प्राध्यापक झा ट्वासको ‘फेलो’ चयन

४६ वर्षदेखि प्राध्यापनरत उनी वनस्पति र पर्यावरणको अनुसन्धानमा क्रियाशील छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका प्राध्यापक इमिरेट्स डा. पीके झा ‘द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास)’ को ‘फेलो’ (सदस्य) चयन भएका छन् ।

प्राध्यापक झा ट्वासको ‘फेलो’ चयन

वनस्पति र बोट–बिरुवाको अध्ययन–अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई ट्वासको १–४ नोभेम्बरमा सम्पन्न १५ औं महासभाले फेलो चयन गरेको हो । ट्वास सन् १९८३ मा पाकिस्तानका भौतिकशास्त्री एवं नोबेल पुरस्कार विजेता अब्दुस सलामको संयोजकत्वमा स्थापना भएको एक अन्तर्राष्ट्रिय संस्था हो । स्थापना कालमा ९ नोबेल पुरस्कार विजेतासहित ४२ जना फेलो रहेको ट्वासमा हाल संसारका सय वटा मुलुकका नामी वैज्ञानिक र इन्जिनियरहरू आबद्ध छन् ।

यसले विकासोन्मुख मुलुकहरूमा वैज्ञानिक अनुसन्धान, युवा वैज्ञानिकहरूको प्रवद्र्धन, प्रविधि र नवप्रवर्तनमा सहयोग गर्दै आएको छ । बर्सेनि यसले ६ सयभन्दा बढीलाई विद्यावारिधि र ‘पोस्टडक’ अध्ययनका लागि अनुसन्धान वृत्ति उपलब्ध गराउँदै आएको छ । विभिन्न अनुसन्धान वृत्ति र पुरस्कारसमेत प्रदान गर्दै आएको छ । युनेस्कोले ट्वासलाई एउटा वैज्ञानिक इकाईका रूपमा मान्यता दिँदै सञ्चालन खर्च व्यहोर्दै आएको छ भने इटाली सरकारले पनि यसलाई बजेट उपलब्ध गराउँदै आएको छ । ट्वासको फेलोहरू यसका साधारण सदस्य जस्तै मानिन्छन्, जसको चयन अन्य ट्वास फेलोहरूले क्षेत्रगत योगदानका आधारमा गर्छन् ।

प्राध्यापक झा बोटबिरुवा, वनस्पति–पानी सम्बन्ध, बीउबिजनको अनुसन्धान, पर्यावरण, जुडिबुटी, जलवायु परिवर्तन र असर, जैविक विविधता, मिचाहा झारलगायतको क्षेत्रमा विगत लामो समयदेखि अनुसन्धानरत छन् । हालसम्म ११ जना विद्यार्थीलाई पीएचडी गराएका प्राध्यापक झाका २ सय ५० भन्दा बढी अनुसन्धानात्मक आलेखहरू प्रकाशित छन् । ४६ वर्षदेखि प्राध्यापनरत उनी नास्टका प्राज्ञसमेत हुन् । ट्वासले फेलो चयन गरेकामा खुसी देखिएका उनले जिम्मेवारी थपिएको प्रतिक्रिया दिए ।

उनीसहित ३१ मुलुकबाट ५८ जना वैज्ञानिक/अनुसन्धानकर्ताहरूलाई ट्वासले फेलो चयन गरेको हो । थपिएकासँगै ट्वासमा फेलो संख्या १ हजार ३ सय ४३ पुगेको छ । ट्वासका फेलोहरूले वार्षिक सभामा सहभागिता जनाउने, अनुसन्धानात्मक क्षेत्रमा सहयोग गर्ने, सम्बन्धित विषयमा विज्ञको राय प्रदान गर्ने जस्ता कार्यहरू गर्छन् । सम्बन्धित क्षेत्रमा गरेको योगदानका आधारमा चयन हुने भएकाले एक पटक ट्वास फेलो चयन भएपछि त्यो आजीवन मान्यता रहन्छ ।

ट्वासले विज्ञानका विभिन्न १० विधामा फेलो चयन गर्दै आएको छ । झालाई बायोलोजिक सिस्टम्स् एन्ड अर्गानिज्म्सन्तर्गतको विधामा छनोट गरिएको हो । हालसम्म ट्वासमा नेपालबाट प्रा.डा. बिन्दु लोहनी, प्रा.डा. विशाल उप्रेती, प्राध्यापक इमिरेट्स डा. रामप्रसाद चौधरी चयन भएका छन् । प्रा.डा. लोहनी एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष हुन् भने उप्रेती त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका पूर्वडिन हुन् । भूगर्भविद्समेत रहेका उप्रेती हाल ट्वासको काउन्सिल मेम्बरसमेत छन् । प्रा.डा. चौधरी भने वनस्पतिविद् हुन् ।

प्रकाशित : कार्तिक २४, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?