'सानो-स्याट १' को प्रक्षेपण सफल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सानो-स्याट १' को प्रक्षेपण सफल

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति सफल प्रक्षेपण भएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको हो ।

प्रक्षेपण भएको १ घण्टा ५ मिनेटपछि एक्जोपोर्ट-६ डिप्लोयरले सानोस्याट-१ लाई अन्तरिक्षमा छाडेको थियो । सानोस्याट-१ सँगै अमेरिकास्थित मिनि क्युब स्पेस डेभ्लोपमेन्टले बनाएको च्यालेन्जर स्याटेलाइट पनि प्रक्षेपण भएको थियो ।

ट्रान्सपोर्टर-३ स्पेस एक्सको तेस्रो राइडरसेर मिसन हो । यसमा १०५ वटा वस्तुहरु अन्तरिक्षमा छाडिएका थिए ।

सानोस्याट अन्तरिक्षमा छाडिनुअघि एक्सोपोर्ट-६ बाट ११ वटा अन्य स्याटेलाइटहरु अन्तरिक्षमा छाडिएको थियो । त्यसपछि अन्य २ दर्जनभन्दा बढी स्याटेलाइटहरु छाडिएका थिए । स्याटेलाइट अन्तरिक्ष ५४० किलोमिटरमा लगेर छाडेको ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले जानकारी दिए ।

‘सानो स्याट–१’ भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको हो । २५० ग्राम तौल भएको यो स्याटेलाइट ५ सेन्टिमिटर घनाकारको छ । खल्तीमा पनि अट्न सक्ने यो स्याटेलाइटलाई ‘पकेट क्युब स्याट’ पनि भनिन्छ ।

यो स्याटेलाइटमा नेपालको राष्ट्रिय झन्डा अंकित छ । यस्तै, दुई स्याटेलाइट निर्माणमा विभिन्न समयमा संलग्‍न भएका दुई दर्जन बढीको नाम पनि अंकित छ । यो स्याटेलाइट निर्माणमा सबैभन्दा बढी इन्जिनियरद्वय सौरभ पौडेल र जितेन थापा खटिएको उनले बताए ।

डिप्लोयरभित्र रातो घेरामा रहेको सानो–स्याट–१ ।

अन्तरिक्षमा हुँदा यो फुच्चे स्याटेलाइटले ७ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीलाई हरेक ९० मिनेटमा एक फन्को लगाउने प्रजापतिले बताए ।

सानो स्याटको आयु २ वर्षको हुनेछ । यसले पृथ्वीको कक्षमा हुने गामा रेडिएसनको मात्रा नाप्ने र दोस्रो सर्ट म्यासेज रिले गर्ने काम गर्नेछ ।

फुच्चे स्याटेलाइटको ग्राउन्ड स्टेसन भक्तपुरको सूर्यविनायकमा छ । ओरियन स्पेसले काठमाडौं विश्वविद्यालयमा ग्राउन्ड स्टेसन निर्माण गर्ने तयारी गरेको छ । यो स्याटेलाइटलाई नास्टको ग्राउन्ड स्टेसनबाट पनि मोनिटरिङ गर्न सकिनेछ ।

स्याटेलाइटको इन्जिनियरिङ मोड्युल नेपालमै तयार भएपछि परीक्षणका लागि स्पेन पठाइएको थियो । स्पेनमा उक्त मोड्युलले अन्तरिक्षमा काम गर्छ/गर्दैन भनेर कृत्रिम अन्तरिक्ष वातावरणमा परीक्षण गरिएको थियो ।

यो फुच्चे स्याटेलाइटलाई अन्तरिक्षसम्म पुर्‍याउनका लागि ओरियन स्पेसको करिब ४० लाख रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित : पुस २९, २०७८ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्

रेलवे कर्मचारीलाई तालिम सुरु

कान्तिपुर संवाददाता

जनकपुर — लामो समयपछि जयनगर–कुर्था रुटमा रेल सञ्चालन गर्ने तयारीमा रहेको नेपाल रेलवे कम्पनीले कर्मचारी भर्ना गर्दै प्राविधिक तालिम दिन थालेको छ । जनकपुरमा बुधबारदेखि सुरु भएको तालिमलाई भने रेलवेका पूर्वकर्मचारीले भाँड्न खोजेका थिए । नेपाल रेलवे कम्पनीले झन्डै ८० लाख खर्चेर तालिम दिएका यसअघिका कर्मचारीको विरोधबीच तालिम दिन थालिएको हो ।

रेलवेका महाप्रबन्धक नीरञ्जन झाले तोक आदेशमा नियुक्त गरेका ५५ जना कर्मचारीलाई जनकपुरको मत्स्य विकास तालिम केन्द्रमा प्राविधिक तालिम दिन सुरु गरिएको छ । यसअघिका महाप्रबन्धक गुरु भट्टराईले यसैगरी तोक आदेशमा नियुक्त गरेका झन्डै दुई सय कर्मचारीमध्ये ६० जनालाई भारतीय कोंकण रेलवे कर्पोरेसनका प्राविधिकले गत वैशाखमा तालिम दिएका थिए । ती कर्मचारीको समेत हाजिर रोक्का गरी नयाँ नियुक्त गरिएका ५५ जना कर्मचारीलाई फेरि तालिम दिन थालिएको हो ।

मत्स्य विकास तालिम केन्द्रमा तालिम सुरु भएलगत्तै रेलवेका पुराना कर्मचारीले मूल ढोकाअगाडि नाराबाजी गरेका थिए । भट्टराईको पालामा नियुक्ति पाएर तालिमसमेत लिइसकेका कर्मचारीलाई पाखा लगाई नयाँ नियुक्ति गरेर आफूहरूमाथि अन्याय गरेको उनीहरूको आरोप छ ।


प्रकाशित : पुस २९, २०७८ २२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×