी भनौं या ऊर्जा भनौं अलिकति थोरै हुन्छ । त्यो थोरै ऊर्जा पनि समावेश भएर आएको तस्बिर भएकाले जीवन्त देखियो । तस्बिरमा पनि त्यही नदेखिने रेडिएसनलाई पनि समावेश भएपछि अलिक बृहत र राम्रो देखियो । त्यसैले यी तस्बिरको महत्व बेग्लै छ ।

हबल स्पेस टेलिस्कोपभन्दा यो टेलिस्कोप कसरी फरक छ ?

तीनवटा कुराले यो टेलिस्कोप विशिष्ट या फरक छ । पहिलो कुरा चाहिँ हबल स्पेस टेलिस्कोपले जुन किसिमको चित्र खिच्छ, जेम्स वेब्सले फरक वेब लेन्थको तस्बिर खिच्छ । हबलले भिजिलब वेब लेन्थको खिच्थ्यो भने जेम्ब वेबले इन्फ्रारेडको खिच्छ । मुख्य कुरा भनेको यसको तरंग लम्बाई नै हो ।

यो टेलिस्कोपको फिल्ड अफ भ्यू यति ठूलो छ कि हबलभन्दा धेरै लगभग ९ गुणाले ठूलो छ । यसको रिजोलुसन पनि ७ गुणा बढी छ । यो भन्नुको अर्थ भनेको हामी डिप स्काईमा अझ गहिरोसँग, पहिला नदेखेका वस्तुहरू देख्न सक्छौं ।

जेम्स वेब्स स्पेस टेलिस्कोपलाई टाइम मेसिन पनि भनिन्छ के कारणले होला ?

हामीले अहिले आकाशमा ताराहरू हेर्छौं । आज हामीले हेरेका ताराहरू आजैको हुँदैनन् । हामीले लगभग दुई वर्ष तीन वर्षअघिको हुन्छ । हाम्रो सबैभन्दा नजिकको तारा नै ४ प्रकाश वर्ष टाढा छ । यसको मतलब त्यो तारालाई हेर्दा हामीले चार वर्षअघिको तारालाई हेरिरहेका हुन्छौं । हामीले पहिलाको हेरिरहेका हुन्छौं । आकाशमा हामीले देख्ने भनेको हजारौं वर्षअघिको पनि हुन्छ । अहिले त कस्तो छ भन्ने कुरा धेरै पछाडि देखिन्छ । अहिले निस्किएको रेडिएसन आउन धेरै पछि मात्रै आउँछ अनि मात्रै हामीलाई थाहा हुन्छ ।

हामीले आँखामा देखिने कुरा तारासँग जोड्यौं । एउटा टेलिस्कोप भनेको ठूलो आँखाबाट हेर्ने हो । यसले ब्रह्माण्डको भित्री ठाउँमा हेर्छ । अझ भनौं ब्रह्माण्डको उत्पत्ति भएको बेलासम्म यसले हेर्न सक्छ । बिग ब्याङ सुरु भएको १० लाख वर्ष अगाडिसम्मको हेर्न सक्छ । त्यसैले यो ‘ब्याक इन टाइम’ हेर्न सक्ने भएकाले भनिएको हो ।

प्रकाश वर्ष भनेको के हो ? अन्तरिक्षमा दूरी मापनका लागि किन प्रकाश वर्षलाई मान लिइन्छ ?

अन्तरिक्ष अनन्त छ । अन्तरिक्षमा प्रकाशले ठूलो भूमिका खेल्छ । प्रकाशमा चाहिँ ‘इलेक्ट्रोम्यागनेटिक रेडिएसन’ हुन्छ । यसको गति पनि प्रकाशको गति जतिकै हुन्छ । जुन हामी ३ लाख किलोमिटर प्रति सेकेन्ड भन्छौं प्रकाशको गति । प्रकाशले एक वर्षमा कति दूरी पार गर्छ भन्ने दूरीलाई हामी एक प्रकाश वर्ष भन्छौं । ब्रह्माण्ड अनन्त छ ।

एक वर्षको समयमा प्रकाशले पार गर्ने दूरी पनि ब्रहमाण्डमा एकदमै सानो स्केल हो । हाम्रो लागि चाहिँ एक प्रकाश वर्ष भनेको लगभग ६ ट्रिलियन माइल्स जति हुन्छ होला ।

नासाले सार्वजनिक गरेका यी तस्बिरहरूबाट नेपालले के कस्तो फाइदा र अवसर लिन सक्ला ?

