दक्षिण एसियास्तरीय पब्जी प्रतिस्पर्धा सुरु, ११ नेपाली टिम भाग लिँदै- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

दक्षिण एसियास्तरीय पब्जी प्रतिस्पर्धा सुरु, ११ नेपाली टिम भाग लिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबारबाट नेपालका उत्कृष्ट ईस्पोर्टसका खेलाडीहरुले २०२२ पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

टेन्सेन्ट गेम्सले आयोजना गरेको दक्षिण एसियामा रहेका पब्जी मोबाइलका उत्कृष्ट खेलाडीहरुले अमेरिकी डलर १५०,००० का लागि प्रतिस्पर्धा गर्ने छन् । विजेताले पीएमपीएल दक्षिण एसिया च्याम्पियनको ताज पहिरिने छ ।

पीएमपीएलले नेपाल, श्रीलंका र मंगोलियाबाट यस प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न एकपटक क्वालिफायर आयोजना गरेको थियो । यस पीएमपीएल क्वालिफायरमा भाग लिनका लागि उदाउँदै गरेका पीएमपीएल टिमका साथै २०२१ को पब्जी मोबाइल तथा पीएमपीएल २०२१ प्रतिस्पर्धामा उत्कृष्ट रहेका टिमहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

प्रतिस्पर्धात्मक खेलपछि ४ वटा टिम छनोट भएका थिए भने यसअघि भएका प्रतिस्पर्धामा गरेको प्रदर्शनका आधारमा ७ वटा टिमलाई आमन्त्रण गरिएको छ ।

यस वर्षको पीएमपीएल दक्षिण एसिया प्रतिस्पर्धामा २० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा ११ वटा नेपाली टिम रहेका छन् । दि एट्राक्स ईस्पोर्टस, डेडआइज गाइज, भाइब्स ईस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टु किल, रअ ईस्पोर्टस, हाइ भोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा ईस्पोर्टस, ७सि ईस्पोर्टस र इलिमेट्रिक्स टिमले खेलमा भाग लिँदैछन् ।

पीएमपीएल दक्षिण एसिया २९ मार्चदेखि सुरु भएर चार हप्तासम्म सञ्चालन हुने छ । हरेक साता २० टिमले साताको अन्तिममा हुने उत्कृष्ट १६ माझ हुने प्रतिस्पर्धामा आफ्नो स्थान पक्का गर्नका लागि खेल्नेछन् । चौथो हप्ताको अन्तिम प्रतियोगिता पश्चात सबै टिमले पाएको अंक गणना गरेर उत्कृष्ट टिम विजयी हुने छ ।

प्रकाशित : चैत्र १५, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

अभिनयबाट सपनाको उडान भर्दै लुनिभा

'राम्रो/गम्भीर फिल्ममा लिड भूमिका गरौं भन्ने लाग्छ। मलाई रुख/झाडीमा हिरोसँग नाच्ने हिरोइन बन्ने मन छैन।'
रीना मोक्तान

काठमाडौँ — अभिनय  कि एभियसन ? दुईमा एक रोज्नु थियो । उनले रोजिन् अभिनय । ७० हजार तलब माया मारेर 'होस्टेल' सिरियलमा अभिनय गरिन् । पारिश्रमिक पाइन् ३० हजार । एभियसन रोजेकी भए आज लुनिभा तुलाधर आकाशमा उडान भर्दै गरेकी हुन्थिन् । अहिले भने उनी अभिनयबाट सपनाको उडान भर्दैछिन् ।

कलाकार लुनिभा तुलाधर । तस्बिर : अंगद ढकाल/कान्तिपुर

रंगमञ्चका लोभलाग्दा चरित्र, सशक्त र संवेदनशील विषयमा नाटक/लघु फिल्म, डकुमेन्ट्री निर्देशन, ठूलो पर्दाका छोटो भूमिकामा उनी जमेकी छिन् । २२ वर्षको अभिनय करिअरमा लुनिभाले आफूलाई कलाका विभिन्न आयाममा पस्किसकिन् ।

