प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ — विश्वव्यापी रुपान्तरणका सवालमा हिमालय जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको आयोजना हुँदैछ । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले आयोजना गर्ने यो सम्मेलन भर्चुअल माध्यमबाट मंसिर १३ देखि सुरु हुने छ ।

उक्त सम्मेलनमा नेपाललगायत स्वीजरल्याण्ड, जर्मनी, अमेरिका, फ्रान्स, चीन, क्यानाडालगायतका देशका जीव वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलनमा खास गरेर प्राणी विज्ञानका क्षेत्रमा कार्य गर्ने वैज्ञानिक, प्राध्यापक, अनुसन्धाता, विद्यार्थी र सरकारी स्तरमा रहेका नीति निर्मातालाई समेत एकै छानामुनि एकीकृत गरी प्राणी विज्ञानमा भएका उपलब्धि र यसले मानव समाजलाई दिएको योगदानको बहस गरिने आयोजक संस्था प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक तेजबहादुर थापाले जानकारी दिए ।

जैविक विविधताका विविध आयाम, पारिस्थितिक प्रणालीको योगदान, जैविक विविधता संरक्षण नीति एवं अन्य प्रयासहरु, सबै जीवहरुको साझा बासोबास र स्वास्थ्यको सवाल, विश्वको प्रकृतिमा आएको परिवर्तन र यसको प्राकृतिक समाधान, प्राणी विज्ञान र यसको उपदेयिताजस्ता विषयवस्तु केन्द्रित कार्यपत्रहरु सम्मेलनमा प्रस्तुत हुने प्राध्यापक थापाले बताए ।

हिमालयन जैविक विविधता विश्वमा नै अनौठो र महत्वपूर्ण भएको हिसाबले यसलाई उजागर गर्न र प्राणी विज्ञानको महत्व दर्शाउन यस वर्षको सम्मेलनले जोड दिएको छ । हाल भइरहेका प्राकृतिक तथा मानवसिर्जित विविध गतिविधिले हिमालय क्षेत्र र त्यहाँको जैविक विविधतामा प्रतिकूल असर परिरहेको हुनाले विश्वको ध्यान आकर्षण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।

प्राणी विज्ञानलाई मध्यनजर गरी नेपालमा आयोजना गरिएको यो दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक भेला हो । गत वर्षको पहिलो आयोजनालाई प्राणीशास्त्र केन्द्रीय विभागले निरन्तरता दिइरहेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?