फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

कान्तिपुर संवाददाता

काठमाडौँ — फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । 

सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।

मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ । कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेका छन् । जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई मेटाभर्सले विस्थापित गर्ने बताइएको छ । बीबीसीका अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ । त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण(हेडसेट) प्रयोग गरिनेछ ।

अहिले भर्चुअल रियालिटी प्राय: गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ । मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित : कार्तिक १२, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

‘इजलास अवरुद्ध गर्ने त छँदै छ, सर्वोच्चमा प्रधानन्यायाधीशको प्रवेश रोक्ने अवस्थासमेत आउन सक्छ’
तुफान न्यौपाने

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर शुक्रबार जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन । ‘उहाँले आज–भोलिसम्ममा राजीनामा दिनुहोला भन्ने हाम्रो अपेक्षा थियो तर त्यसो गर्नुभएन । आफ्नै अडानमा रहनुभयो । अब बैठक बसेर हामीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

राजीनामा दिन्न, संसदीय विधि सामना गर्न तयार छु : प्रधान्यायाधीश जबरा

प्रधानन्यायाधीश जबराले कार्यकारीसँग संवैधानिक निकाय र मन्त्रिपरिषद्मा भाग लिएको, आफ्नो स्वार्थ जोडिएका मुद्दाको सुनुवाइ अनिश्चितकालसम्म स्थगित गराएको, न्यायपालिकामा भएका विकृति विसंगति सुधार गर्ने कार्यमा आफैं बाधक बनेको, पेसी सूची प्रकाशन र इजलास तोक्ने विषयलाई वैज्ञानिक बनाउन अनुसन्धान समितिले दिएको प्रतिवेदन लत्याएको जस्ता कारणले अहिले समग्र न्यायिक क्षेत्रले उनको राजीनामा माग गरिरहेको छ ।

पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, संवैधानिक कानुन व्यवसायी मञ्चजस्ता संस्थाहरूले जबराको नेतृत्वमा न्यायपालिकाको सुधार सम्भव नरहेको भन्दै उनले नेतृत्व छाड्न भनिसकेका छन् ।

सर्वोच्चका बहालवाला २० मध्ये १९ न्यायाधीश जबराविरुद्ध उभिएका छन् । सर्वोच्च अदालतमा जबरा एक्लै परेका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौड्याल प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको बाटो नरोजेका कारण आफूहरू बाध्य भएर अदालतका कामकारबाही रोक्नुपर्ने अवस्थामा पुगेको बताए ।

‘हामीले अन्तिममा उच्च र जिल्ला अदालतमा पनि आन्दोलन गर्ने कुरा गरेका छौं तर अहिलेका लागि भने ती अदालतहरूमा कामकारबाही जारी रहन्छ, सर्वोच्च अदालतका कामकारबाही भने बाध्यात्मक रूपमा रोक्नुपर्ने हुन्छ, अहिले हामी बहसमा गएका छैनौं, यसलाई हामी थप सशक्त बनाउने छौं,’ महासचिव पौड्यालले भने, ‘उहाँ हामीलाई कठोर कदम चाल्न बाध्य पार्दै हुनुहुन्छ । इजलास अवरुद्ध गर्ने त छँदै छ, सर्वोच्चमा प्रधानन्यायाधीश जबराको प्रवेश रोक्ने अवस्थासमेत आउन सक्छ । त्यो परिस्थितिसम्म नपुगौं, नआओस् भन्ने चाहन्छौं । त्यसका लागि उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

प्रकाशित : कार्तिक १२, २०७८ ०६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×