ऐन बनेको दुई वर्षपछि रेडियोधर्मी पदार्थको सुरक्षा तथा संरक्षण सम्बन्धी मापदण्डको मस्यौदा तयार- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐन बनेको दुई वर्षपछि रेडियोधर्मी पदार्थको सुरक्षा तथा संरक्षण सम्बन्धी मापदण्डको मस्यौदा तयार

सिटी स्क्यान सञ्चालनका लागि रेडियोलोजी अध्ययन गरेको, रेडियोग्राफी टेक्नोलोजिस्ट, मेडिकल फिजिसिस्ट र पूर्ण वा आंशिक विकिरण संरक्षण अधिकृत हुनुपर्ने, तोकिएको भौतिक संरचनाको क्षेत्रफल, अलग्गै नियन्त्रण गर्ने कोठा, प्रतिक्षा गर्ने र रिपोर्ट दिने कोठा अलग–अलग हुनुपर्ने
गोविन्द पोखरेल

काठमाडौँ — सरकारले ‘रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन ऐन’ जारी भएको दुई वर्षपछि बल्ल रेडियोधर्मी प्रयोग सम्बन्धी मापदण्ड बनाउने तादरुकता देखाएको छ । २०७७ सालमा सरकारले ऐन जारी गरे पनि मापदण्ड निर्धारण नहुँदा रेडियो उपकरणहरुको प्रयोग, सञ्चालन, अनुगमन तथा गुणस्तर जाँच हुन सकेको छैन । मापदण्ड तयार नहुँदा नेपालमा भएका रेडियो उपकरणहरु दर्ता भएका छैनन् भने नयाँ उपकरण जडान तथा प्रयोग सम्बन्धी कठिनाई हुँदै आएको छ ।

ऐनले लाइसेन्स वा इजाजतपत्र नलिईकन कुनै पनि रेडियोधर्मी उपकरणको जडान तथा प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । नयाँ जडानका लागि अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख छ । ऐन जारी हुनुभन्दा अघिदेखि सञ्चालनमा रहेका यस्ता उपकरणहरु एक वर्षभित्रमा दर्ता गरिसक्नुपर्ने उल्लेख भएपनि मापदण्ड तयार नहुँदा दर्ता भएको छैन ।

सरकारले तोकेको मापदण्ड पूरा गरी र इजाजतपत्र पाएकाले मात्रै त्यस्ता उपकरणहरु निर्यात गर्न पाउने ऐनमा व्यवस्था भएपनि अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरलाई आधार मानेर विज्ञान मन्त्रालयले दुई वटा सिमेन्ट उद्योग र एउटा अस्पताललाई उपकरण प्रयोगको अनुमति भने दिएको छ । सिमेन्ट उद्योगमा चुनढुंगाको गुणस्तर परीक्षण गर्नका लागि गामा विकिरण प्रयोग हुन्छ ।

इजाजतपत्र नलिईकन कुनै पनि संस्थाले रेडियोधर्मी स्रोत वा सोसँग सम्बन्धित अभ्यास, क्रियाकलाप वा संयन्त्र सम्बन्धी कुनै पनि काम गरे १ लाख देखि ५ लाख रुपैयाँसम्मको जरिवाना वा कैद सजायको व्यवस्था छ ।

मेडिकल क्षेत्रमा पारमणविक विकिरणको प्रयोग थोरै मात्रामा गन्छि । यिनीहरु रेडियो ट्रेसर्सको रुपमा प्रयोग गरिन्छ । विशेष गरेर रक्तनली पठाउने, भित्री भागमा पठाउनका लाग रेडियो ट्रेसर्सको प्रयोग हुन्छ । यी रेडियो ट्रसर्सहरु शरिरको भित्री भागमा पुग्छन् र न्यूक्लियर मेडिसिन इमेजिङमा प्रयोग हुन्छ ।

रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनीकरण गर्ने विकिरणबाट पर्न सकने प्रतिकूल प्रभावबाट जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा ऐन जारी भएको विज्ञान सचिव प्रमिलादेवी बज्राचार्यले जानकारी दिइन् ।

ऐनले रेडियोधर्मी पदार्थ तथा संयन्त्र नियमनका लागि मन्त्रालय अन्तर्गत रहने गरी जनस्वास्थ्य, कानुन, भौतिकाशास्त्र, परमाणु विज्ञान र रेडियोग्राफी सम्बन्धी विज्ञहरु रहने गरी एक नियमनकारी निकायको स्थापना गर्ने उल्लेख छ । उक्त निकाय गठन नभएकाले विज्ञान मन्त्रालयले नै अहिले नियमन गर्ने,इजाजत दिइरहेको छ ।

नेपालमा रेडियो थेरापी, रेडियो डाइग्नोष्टिक/न्यूक्लियर मेडिसिन र औद्योगिक रेडियोग्राफी(इन्ड्रस्ट्रियल रेडियोलोजी)को क्षेत्रमा प्रयोग हुने रेडियो उपकरणलाई लक्षित गरेर ‘रेडियोधर्मी पदार्थको सुरक्षा तथा संरक्षण सम्बन्धी मापदण्ड’ ल्याएको हो । नेपालमा सबैभन्दा बढी रेडियोधर्मी पदार्थको उपयोग स्वास्थ्य क्षेत्रमा बढी हुने गर्छ ।