यी तस्बिरको प्रारम्भिक तथ्यांकहरू, तस्बिर बनाउनका लागि प्रयोग गरिएका डेटाहरू चाँडै नै सार्वजनिक होलान् । त्यस्ता तथ्यांकहरूलाई प्रयोग गर्ने, डेटालाई रिडक्सन गर्ने, डेटामा काम गर्ने हाम्रा विद्यार्थीहरूले पनि बिएस्सी र एमएस्सीमा थेसिस गर्दा प्रयोग गर्नुहुन्छ ।

यो एउटा ठूलो स्केलको तथ्यांक हुन्छ । त्यसबाट सानो अंशको तथ्यांक लिँदा पनि हाम्रो लागि धेरै नै डेटा हुन्छ, जुन अनुसन्धानका लागि पर्याप्त हुन्छ । त्यो अंशको केही तथ्यांकमा काम गरेर समस्या पत्ता लगाएर समाधान गर्नतर्फ जानका लागि संसारभरका विद्यार्थीहरूका लागि एउटा अवसर छ ।

नेपालमा पनि बीपी प्लानेटेरियम मातहतको एउटा टेलिस्कोप राखिएको छ । तर प्रयोगमा आएको छैन । नेपालमा टेलिस्कोपको सम्भावना के देख्नुहुन्छ ?

हामीमा भएको टेलिस्कोप चाहिँ एउटा सानो अप्टिकल टेलिस्कोप हो । यो अध्ययन प्रयोजनका लागि मात्रै हो । यो २४ इन्च टेलिस्कोप हो । रेगुलर युज गर्नका लागि विद्यार्थीहरूले पाएका छैनन् । यदकदा विद्यार्थीहरूले जाने, हेर्ने काम गरिरहेका छन् । तर, त्यो पूर्ण रुपमा प्रयोग भएको छैन, यो यथार्थ हो ।

एउटा फूल टेलिस्कोप आफ्नै देशमा हुनुपर्छ भन्ने पनि छैन । संसारमा धेरै टेलिस्कोपहरू छन्,जुन सबैका लागि खुला गरिएको छ । रिसर्चरहरूले स्पेसमा ब्रह्माण्ड बुझ्न र अध्ययन गर्न बनाइएका टेलिस्कोपका तथ्यांक घरमै बसेर प्रयोग गर्न सकिन्छ । यी तथ्यांकहरू सबैका लागि खुला रुपमा उपलब्ध छन् । त्यसैले त्यो तथ्यांकलाई हामीले प्रयोग गर्न सक्नुपर्छ ।

एउटा कुरा मैले जोडे । नेपालमा पनि अवस्थितीको हिसाबले पनि ६ हजार मिटरभन्दा माथि उचाइ भएका ३ सयभन्दा बढी पहाडहरू छन् । नासाले नै गरेको यसअघिको अध्ययनले नेपालको पहाडहरूमा दुई खालको टेलिस्कोप राख्नका लागि उपयुक्त हुने देखाएको छ । एउटा कस्मिक टेलिस्कोप र अर्को फार इन्फ्रारेड टेलिस्कोपका लागि हो । ६ हजार मिटरको उचाइमा संसारमा अहिलेसम्म ‘फार इन्फ्रारेड टेलिस्कोप’ छैन । चिलीको पहाडमा करिब ४ हजार मिटरको उचाइमा मात्रै छ । यो खालको टेलिस्कोप राख्न सकिने अवसर नेपालमा छ ।

तपाइँ विज्ञान तथा प्रविधि संकायको डिन हुनुहुन्छ तर त्रिविबाट स्नातकोत्तर गरेका विद्यार्थीहरू अवसर नपाएपछि अधिकांशको ध्यान विदेशिने छ । यसलाई रोक्नका लागि के गर्नुपर्ला ?

