शिल्पकार र हुमागाईलाई गोविन्दवल्लभ पन्त 'नेफ्सा' अवार्ड- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

शिल्पकार र हुमागाईलाई गोविन्दवल्लभ पन्त 'नेफ्सा' अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रत्येक वर्ष त्रिभुवन विश्वविधालय र पूर्वाञ्चल विश्वविधालयका बि.टेक. खाद्य प्रविधिमा अध्य्यनरत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड–२०२१ दिक्षा शिल्पकार र भावना हुमागाईंलाई प्रदान गरिने भएको छ ।

गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौंकी भावना हुमागाईलाई पुरस्कार प्रदान गरिने घोषणा गरेका हुन् ।

नेपाल खाध प्रविधि विद्यार्थी संघ (नेफ्सा) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपालभरकै खाध प्रविधि अध्ययन गर्ने स्नातक तहका उत्कृष्ट विद्यार्थीमध्ये दुई जनालाई प्रत्येक वर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताए । २०६९ सालबाट सुरु गरिएको पुरस्कारको यो नवौं श्रृङखला हो ।

कोरनाका कारण पुरस्कार घोषणा गरेर पनि वितरण गर्न नसकिएको सन् २०१९ को पुरस्कारका विजेताहरुलाई पनि यो वर्षको पुरस्कार प्रदान गरिने उनले बताए । यसै वर्ष एक विशेष कार्यक्रम गरी पुरस्कार दिइनेछ ।

प्रकाशित : वैशाख २३, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

बाबुदेखि छोरासम्मका एक्ला प्रतिस्पर्धी

लक्ष्मी गौतम

पाँचथर — एक जना उम्मेदवारले एउटै पदका लागि कति पटक लड्लान् ? यहाँको फिदिम–१ मा २०५४ देखि वडाध्यक्षमा उठिरहेका ५४ वर्षीय गजाधर भट्टराईको प्रसंग आफैंमा रोचक छ । 

उनी पहिलो पटक जोसँग चुनावमा भिडे, अहिलेको स्थानीय तहमा उनै प्रतिस्पर्धीका छोरासँग भिडिरहेका छन् । भट्टराई २०५४ र २०७४ को निर्वाचनमा हर्कप्रसाद मोक्तानसँग हारेका थिए । २०७६ मा मोक्तानको निधनपछिको उपनिर्वाचनमा कांग्रेसका सुवराज थापालाई हराएर वडाध्यक्ष बने । यस पटक उनी मोक्तानकै छोरा ३७ वर्षीय सन्तोष मोक्तानसँग वडाध्यक्षकै लागि प्रतिस्पर्धामा छन् । २०५४ मा तत्कालीन फिदिम नगरोन्मुख गाविस वडाध्यक्षका लागि एमालेबाट उठेका भट्टराई राप्रपाका मोक्तानसँग ६ मतले हारेका थिए ।

वडाध्यक्षमा पराजित भएको २० वर्षपछि भट्टराईलाई एमालेले पुनः वडाध्यक्षमा उठाएको थियो । २०७६ को उपनिर्वाचनमा भट्टराई पुनः तत्कालीन वाम गठबन्धनबाट उठे । त्यो बेला कांग्र्रेसका थापालाई हराएर वडाध्यक्ष बनेका उनी यस पटक पनि सोही वडाबाट उम्मेदवार छन् भने कांग्रेसका तर्फबाट पुरानै प्रतिस्पर्धी मोक्तानका छोरा सन्तोष छन् ।

यस पटक राप्रपाको साथ लिएर एमालेबाट वडाध्यक्षमा चौथो पटक प्रत्याशी बनेका भट्टराईसँग चुनावी मैदानमा रहेका सन्तोषलाई तत्कालीन वाम गठबन्धनकै एउटा घटक माओवादी केन्द्र र एमालेबाट फुटेको जनता समाजवादी पार्टीको साथले प्रतिस्पर्धार् रोचक हुने देखिन्छ ।

‘आफ्ना समकक्षी सांसद, मन्त्री भइसके, आफू वडाभन्दा माथि उठ्न सकिएन, यस पटक मेयर दाबी गरेको थिएँ, पार्टीले वडामै उठायो, वडाबासीको सेवा गरिरहने दृढताका साथ चौथो पटक उठेको छु, के हुन्छ भन्न सकिन्न,’ भट्टराईले भने ।

उनका प्रतिस्पर्धी सन्तोष भने बाबु पुस्ताका भट्टराईलाई वडाबासीले उपनिर्वाचनबाट एक पटक अवसर दिए पनि अपेक्षाकृत काम गर्न नसकेकाले यसपाली युवाको पक्षमा निर्णय गर्ने दाबी गर्छन् । ‘बुबाका समकक्षीसँग लड्दै छु, यो उहाँसँगै मेरा लागि पनि राजनीतिक गोरेटो बनाउने अवसर हो,’ उनले भने ।

प्रकाशित : वैशाख २३, २०७९ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×