'हिरोइन' बन्ने सपनाले अभिनयको यो यात्रामा उनले उकाली ओराली गरेकी हुन् । कान्तिपुर इंग्लिस हाई स्कुलमा कक्षा ६ मा पढ्दै गर्दा शिक्षकले सबै विद्यार्थीलाई आ-आफ्नो लक्ष्यबारे निबन्ध लेख्न लगाए । साथीहरूको लक्ष्य थियो - डाक्टर, इन्जिनियर, पाइलट बन्ने । लुनिभाले लेखिन्,'म माधुरी दीक्षितजस्तै हिरोइन बन्न चाहन्छु ।' शिक्षकले उनको निबन्धलाई बोर्डमै टाँसिदिए । त्यसपछि साथीहरूले 'माधुरी दीक्षित' भन्दै उनलाई जिस्काउन थाले । त्यतिबेलादेखि नै 'हिरोइन' बन्ने रहर पलाउँदै गयो, तर सौन्दर्यको परम्परागत दृष्टिकोणभित्र लुनिभा आफूलाई पाउँदिन थिइन् । छोटो कपाल, बुवाको चेकसर्ट लगाएर हिँड्दा धेरैले उनलाई मुखैमा भनिदिन्थे,'केटाजस्तो छस् कसरी बन्छस् हिरोइन ।' लुनिभा सम्झिन्छन्,'म अरुजस्तो 'राम्री' थिइनँ । म गोरी थिइनँ । म चाहिने भन्दा अग्लो थिएँ । हिरोइनको न्यारेटिभमा पर्दिन थिएँ ।'

लुनिभालाई काका र काकीले भने खुबै 'सपोर्ट' गर्नुहुन्थ्यो । ९ कक्षामा हुँदै उनले जीवनको पहिलो फोटोसुट गरिन् । काकाले नै उक्त फोटोसुट गरिदिए । विद्यालयमा हुने कार्यक्रममा लुनिभाले कहिल्यै नाच्न पाइनन् । उनी साथीहरूभन्दा अग्लो कदकी । नाच्नलाई जोडी नै नमिल्ने । त्यसैले शिक्षक उनलाई गायन समूहतिर पठाइदिन्थे । बुवा उनका संगीतकार । 'संगीतकारकी छोरीले गाउनुपर्छ' भन्दै सधैँ गायनतिर धकेलिए पनि अभिनयप्रतिको उनको चाहना हराएन ।

एसएलसी सकिनेबित्तिकै उनले 'वेलकम' कार्यक्रममा अभिनयमा एकल प्रस्तुति दिइन् । माइकको अगाडि एक्लै उभिएर के गरिन् ? के बोलिन् अहिले खासै सम्झना छैन । त्यही प्रस्तुति हेरेपछि भने शिव रिजालले उनलाई नाटक 'आरु फूलका सपना'मा लिए । शिव, उनको अंग्रेजी पढाउने शिक्षक । बबरमहल रिभिजिटेडमा उनको नाटक हेर्न रंगकर्मी सुनील पोख्रेल आइपुगेका थिए । त्यतिबेलै लुनिभाकी दिदीले सुनीललाई आफ्नो बहिनीलाई अभिनयमा रहर भएको सुनाइदिइन् । सुनीलले लुनिभालाई १२ सकाएर अभिनय सिक्न आउन सल्लाह दिए । १२ सकिनेबित्तिकै देवदास हेरिन् अनि सोझै सुनीलको घरमा पुगिन् । 'तपाईंले १२ सकाएर आउनु भन्नु भएको होइन । म आएँ,' सुनीललाई भनेको कुरा अझै उनलाई सम्झना छ ।