शिक्षा विश्वव्यापीकरण नै हुन्छ । विद्यार्थीहरू एउटा ठाउँमा अध्ययन गरिसकेपछि आफ्नो क्षमता विस्तार गर्न खोज्छन् । संसारभर पनि त्यही ट्रेन्ड हो । खासगरी विकासोन्मुख मुलुकहरूमा पनि त्यही छ । यसलाई रोक्नैपर्छ भन्ने पनि छैन । ग्लोबल्ली हामी जहाँ गएपनि त्यहाँको समूहलाई हामी यहाँ सहकार्य गरेर काम गर्न पनि सक्छौं । विद्यार्थीहरूले अहिले गरी पनि रहेका छन् ।

तर, नेपालमा उपयोग हुने विषयहरू जस्तै बायोटेक्नोलोजी,माइक्रो बायोलोजी, वातावरण विज्ञान एकदमै आवश्यकमा पर्छन् । हामीले पनि कहाँ कहाँ कसरी उनीहरूलाई लगाउन सकिन्छ, अवसर दिलाउन सकिन्छ थप काम गर्नुपर्ने छ । केही सीमित पनि छन् , हामीले आकर्षित गराउन पर्छ तर हामी यसका लागि पर्नुपर्छ ।

'लागि पर्नुपर्छ' भन्नुभयो । तर त्रिविले जुन किसिमका कोर्स डिजाइन गर्छ, त्यो स्वदेशमा खपत हुने नभएर अन्यत्र हुने किसिमका छन् । यसले ‘ब्रेन ड्रेन’ गराइरहेको छ । तपाइँहरू यो विषयम कतिको गम्भीर हुनुहुन्छ ?

युनिभर्सिटी आफैंमा युनिभर्सल हो । युनिभर्सिटीले आफ्नो प्राज्ञिक दक्षता विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नुपर्ने किसिमको खोज्छ । त्यही किसिमको पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ ।

राज्यको दायित्व चाहिँ के हुन्छ भने राज्यले विश्वविद्यालयलाई भन्नुपर्छ कि हामीलाई हाम्रो लागि आउने १० वर्षमा यो–यो जनशक्तिहरू यति–यति संख्यामा चाहिन्छ । ह्युमन रिसोर्स प्रोजेक्सन भइदियो भने युनिभर्सिटीले त्यो अनुसारको कार्यक्रम बनाएर पास आउट भएर देशका लागि जनशक्ति उत्पादन गर्ने हुन्छ । तर त्यो भइरहेको छैन । यहाँ दुवै पक्षबाट भएको छैन । कतिपय अवस्थामा छन् जस्तो कि इन्जिनियरिङमा भएको छ । इन्जिनियरहरू स्वदेशमै खपत भइरहेका छन् । त्यति भन्दाभन्दै पनि धेरै जना बाहिरिने क्रम भने छ ।

राज्यले विज्ञान प्रविधिमा १ प्रतिशत बजेट छुट्टयाएको छैन भन्ने एकथरी छन् भने अर्काथरी छुट्टयाएको छ भन्ने गर्छन् । सरकार र प्राज्ञिक संस्थाबीच समन्वय भएको छैन जस्तो देखिन्छ नि ?

अघिल्लो बजेटमा शिक्षामा सरकारले कूल बजेटको १० प्रतिशत छुट्टयायो । कहाँ छ भन्दा पूर्वाधार विकासमा त्यो बजेट खर्च हुन्छ । ९० प्रतिशत बजेट स्कुलिङमा जान्छ । शिक्षामा आएको कूल बजेटको ९ प्रतिशत उच्च शिक्षामा छ । त्यो उच्च शिक्षामा आएको बजेट पनि पूर्वाधार निर्माणमा बढी खर्च हुन्छ । उच्च शिक्षामा आएको बजेटलाई सय प्रतिशत मान्ने हो भने पनि त्यसको १० प्रतिशतमात्रै अनुसन्धानमा छ । रिसर्चमा सरकारले फन्डिङ नगरेको देखिन्छ । यो दुर्भाग्य नै हो ।

नेपालमा हुने अनुसन्धान वैज्ञानिक पेपर निकाल्ने मात्रै भएको, सर्वसाधरणसँग जोडिने विषयहरूको अनुसनधान भएका छैनन् भचन्ने छ नि ?