मन्त्रालयले पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाका प्रमुख डा.राजेन्द्र भण्डारीको संयोजकक्तव्तमा ११ सदस्यीय समिति मापदण्ड निर्माणका लागि गठन गरेको थियो । उक्त समितिमा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग र रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरु, वीर अस्पताल, चितवन मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा मन्त्रालयका प्राविधिक कर्मचारीहरु सदस्य थिए ।

प्रस्तावित मापदण्डमा सिटी स्क्यान मेसिन सञ्चालनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सका शास्त्रमा स्नातक तह उत्तीर्ण गरेर रेडियोलोजी विषयमा एमडीआरडी वा डीएमआरडी वा एफआरसीआर वा सो सरहको डिग्री हासिल गरेको व्यक्ति अनिवार्य हुनुपर्ने उल्लेख छ । एकजना रेडियोग्राफी टेक्नोलोजिस्ट, मेडिकल फिजिसिस्ट र पूर्ण वा आंशिक विकिरण संरक्षण अधिकृत हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, सिटी स्क्यान सञ्चालनका लागि तोकिएको भौतिक संरचनाको क्षेत्रफल, अलग्गै नियन्त्रण गर्ने कोठा, प्रतिक्षा गर्ने र रिपोर्ट दिने कोठा अलग–अलग हुनुपर्ने मापदण्डमा उल्लेख छ । यस्तै, भित्ताबाट एक्स रे, विकिरण नचुहिने हुनुपर्ने उल्लख छ । सिटी स्क्यान कोठोको वरिपरी विकिरण सर्वेक्षण आवधिक रुपमा मेडिकल फिजिसिस्ट वा विकिरण संरक्षण अधिकारीबाट गराउनुपर्ने उल्लेख छ । विकिरणको क्षेत्रमा काम गर्ने प्राविधिक कर्मचारीलाई व्यक्तिगत विकिरण निगरानी उपकरण प्रदान गरिनुपर्ने उल्लेख छ । उनीहरुको बढीमा ३ महिना भित्र जाँच गरिनुपर्ने उल्लेख छ ।

यस्तै, कोबाल्ट–६० रेडियोथेरापी जडानका लागि रेडिएसन, क्लिनिकल अंकोलोपजिस्ट, मेडिकल फिजिसिस्ट/विकिरण संरक्षण अधिकारी, रेडिएसन थेरापी टेक्निसियन अनिवार्य गरिएको छ । भित्ताबाट विकिरण नचुहिने खालको भौतिक संरचना हुनुपर्ने र मापदण्डमा उल्लेख भए बमोजिमका कोठाहरु निर्माण गर्नुपर्ने हुन्छ । कोबाल्ट–६० रेडियोथेरापी कोठाको वरिपरी विकिरण सर्वेक्षण आवधिक रुपमा गराउनुपर्ने उल्लेख छ । कोबाल्ट–६० रेडियो थेरापीको प्रयोग क्यान्सर रोगको उपचार सुरु गर्नुअघि बिरामीको क्यान्सर भएको अंगको साइज मापन गर्नका लागि हुन्छ ।

ब्राकिथेरापीका लागि पनि मापदण्ड तोकिएको छ । यो एचडीआर ब्राकिथेरापी क्यासरको उपचारका लागि (कोबाल्ट–६०,इरिडियम–१९२जस्ता रेडियोधर्मी पदार्थ)बिरामकिो शरीरको भित्रबाट दिइने पद्धति हो । यस्तै, बाह्य विकिरण पद्धतिद्वारा क्यान्सरको उपचारका लागि प्रयोग हुने लिनियर एक्सलेटरका लागि पनि मापदण्डहरु तोकिएको छ ।

नेपालमा रेडियोधर्मी पदार्थहरु कोबाल्ट–६०, लिनिर एसलेरेटर, ब्राचिथेरापी, एक्स–रे, सीटीस्क्यान/सीटी सिमुलेटर, एमआरआई, मामोग्राम, गामा क्यामेरा, पीईटी/सीटी, ब्लड इरेडिएटर प्रयोग हुने गरेको मनत्रालयकी उपसचिव शिला खतिवडाले जानकारी दिइन् । यिनको अनुमानित संख्या १५ सयको हारहारीमा छ ।

प्रकाशित : असार २३, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिका–५ पिखेलमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार बिहीबार साँझ भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकमा सोही दिशातर्फ जाँदै गरेको बा ६७ प ८४२२ नम्बरको स्कुटरले ओभरट्याक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट सख्त घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लोकबहादुर जिसीले बताए ।

दुर्घटनाबाट सख्त घाइते बस्नेतलाई भक्तपुर अस्पतालपछि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मिनी ट्रक चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जिसीले बताए ।


प्रकाशित : असार २३, २०७९ २१:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×