पोख्रेलले '१२ को नतिजा आएपछि आउनू' भनि फर्काइदिए । त्यसरी उनी गुरुकुल पुगिन् । गुरुकुल पुग्नुअघि नै खन्ना सर भन्ने पञ्जाबी शिक्षकसँग केही समय फिल्म र नाटक सिकिन् । रंगमञ्चमै अभिनय सिक्ने क्रममा उनले 'होस्टेल' सिरियलको लागि अडिसन दिइन् ।घर पुग्दा एयरहोस्टेसको जागिर उनलाई कुरेर बसेको थियो । 'अनि मैले ७० हजार तलबसहितको एयरहोस्टेसको काम छोडें, अभिनय रोजें,'त्यो क्षण सम्झँदै भनिन्,'बुवाले मलाई त्यतिबेला दुईमा एउटा रोज्न लगाउनुभयो । मैले होस्टेल रोजें । बुवा त्यतिबेलामान्नु भएको थिएन । अहिले पनि सरकारी जगिर खाओस् भन्ने चाहनुहुन्छ ।'

'होस्टेल' सिरियलपछि उनले 'पवनकली' गरिन् । धेरैले लुनिभालाई अहिले पनि पवनकलीकै रूपमा चिन्छन् । 'पवनकली'को चर्चा चुलिँदै गर्दा उनले आफ्नो 'हिरोइन' बन्ने सपना पच्छ्याउँदै सन् २००५ तिरगुजरातमा फिल्म पढ्न पुगिन् । 'मलाई त्यतिबेला अहिले नै पवनकलीलाई रोकेन भने एकता कपुरको धारावाहिक जस्तै ६ वर्ष गर्नुपर्छ भन्ने भान भयो । त्यसमाथि डेस्कमा बसेर लेख्ने स्वाभाव थिएन मेरो । काठमाडौंमा हुर्कें, त्यही कार्यक्रमकै पारिश्रमिकमा भर पर्नुपर्छ भन्ने पनि थिएन । त्यसैले गुजरात गएँ,' उनी सुनाउँछिन् ।

गुजरातमा अभिनयमा डिप्लोमा गरेर नेपाल फर्किएपछि अनुप बरालको एक्टर स्टुडियोमा आबद्ध भइन् । अनुपले गुरुकुलमा पनि पढाएका थिए । दयाहाङ राई, आशान्त शर्माको ब्याचमा परिन् । त्यहाँबाट 'चेरी अर्चड' गरिन् । त्यसपछि बज्र थिएटरमा जोडिइन्,नाटकको नौलो शैली सिक्न पाइन् । 'पवनकली' बाट चर्चामा आइसकेकी उनले त्यसपछि भने अभिनयमा शून्यबाट संघर्ष सुरु गरिन् । विज्ञापनहरू खेल्न थालिन् । शिल्पी थिएटर त्यतिबेला भर्खरै बन्दै थियो, बोर्डमा आबद्ध भइन् । शिल्पीबाटै कचहरी नाटक लिएर नेपालका ४७ जिल्ला पुगिन् ।

पर्दामा घरबेटी

लुनिभालाई फिल्ममा भने दयाहाङले ल्याएका हुन् । 'वर्ल्ड थिएटर डे'कै दिन उनलाई दयाले सोधेका रहेछन्,'मेरो अपोजिटमा फिल्म खेल्छौ ?'

'हामी नाटकको मान्छेले फिल्म खेल्ने र!,' उनी अनकनाइन् । दयाले फिल्मको स्क्रिप्ट थमाइदिए । 'छड्के'मा दयाको जोडी बनेर अभिनय गरिन् । त्यसपछि 'कर्कस'मा कलाकारहरुलाई वर्कशप दिँदै गर्दा त्यही फिल्ममा दयाको जोडी बनिन् । दयाको घरबेटीको भूमिका थियो । त्यसपछि 'नागबेली'मा फेरि दयाले फिल्मको अफर गरे। त्यसमा पनि घरबेटीकै भूमिका । लकडाउनअघि बन्ने घोषणा भएको 'के घर के डेरा'मा पनि उनको चरित्र घरबेटीकै थियो । अधिकांश फिल्ममा घरबेटीको चरित्रमा अभिनय गरेकी उनी हिजोआज भन्ने गर्छिन्,'म त काठमाडौंको छोरी, पर्दामा सबैको घरबेटी भइसकें' ।