यो सही पनि हो । किनभने राज्यले लगानी गरेपछि त्यो अनुसन्धान पब्लिकसँग जोडिनुपर्छ । त्यस्तो आउटकम नै नआएका रिसर्च मात्रै पनि छैनन, आउटकम आउने रिसर्च पनि हुन्छन् । फन्डिङ एजेन्सीले एउटा के कुरा बुझ्नुपर्छ भने आधारभूत विज्ञानमा आउटकम चाहिँ तुरुन्तै आउँदैनन् । त्यहाँ लगातार लगानी चाहिन्छ । अमेरिकाकै साइन्स फाउन्डेशनले आधारभूत अनुसन्धानका लागि आउटकमको कुनै आश नै नगरी एकोहोरो करिब ३० प्रतिशत बजेट विनियोजन गरिरहेका हुन्छ । एउटा हातबाट दिने र अर्को हातबाट लिने खालको अनुसन्धानको निष्कर्ष तत्कालै नै आउँदैन । इन्जिनियरिङ सेक्टरले पनि त्यो दिन सक्दैन ।

तर फन्डामेन्टल साइन्सले गर्ने कुरालाई चाहिँ कुर्नुपर्छ । त्यसको पेटेन्ट फाइल गर्नका लागि धेरै कुराहरूको आवश्यकता पर्छ, धेरै प्रक्रियाहरू पूरा गर्नुपर्छ । एउटा कुरा चाहिँ के हो भने रिसर्च भनेको पब्लिकेसन गरेपछि मात्रै सकिँदैन । जबसम्म त्यो रिसर्चले त्यसको उपयोगिता देखिँदैन, त्यससँग गरिएका अन्य अनुसन्धानहरू जोडिँदै आएर पेटेन्ट फाइल भएपछि उद्योगहरूले लाभ नलिँदासम्म त्यो रिसर्च पूर्ण भएकै हुँदैन । त्यो अवस्थासम्म हामी पुगेकै छैन ।

हामीसँग गएको असार महिनामै हेर्दा नेपालीहरूले नेपालमा फाइल गरेको पेटेन्ट ५२ वटा मात्रै छ । तर नेपालमै विदेशीहरूले फाइल गरेको पेटेन्टको संख्या लगभग ४ हजार नाघेको छ । विदेशीहरूले नेपालमै काम गरेर ४ हजारभन्दा बढी पेटेन्ट फाइल गरेका छन् भने नेपालमा नेपालीले फाइल गरेको ५२ वटा मात्रै छ । विदेशमा बस्ने नेपालीहरूले भने हरेक वर्ष १५ सयदेखि २ हजार पेटेन्ट फाइल हुन्छन् । बाहिर चाहिँ नेपालीहरू पेटेन्ट फाइल गर्न सक्षम रहेछन् भन्ने देखिन्छ,यहाँनेर चाहिँ पेटेन्ट फाइल गर्ने स्टेजमा पुगेकै छैन । त्यसैले त्यतातिरको लर्निङमा हामी पुगेकै छैनन् ।

तपाइँले समस्या त देखाउनुभयो, समाधान के होला ?

यसको समाधान भनेको लगानी नै हो । एउटा प्याटेन्टका लागि वा त्यस किसिमका अनुसन्धान फरक फरक तरिकाले १० वटासम्म हुनुपर्‍यो, नतिजा पनि फरक फरक आएपछि सबै कुरा समेटिएको रिफाइन हुन्छन् । एउटै पेपरले देखाएको निष्कर्षपछि सम्म ठिक हुन्छ हुँदैन भन्ने सवाल सधैं रहन्छ ।

तर बेलैमा त्यस सम्बन्धी अन्य रिसर्च गरे केही कम हुन्छ । धेरै किसिमबाट त्यस्ता काम फन्डिङ भएको बेला मात्रै हुन्छ । मुख्य समस्या नै के भइदियो भने, एउटा अनुसन्धान पटकपटकसम्मका लागि हुन पाएन ।

अर्को कारण चाहिँ हाम्रोमा त्यति धेरै रिसर्च गर्ने वातावरण छैन । फन्डिङ भयो भने पनि रिसर्च राम्रो हुन्छ भन्ने अवस्था पनि छैन । त्यसका लागि अनुसन्धान संस्थाहरूमा पर्याप्त पूर्वाधार तथा संरचनाहरू निर्माण भइसकेका छैनन् । लगानी राम्रो भइदिने हो भने रिसर्च नै मात्र गरेर बस्न सक्छु, पेट पाल्न सक्छु भन्ने वातावरण बल्ल हुन्छ ।

प्रकाशित : श्रावण ७, २०७९ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×