चितवनमा जलपक्षी गणना सुरु- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा जलपक्षी गणना सुरु

रासस

चितवन — चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने बताइएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गर्ने गरिएको छ । 

जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार बिहीबार बीस हजारी ताल र आसपासका क्षेत्रमा गणना भइरहेको छ ।

बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्रमा बिहीबार १९ जना विज्ञले गणना गरिरहेको उनले जानकारी दिए । गणकहरूले बुधबार लोथरखोलाबाट कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरेका थिए ।

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार शुक्रबार छुटपुटका ठाउँमा र पश्चिम चितवनमा गणना गरिँदै छ । राप्ती नदीको घठगाइबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।

वर्ड एजुकेसन सोसाइटी, नेपाल पक्षीविद् संघ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भइरहेको छ । पहिलो दिन ४२ जना गणकले गणना गरेका थिए ।

चौधरीले बाइनाकुलार क्यामेरा, जीपीएस, साउन्ड रेकर्डरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताए । गतवर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

नेपालमा ठूलो सङ्ख्यामा चीनबाट जलपक्षी आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउने गरेका छन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले बताए ।

नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चराको गणना गर्ने गरिन्छ । यस गणनामा फोटोग्राफरको पनि सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।

प्रकाशित : पुस २२, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्

बहुभाषिक कवि गोष्ठीमा पाँच कविता उत्कृष्ट

कान्तिपुर संवाददाता

सुनसरी — धरान उत्सवको अवसरमा धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविका कविताले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । 

मातृभाषा र नेपाली भाषामा सुनाउनुपर्ने प्रावधान रहेको उक्त गोष्ठीमा मुन्धुम साहित्यकार प्रदीप मेन्याङ्बोको लिम्बु भाषाको ‘माङ्गेना’, भोजराज श्रेष्ठको नेवारी भाषाको ‘छेपारे प्रवृत्ति’ प्रर्मिला मुकारुङको वान्तवा भाषाको ‘गाउँमा अचेल’, सेम्माङ याक्खाको याक्खा भाषाको ‘समावेशी गीतहरू’, इन्दु योञ्जनको तामाङ भाषाको ‘बहुभाषिक सुन्दरता’ कविता उत्कृष्ट ठहरिएको थियो ।

गोष्ठीमा विभिन्न ११ जातिको भाषामा ३० कविहरूले आफ्नो मातृभाषा र नेपाली भाषामा कविता सुनाएका थिए । कवि तथा साहित्यकार वम देवान, उपप्राध्यापक डा महानन्द तिम्सिनालगायतको निर्णाक टोलीले उत्कृष्ट घोषित गरेका कविताका सर्जकलाई जनही नगद ७ हजार ५ सयका दरले पुरस्कृत गरिएको थियो ।

प्रकाशित : पुस २२, २०७८ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×