सबैले किन घरबेटीको भूमिका अफर गर्छन् ? भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिइन्,'सायद ज्यानदार भएर धनी देख्छन् होला नि ? अर्को त मैले नै त्यस्तै किसिमका भूमिका मात्रै गर्दै आएँ कि । मेरै गल्ती हुनुपर्छ । फिल्म बनाउनेहरुले पनि मैले गरेको नाटक हेर्नुहुन्न जस्तो छ ।'

लुनिभाले 'नाइटमदर', 'कन्डक्ट अफ लाइफ'लगायतका थुप्रै नाटकमा विविधता भएको चरित्रहरुमा अभिनय गरेकी छन् । विडम्बना उनीजस्ता कुशल अभिनेत्रीहरुका लागि पर्दामा अझै सशक्त चरित्र लेखिँदैन ।'यहाँ त रमाइलै गर्नलाई फिल्म बनाएको जस्तो लाग्छ । सायद अब नयाँ फिल्ममेकरहरुले हाम्रो लागि राम्रा, सशक्त भूमिका दिनुहुन्छ होला,'उनले भनिन्,'हाम्रो नेपाली फिल्मको समस्या भनेकै कमजोर पटकथा हो । सायद अब महिलाहरूका लागि संवेदनशील र सशक्त चरित्रहरु लेखिन्छन् होला।' 'कबड्डी कबड्डी कबड्डी' र 'गरुड पुराण'मा घरबेटीबाहेकको चरित्रमा देखिएकी लुनिभा पर्दामा जस्तो भूमिकामा देखिए पनि चरित्रलाई न्याय दिने अभिनय गर्छिन् । प्रदर्शन हुन बाँकी फिल्म 'आई एम ट्वान्टी वान'मा जसिता र धीरजको आमा बनेकी छन् ।'ए मेरो हजुर ३'को भूमिकाबारे भने उनलाई सस्पेन्स खुलाउने मन छैन । उनी भन्छिन्,'मेरो चरित्र हेर्न फिल्म नै हेर्नुपर्छ ।'

हालै इलम दीक्षितको 'यस्तै हो लाइफ' सिरिजमा अभिनय गरेकी लुनिभाले अर्को अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरेकी छन् । इटालियन फिल्म 'टाइगर्स नेस्ट'मा उनले ७/८ दृश्य पाएकी छन् । 'लायन'बाट ख्याति कमाएका भारतका चर्चित बालकलाकार सनी पवार अभिनित यो फिल्ममा उनले 'केयर टेकर'को भूमिका गरेकी हुन् । अडिसन लिएका नेपालका थुप्रै चर्चित कलाकारमध्येमा उनी फिल्मका लागि छानिएकी हुन् । 'त्यो फिल्ममा केयर टेकर अलि वृद्धा खोजिरहेका रहेछन् । तर मैले अडिसन दिएपछि उनीहरुले मेरो लागि त्यो चरित्रलाई अलि वयष्क नै देखाउने निर्णय गरे,'मख्ख पर्दै सुनाइन् । लुनिभा अहिले भने 'हिमालय ड्रिम्स' डकुमेन्ट्रीको काममा व्यस्त छिन् ।

हिरोइन बन्ने सपना पूरा भयो त ? हालै एक भेटमा प्रश्न गर्दा ठट्यौली शैलीमा जवाफ दिइन् । 'अब झ्यालको पर्दा लगाउने अनि टिकटक बनाउनुपर्ला,'हिरोइनभित्रको परिभाषा बुझिसकेकी उनी भन्छिन्,'राम्रो/गम्भीर फिल्ममा लिड भूमिका गरौं भन्ने लाग्छ। मलाई रुख/झाडीमा हिरोसँग नाच्ने हिरोइन बन्ने मन छैन।'

