अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै : मन्त्री कार्की- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै : मन्त्री कार्की

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आइतबार उद्घाटन गरे । 

सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिए । उनले भने, 'आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोबल भिलेजको रुपमा परिणत भएको छ, सूचना र सञ्चार प्रविधिलाई हामीले विकास गरेर अब त्यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा अग्रसर हुनु जरुरी छ ।' सूचना र प्रविधि क्षेत्रको महत्वलाई बुझेर विदेशीएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आइसीटिभित्र मुलुकको भविष्य खोज्नुपर्ने उनको भनाइ छ ।

मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आइटीको क्षेत्रमा पनि स्वर्णिम भविष्य रहेको बताए । आइटीको क्षेत्रमा रहेको सम्भावनालाई आगामी दिनमा व्यवहारिक रुपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिए ।

विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा ९२७ पत्रपत्रिका, ३८ टेलिभिजन, २५१ रेडियो र १४ ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको संख्या ३१ हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६६२ र नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिए ।

सञ्चार सचिव बैकुण्ठ अर्यालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिष्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, संग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवद्र्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ । सोही अवसरमा सञ्चारमन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गरेका थिए ।

प्रकाशित : असार १९, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्कँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् ।

फाइल तस्बिर : रोयटर्स

परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् ।

कोभिड–१९ महामारीका कारण नेपाली विद्यार्थीहरू चीनबाट फर्केक थिए । त्यसपछि चिनियाँ सरकारले कोभिड–१९ संक्रमणलाई लिएर कडा रणनीति अपनाएपछि नेपाली विद्यार्थी अलपत्र परेका थिए ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले कूटनीति प्रक्रियामार्फत ८५० नेपाली विद्यार्थीको सूची चिनियाँ दूतावासलाई पठाएको बताइन् । ‘त्यसमा उनीहरूले पहिलो चरणमा २८१ जना लान तयार भएको हो,’ उनले भनिन्,‘त्यसपछि क्रमिक रुपमा नेपाली विद्यार्थीहरुलाई चीनमा फर्काइने छ ।’

प्रकाशित : असार १९, २०७९ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×