कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पृथ्वीदेखि चन्द्रमा-मंगल ग्रहसम्म 'अन्तरिक्ष रेल' चलाउने योजना

एजेन्सी

काठमाडौँ — सुन्दा कुनै 'साईफाई' चलचित्र जस्तो लाग्छ । पृथ्वीदेखि चन्द्रमा र चन्द्रमादेखि मंगल ग्रहसम्म चल्ने रेल । नेपालमा भर्खरै पूर्व पश्चिम रेलको लिक निर्माण थालनी भइरहेको बेला जापानमा पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलबारे अनुसन्धानकर्ताहरुले योजना सुनाइरहेका छन् ।

पृथ्वीदेखि चन्द्रमा-मंगल ग्रहसम्म 'अन्तरिक्ष रेल' चलाउने योजना

जापानको क्युटेक विश्वविद्यालयको ह्युमन स्पेसोलोजी सेन्टरका अनुसन्धानकर्ता र जपानी काजिमा कर्पोरेसनले जुलाई पहिलो साता पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलको योजनाबारे जानकारी गराएका छन् ।

यो ट्रान्सपोर्टेसन प्रणालीलाई 'हेग्जागन स्पेस ट्रयाक सिस्टम' नाम दिइएको छ । जहाँ 'अन्तरिक्ष रेल' प्रयोग हुने छ । यो रेल पृथ्वी,चन्द्रामा र मंगल ग्रहबीच चल्नेछ । यो रेलका स्टेसनहरू ग्रहलाई परिक्रमा गर्ने उपग्रहहरूमा हुन जापानी पत्रिकार 'द आशाही सिम्बुन'लाई उद्धृत गर्दै युकेको 'इभिनिङ स्ट्यान्डर्ड' पत्रिकाले लेखेको छ ।

यी रेलहरु जापानी बुलेट रेलहरुभन्दा ठूला हुने र रकेट इन्जिनबाट सञ्चालन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । हरेक स्टेनसहरूमा रेलका ६ वटा कारहरू स्टेसनबाट छुट्टिनेछन् र यिनलाई एउटा षट्कोण आकारको क्याप्सुलले बोकेर लैजाने छ ।

विश्वविद्यालयको स्पेसोलोजी सेन्टरले भनेको छ,'अन्तरिक्षमा यी षट्कोणहरु प्रक्षेपण भइरहँदा हरेक सवारी एउटा बारमा रहनेछन् ताकी उनीहरू सिधा भइरहून् ।'

बेस स्टेसनमा आएपछि षट्कोणबाट ती कारहरू पालैपालोसँग छुट्टिनेछन् । एउटा ग्रहको गुरुत्वाकर्षणको प्रभावबाट उम्कनका लागि हरेक लैजाने र ओराल्ने सवारीमा रकेट इजेक्सन उपकरणहरुको प्रयोग हुनेछ । यसले अन्तरिक्षमा उक्त सवारीको गति पनि बढाउने उनीहरुले जनाएका छन् ।

वायुमण्डल नभएको बेला स्पेस रेलका पंखाहरु फैलने र एउटा लिफ्टको पनि प्रयोग हुनेछ । चन्द्रमा र मंगल ग्रहमा यिनीहरु उच्च गतिको रेल्वे लाइनमा सञ्चालन हुनेछन् जहाँ एक अर्को सहर जोड्ने सञ्जाल हुनेछ ।

यी अन्तरिक्ष रेलहरुले मानिसलाई कृत्रिम रुपमा पृथ्वीको जस्तै गुरुत्व बलको आभास हुने किसिमका हुनेछन् । जसबाट पृथ्वीको जस्तै अनुभव हुनेछ ।

चन्द्रामा लुनार ग्लास र मंगल ग्रहमा मार्स ग्लासको सुविधा हुनेछन् । यी ग्लासहरूमा पृथ्वीको जस्तै जंगल, पानी फोहोरालगायत जैविक विविधता झल्कने किसिमको वातावरण हुने निर्माणकर्ताले जनाएका छन् ।

स्पेसोलोजी सेन्टरका निर्देशक युशोके यामाशिखीले गत जुलाई पहिलो साताको पत्रकार सम्मेलनमा 'अन्तरिक्षमा विकासमा यस किसिमको अन्य योजना अन्य कुनै देशहरूले गरेका छैनन्' भनेका थिए । उनले आफूहरुको योजना भविष्यमा मानिसहरुलाई अन्तरिक्षमा बस्‍न सक्ने प्रविधिको विकासमा सघाउ पुर्‍याउने पनि जनाएका छन् ।

अनुसन्धानकर्ताहरुले यो योजना सार्वजनिक गरिरहँदा भने यसको लागत भने धेरै नै खर्चिलो हुनेछ । उनीहरुले एउटा सामान्य प्रोटोटाइप चाहिँ सन् २०५० सम्ममा प्रयोग गर्ने तयारी गरेका छन् । उनीहरुले सार्वजनिक गरेको योजना कार्यान्वयन र निर्माणमा सय वर्ष लाग्‍ने जनाएका छन् ।

उक्त पत्रकार सम्मेलनमा ह्युमन स्पेसोलोजी सेन्टरले भनेको छ,'अब मानव जाती पृथ्वीमा बस्ने युगबाट चन्द्रामा र मंगल ग्रहमा बस्‍ने युगतिर लम्कदै गइरहेको छ । '

योजना सार्वजनिक भएपनि कस्तो किसिमको वातावरण र अन्य सुविधाहरु आवश्यक पर्ने भन्नेबारे अध्ययन भइसकेको छैन । कस्ता प्रविधिहरुले अन्तरिक्ष रेलमा खाना,पोशाक,बसाई र अन्य सामाजिक जीवन कस्तो हुने भन्नेबारे अध्ययनले भनिसकेको छैन ।

यस विषयमा केन्द्रीत भएर उनीहरुले अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित : श्रावण ४, २०७९ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?