नेपाली वैज्ञानिक अधिकारीलाई अमेरिकन जिओफिजिकल युनियनको अर्ली करिअर अवार्ड- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली वैज्ञानिक अधिकारीलाई अमेरिकन जिओफिजिकल युनियनको अर्ली करिअर अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली युवा वैज्ञानिक सुरेन्द्र अधिकारीलाई अमेरिकन जिओफिजिकल युनियन(एजीयू)ले यस वर्षको अर्ली करिअर अवार्ड प्रदान गरेको छ । लमजुङ राइनासका अधिकारी नासाको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याब्रोटरीमा कार्यरत छन् ।

उनले हिमनदी र जोओडेसिस्ट (पृथ्वीको गुरुत्वाकर्षण, आकार र गति)को बारेमा अध्ययन गर्दै आएका छन् । नासाले पृथ्वी स्थल र समुद्री सतहबीच हुने अन्तर्क्रिया र हिमनदीको विषयमा अधिकारीले गर्दै आएको अनुसन्धान प्रभावकारी रहेको बताएको छ ।

एजीयूले हरेक वर्ष विभिन्‍न शीर्षकमा अवार्डका लागि मनोनयन माग गर्ने गर्छ । 'आफ्नो क्षेत्रमा काम गर्न संघसंस्था व्यक्तिहरुले पुरस्कारको लागि सिफारिस गर्ने गर्छन् । त्यस विषयमा छनोट कमिटीले निर्णय गर्छ,' अधिकारीले कान्तिपुरसँग भने, 'यो संसारको ठूलो वैज्ञानिक संस्थामध्येमा पर्छ । अवार्डले यस क्षेत्रमा ठूलो महत्व छ ।' विद्यावारिधी गरेको १० वर्ष नपुगेको र ४० वर्ष नकाटेको युवा वैज्ञानिकहरुलाई एजीयूले यो अवार्ड प्रदान गर्ने गर्छ ।

१ सय २ वर्षअघि स्थापना भएको यो संस्थामा जिओफिजिक्सका साथै पृथ्वी र अन्तरीक्ष विज्ञानको धेरै क्षेत्रका वैज्ञानिकहरुलाई समेट्छ । यसमा संसारभरका ६२ हजार वैज्ञानिक सदस्य रहेका छन् । 'जारी सम्मेलनमै संसारभरका २५ हजार भन्दा बढी वैज्ञानिक सहभागी छन्,' अधिकारीले भने ।

३८ वर्षका अधिकारीको २०७३ सालमा खोजपछि विश्वभर चर्चा भएको थियो । एरिक आइविंससँग मिलेर अधिकारीले पृथ्वीको उत्तरी ध्रुवले ठाउँ परिवर्तन गरिरहने कारण पत्ता लगाएका थिए । सन् १८९९ देखि नै वैज्ञानिकहरुले ध्रुव र त्यसका चाललाई स्पष्टसँग मापन गर्दै आएका थिए । यो एक दशकमा ध्रुव कहिले पूर्व र कहिले पश्चिममा ढल्कँदै आएको छ। एक प्रकारले भन्दा घडीको पेण्डुलम जस्तै यताउति भइरहेको छ। तर एक दशकको समयमा उत्तरी ध्रुव पूर्व र पश्चिमतर्फ सर्ने गरेको भएपनि त्यो किन र कसरी हुन्छ भन्ने विषय रहस्यमै थियो ।

अधिकारीको नेतृत्वको टोलीको अनुसन्धानले सुल्झाएको थियो। जलवायु परिवर्तनको कारण तीव्र रुपमा पग्लिदै गएको उत्तर र दक्षिण ध्रुवमा रहेको हिउँ, सुक्दै गएका क्यास्पियन सी र दक्षिण एसियामा गहिरिदो खडेरी समस्या उत्तरी ध्रुव पूर्वतर्फ सर्नुको मुख्य कारण हो । भूमध्ये रेखाबाट ३० देखि ६० डिग्री अक्षांश क्षेत्रमा तौलमा आउने परिवर्तनले ध्रुवका दिशा र गतिमा हुने परिवर्तनले सबैभन्दा बढी प्रभावित गरेको उनको अनुसन्धानको निष्कर्ष थियो ।

यस भूभागमा ठूलो बाँध बनाएर पानी जम्मा गर्ने हो भने केही न केही परिणाममा त्यसले पृथ्वीका गतिलाई फरक पार्छ भन्ने अध्ययनको निष्कर्ष थियो । लमजुङ, काठमाडौँ, धरान, बेल्जियम, क्यानडा हुँदै अमेरिका पुगेका अधिकारीले मंगलग्रह र बृहस्पतिको उपग्रह युरोपाको अनुसन्धानमा पनि संलग्न रहे । त्यसैगरी पृथ्वीको परिक्रमा बारेमा समेत अध्ययन गरेका छन् । अधिकारीको मुख्य अनुसन्धानको विषय चाहिँ भार एक स्थानबाट अर्कोमा सर्दा त्यसले ल्याउने परिवर्तन कस्तो हुन्छ भन्ने हो ।

प्रकाशित : मंसिर २९, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्

उपसभापतिको मतगणना : १३०० मत गन्दा खड्का र गुरुङको अग्रता 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना पार्टी केन्द्रीय कार्यालयमा साँझ ६:१५ बजेदेखि सुरु भएको हो ।

राति केहीबेर अघिसम्म एक हजार ३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । मतगणना तीन स्थानमा गरिएको छ ।

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

...............

कांग्रेस उपसभापति पदको मतगणना भइरहेको छ । १२ सय मत गणना हुँदा धनराज गुरुङ सबैभन्दा अघि छन् । उनले ५४३ मत पाएका छन् ।

पूर्णबहादुर खड्काले ५०१, विजयकुमार गच्छदारले ४५४, चन्द्र भण्डारीले ४७२, सुजाता कोइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत पाएका छन् ।

जम्मा ४ हजार ६ सय ७९ मत खसेको छ ।

गुरुङ र भण्डारी शेखर कोइराला प्यानलमा उम्मेदवार हुन् भने खड्का र गच्छदार शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् । त्यस्तै, कोइराला प्रकाशमान सिंह र शाह विमलेन्द्र निधि प्यानलका उम्मेदवार हुन् । अर्का प्रत्यासी आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७८ २०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×