दुर्व्यवहारको कथामा नाटक

लकडाउनपछि लुनिभाले ११ महिना लगाएर निर्देशन गरेको 'स्टप किस'भन्ने अंग्रेजी नाटक शिल्पीमा मञ्चन भयो । डायना सनद्वारा लिखित नाटकले लैंगिक दुर्व्यवहारको विषय उठाएको थियो । कोरोना महामारीका कारण नाटकले अपेक्षित दर्शक पाएन । 'अंग्रेजी नाटकमा धेरै दर्शक पनि हुँदैन । प्रोडक्सन कम्पनी वन वर्ल्ड थिएटरलाई डुबाएँ । लगभग साढे ९ लाख खर्च भएको थियो,'उनले भनिन् ।

यौनिक तथा अल्पसंख्यक समुदायभित्रको दुर्व्यवहारको मुद्दालाई सम्बन्धित लक्षित समुदायबाटै साथ नपाउँदा उनको चित्त दुखेको छ ।'क्वेयर समुदायमा पनि एकदमै सीमान्तिकृत भएको विषय हो, लेज्बियन मुद्दा । आफ्नो साथीहरूले दु:ख पाएको देखेर नै मलाई यो विषयमा बोल्नुपर्छ भन्ने लागेको थियो । तर यो समुदायबीच सक्रिय संस्थाहरूबाटै सहयोग भएन । उहाँहरू नाटक हेर्नै आउनु भएन,' उनले गुनासो पोखिन् ।

नाटक निर्देशन गरेर होस् या 'प्राइभेट इज पोलिटिकल'मा अभिनय गरेर लुनिभा दुर्व्यवहारको विषयमा आवाज उठाउने कलाकारमा आफूलाई उभ्याउँछिन् । खिसिट्युरी, दुर्व्यवहारबारे घरबाटै सिकाउनुपर्ने उनको धारणा छ । 'हामी परिवारमा गाला पड्काएर हुर्किएका हौं । स्कुलमा मास्टरले लठ्ठी लाएर हुर्काए । हामीलाई कहिल्यै पनि महिलालाई आदर गर भनेर सिकाउँदैनौँ । अन्य लैंगिक पहिचान भएकालाई घुरेर नहेर भनेर सिकाउछौं त ?,' उनले भनिन्,'मलाई पनि कुनै मास्टरले ढाड सुमसुम्याउँदा चित्त बुझ्दैन थियो तर बोल्न सक्दिन थिएँ । हामीले असहज त महसुस गरिसक्छौं तर बोल्नै सक्दैनौं । केही कुरा असहज भए पनि मैले सहनुपर्छ भन्छौं, किनभने म महिला हुँ । अब महिलाहरुलाई कसैले तिमीमाथि दुर्व्यवहार गर्छ भने त्यो तिम्रो गल्ती होइन भन्ने सिकाउनु पर्‍यो ।'

दुर्व्यवहारबारे बोल्ने महिलालाई पितृसतात्मक समाजले सधैं चुप लगाउन खोजेको उनको अनुभव छ । 'हामी मिटू मुभमेन्टमा थाकेका पनि हौं । उल्टै हामीलाई इच्छा हुन्जेल वी टू, झगडा भएपछि मिटू भनेर आरोप लगाए । मिटू मुभमेन्टमा लागेका दिदीबहिनीहरुलाई काम नै गर्न नदिने भन्नेसम्मका कुरा सुनें । उल्टै सोधियो, तँ त गतिलै थिइस् त किन फेमिनिस्ट भइस् भन्न थाले । कारणले कोही फेमिनिस्ट हुने होइन नि,' उनले सुनाइन्।

प्रकाशित : चैत्र १५, २०७८ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×