स्कुले विद्यार्थीले सुरु गरे नेपाली भू-उपग्रह- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

स्कुले विद्यार्थीले सुरु गरे नेपाली भू-उपग्रह

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेस्थित माध्यमिक तहमा अध्ययनरत ९ जना विद्यार्थीले भू–उपग्रह निर्माण सुरु गरेका छन् । जिल्लास्थित काठमाडौं यूनिभर्सिटी हाइस्कुलका ६ जना, आजाद मावि, चैतन्य मावि र धुलिखेलस्थित सञ्जीवनी नमूना माविका १/१ जना विद्यार्थी भू–उपग्रह निर्माणमा संलग्न छन् ।

विद्यालयस्तरका विद्यार्थीबाट गरिएको यो विश्वकै पहिलो परियोजना भएको दाबी गरिएको छ । नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), अन्तरीक्ष प्रतिष्ठान नेपाल र काठमाडौं यूनिभर्सिटी हाइ स्कुलको साझेदारीमा विद्यालय भू–उपग्रह नक्षत्र परियोजना सुरु भएको प्रमुख अनुसन्धानकर्ता तथा नेपाली वैज्ञानिक आभाष मास्केले जानकारी दिए ।

‘यो परियोजना थाइल्याण्डको आर्थिक विकासको लागि प्राविधिक संस्था (मिनी बर्डस्) को एउटा भाग हो,’ मास्केले भने, ‘यस अन्तर्गत थाइल्याण्डले ४ वटा र नेपालले एउटा भू–उपग्रह निर्माण गर्नेछन् ।’ माध्यमिक तहका विद्यार्थीहरू जिज्ञासु, प्रविधियुक्तसमेत हुने भएकोले परियोजनामा उनीहरूलाई संलग्न गराएको मास्केले जानकारी दिए ।

परियोजनाको अवधि २ वर्षको छ । मास्केका अनुसार डाँफे अन्तरीक्ष लक्ष्य अन्तर्गत प्रशिक्षित ६ जना विद्यार्थीको समूहले उनीहरूलाई प्रशीक्षण र सहजीकरण गर्नेछन् । परियोजानामा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र युनेस्कोको पनि सहयोग छ ।

काठमाडौं यूनिभर्सिटी हाइस्कुलमा स्थापना गरिएको अन्तरीक्ष प्रणाली प्रयोगशालामा सोही विद्यालयका कक्षा ११ मा अध्ययनरत विज्ञान संकायका श्रेया प्रधान श्रेष्ठ, समृद्धि शर्मा, सुशान्त ढकाल, रजिन रञ्जित, सिद्धार्थ कर्माचार्य, सुभेष गुरुङ, चैतन्य माध्यमिक विद्यालयका संगीता मैनाली, सञ्जीवनी नमूना माविका श्रेया तामाङ र आजाद माविका कान्छाराम स्याङतानले बन्द प्रशीक्षण लिइरहेका छन् ।

जनार्दन सिलवाल, देवराज पन्त, सागर कोइराला, प्रजन श्रेष्ठ, सिरस सैंजु, विकल्प ढुंगानाले उनीहरूलाई प्रशीक्षण र सहजीकरण गरिरहेका छन् । बन्द प्रशीक्षण पुसको दोस्रो सातासम्म चल्ने बताइएको छ ।

मास्केका अनुसार २ वर्षको अवधिमा तयार गरेपछि पृथ्वीबाट ४ सय किलोमिटर पृथ्वीको कक्षमा परिक्रमा गराइनेछ । नेपाली वैज्ञानिक मास्के सम्मिलित नेपाली पहिलो भू–उपग्रह नेपाली स्याट–वान पनि सफल प्रक्षेपण गरिसकेको छ ।

नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले नेपालीले नै भू–उपग्रह निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गर्न विभिन्न संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले नेपालमा भू–उपग्रह बन्नु खुसीको कुरा भएको भन्दै यसले विकासको चरण प्रतिविम्व गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका स्कुल अफ मेडिकल साइन्सेसका डीन डा. राजेन्द्रप्रसाद कोजूले प्रविधिको क्षेत्रमा धेरै विकास भएको भन्दै खुसी व्यक्त गरे । परियोजनामा सहभागी विद्यार्थीहरूले आफूहरूले सुनौलो अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : मंसिर १, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ : दाहाल

रासस

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, 'सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।' 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रममा सहभागी हुन आएको अध्यक्ष दाहालले जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

उनले भने, 'आशा गरौं, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं ।'

उनले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताए । सरकारलाई सहयोग गर्न गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए ।

प्रकाशित : मंसिर १, २०७८ १५:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×