कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनुसन्धानमा केन्द्रित हुनुपर्ने नास्टले 'गीत लेखन'को सूचना प्रकाशित गरेपछि आलोचना

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले अनुसन्धानको सट्टा गीत लेखनका लागि सूचना निकालेको भन्दै प्राज्ञहरुले आपत्ति जनाएका छन् । वैज्ञानिक संस्थामा खोज तथा अनुसन्धानका काम नगरी नास्ट गीत लेखनतिर लागेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

अनुसन्धानमा केन्द्रित हुनुपर्ने नास्टले 'गीत लेखन'को सूचना प्रकाशित गरेपछि आलोचना

आइतबार गोरखापत्रमा नास्टले नेपाली भाषामा ‘नास्ट गान’ तयार गर्न सूचना निकालेपछि प्राज्ञहरुले विरोध जनाएका हुन् । ६० शब्दको हुने उक्त गान तयार गर्नेलाई नास्टले ५० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरेको छ ।

नास्टकी प्राज्ञ प्राडा. सानुदेवी जोशीले नास्ट मनोरञ्जन गर्ने संस्था नभएर अनुसन्धान गर्ने र नवप्रवर्द्धन गर्ने संस्था भएको उल्लेख गर्दै उनले यस्ता काम गर्ने बेला नभएको बताइन् ।

‘गीत, संगीत, साहित्यका लागि ललितकला प्रतिष्ठान छ । नास्टको अहिले रिसर्च गर्ने समय हो कि गीत लेख्ने बेला हो ?,’ प्राडा जोशीको प्रश्न छ । उनले नास्टलाई अहिले नै गीत आवश्यकता नभएको बताइन् ।

यस्तै, नास्टका अर्का प्राज्ञ प्राडा. पारसनाथ यादवले नास्टले प्राथमिकता अनुसन्धानमा दिनुपर्ने बताए । नास्टमा हुने काम सबै विधि, विधान र वैज्ञानिक किसिमले हुनुपर्ने उनको भनाइ थियो । अनुसन्धानमा प्राथमिकता नदिने अनि यस्ता कुराहरुमा नास्ट अल्झिन नहुने सुझाव उनले दिए ।

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेसका सिनियर साइन्टिस्ट डा. वसन्त गिरी नास्टले गर्नुपर्ने काम नदेखिएको तर यस्ता कार्यले गर्दा अन्य काम आझेलमा पर्ने बताउँछन् । नेशनल योङ एकेडेमी अफ नेपालका अध्यक्ष समेत रहेका डा. गिरी भन्छन्, ‘अहिले नास्टले गर्नुपर्ने काम देखिएका छैनन् । तर यस्ता काम नलाग्ने कार्यले अन्य काम ओझेलमा पर्छ ।’

त्रिविको व्यवहारिक विज्ञान तथ प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)का पूर्वनिर्देशक एवं प्राडा. रामेश्वर अधिकारी नास्टको प्राथमिकता गीतमा नभएर विज्ञानमा हुनुपर्ने बताए । उनी भन्छन्, ‘नास्टलाई अहिले ठूला–ठूला प्रयोगशाला आवश्यक छन् । संस्थाका लागि गीत पनि आवश्यक पर्छ । तर, अहिले प्रथमिकता गीतमा हैन, विज्ञानमा हुनुपर्छ ।’

यस्तै नस्टका सचिव डा. महेश अधिकारीले भने नास्टको आफ्नो छुट्टै गानको आवश्यकता भएको औंल्याए । उनले भने, ‘हरेक संस्थाको आफ्नो छुट्टै गान हुन्छ । नास्टमा गाउने गान छैन भन्ने भयो । आवश्यकता महसुस भएर निर्णय भएको हो ।’ नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले यो विषय प्रबद्धर्नात्मक भएकाले अन्यथा लिन नहुने प्रतिक्रिया दिए ।

तत्कालीन राजालाई खुशी पार्न सुरुवात गरिएको थियो गीत

रोनास्ट हुँदा राजालाई खुशी बनाउनका लागि ‘नास्ट गीत’ तयार पारिएको थियो । नास्टका अवकाश प्राप्त कर्मचारी प्रियदर्शन मानन्धरका अनुसार ४४/४५सालतिर नास्टको प्राज्ञसभामा राजा वीरेन्द्रको उपस्थित भएको बेला गीत गाइन्थ्यो ।

रोनास्टको कुलपति राजा हुने व्यवस्था थियो । त्यसबेला रोनास्टका कर्मचारीहरुलाई वरिष्ठ संगीतकार भक्तराज आचार्य र गायिका कोइलीदेवीले रोनास्ट गीत गाउन आफूहरुलाई सिकाउन कार्यालयमा आउने गरेको मानन्धरले बताए ।

राजतन्त्र अन्त्यसँगै रोनास्टबाट नास्ट भएपछि पुरानो समयको गीत सुहाउँदो नभएपछि नयाँ गीत तयार गर्न खोजेको नास्टले जनाएको छ । हाल नास्टको कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ ।

प्रकाशित : माघ २, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?