कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'मोबाइल चलाउन पोख्त बच्चालाई सिकाए क्युब स्याटेलाइट बनाउन सक्छन्' [भिडियो]

गोविन्द पोखरेल

काठमाडौँ — बर्डस्–३ मिसन अन्तर्गत सन् २०१९ को अप्रिलमा नेपाली झण्डा अंकित नेपाली–स्याट–१ अन्तरिक्षमा प्रक्षेपण भयो । त्यसको दुई महिनापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट पृथ्वीको तल्लो कक्षमा नेपाली भूउपग्रहसहित श्रीलंकाको राभाना–१ र जापनाका इगिसु अन्तरिक्षमा पुग्यो ।

'मोबाइल चलाउन पोख्त बच्चालाई सिकाए क्युब स्याटेलाइट बनाउन सक्छन्' [भिडियो]

विगत दुई वर्षदेखि अन्तरिक्षमा नेपाली झन्डा अंकित उक्त भूउपग्रहले विचरण गरिरहेको छ । यही अक्टोबरमा भूउपग्रहको आयु समाप्त हुँदैछ । नेपाली भूउपग्रह अन्तरिक्ष प्रवेश गरेसँगै नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गरेको चर्चा भयो । उक्त मिसनका प्रमुख हुन्– ३१ वर्षीय आभाष मास्के । मास्केसँगै नास्टका प्राविधिक हरिराम श्रेष्ठले नेपाली–स्याट–१ को निर्माण गरेका हुन् ।

मास्केले स्नातक हुँदै विद्यावारिधिसम्मको अध्ययन पूरा गरेर स्वदेश फर्किएको यो नोभेम्बरमा एक वर्ष हुँदैछ । सञ्चारमाध्यमसँग कमै मात्र खुल्न रुचाउने मास्केलाई नास्टको दोस्रो स्याटेलाइट मिसन ‘नेपाली–स्याट–२–पदयात्री’को जिम्मेवारी दिएको छ । हाल उनी यसैमा सक्रिय छन् ।

०००

बर्डस– १ मा बंगलादेश, २ मा भुटानले नानो स्याटेलाइट निर्माण गरेर सन् २०१९ अघि नै अन्तरिक्षमा पुर्‍याएका थिए । नेपालले भने एउटा ‘क्यूब स्याट’ पनि अन्तरिक्षमा पुर्‍याएको थिएन । जापानको क्युटेक विश्वविद्यालयमा रहेका मास्केका प्रोफेसरको सहयोगमा बर्डस्–३ कार्यक्रममा नेपाल सामेल भएको थियो ।

सन् २०१५ को विनाशकारी भूकम्पका बेला अभाव महसुस गरिएको एरियल फोटोग्राफी र टेलिकम्युनिकेसनलाई नेपाली स्याट–१ को मिसनमा राखिएको थियो । त्यही भएर नेपाली स्याट–१ मा यी विषय सम्बन्धी अनुसन्धानात्मक कार्य समेटियो । हालसम्म नेपाली स्याट–१ ले २ वर्षमा डेढ सय वटा फोटोहरू खिचेको मास्के बताउँछन् ।

मास्के १ यू क्युब स्याट अन्तरिक्षमा पुग्नुमा सबैको मिहिनेतले सम्भव भएको बताउँछन् । उनी भन्छन्, ‘मेरो मात्रै मिहिनेत हैन, बर्डस्–३ लाई सपोर्ट गर्ने बर्डस्–१ पनि थियो । यो परियोजनालाई सहयोग गर्ने धेरैजना हुनुहुन्थ्यो । उहाँहरू सबैको सहयोगले सम्भव भयो । म र हरिराम दाई फ्रन्टलाइनमा मात्रै खटिएका हौं ।’

०००

स्याटेलाइट विधालाई मास्के ‘एक्स्ट्रिम फर्म इन्जिनियरिङ’ भन्न रुचाउँछन् । स्याटेलाइट बनाउन सक्नेले मेकानिकल, इलेक्ट्रोनिक्स, प्रोगामिङ पनि सिक्छन् । अन्य उपकरण बिग्रियो भने तत्कालै बनाउन सकिन्छ । अन्तरिक्षमा एकपटक स्याटेलाइट छाडेपछि रिपेयर गर्न सम्भव हुँदैन । त्यही भएर यसमा ‘ट्रिपल टी’को नियम लागू हुन्छ । ट्रिपल टी अर्थात् टेस्ट–टेस्ट–टेस्ट । मास्के भन्छन्, ‘स्याटेलाइट बनाउँदा अधिकांश समय त परीक्षणमै जान्छ । ७५ प्रतिशत काम परीक्षण नै हुन्छ ।’

अन्तरिक्षमा छाडिने स्याटेलाइटलाई कृत्रिम वातावरणमा परीक्षण गर्नुपर्छ । रकेटको चाप थेग्ने खालको वातावरणदेखि हावा नभएको भ्याकुम स्पेसमा पनि यसको परीक्षण गर्नुपर्छ ।

कुनैपनि वस्तु अन्तरिक्षको कक्षमा छ र कुनै माध्यमबाट केही कुरा पठाउन र पाउन सकिन्छ भने त्यो स्याटेलाइट हो । स्याटेलाइटले पृथ्वीको वरीपरी फन्को लगाउँछ । यसको मुख्य उद्देश्य कम्युनिकेसन र रिमोट सेन्सिङमा बढी केन्द्रीत भएको मास्के बताउँछन् । कम्युनिकेसन सूचना तथा सञ्चारसँग सम्बन्धित छ भने रिमोट सेन्सिङ तस्बिरका लागि । नेपाली स्याट–१ कम्पिलकेटेडभन्दा पनि सहज सिस्टम भएको उनी बताउँछन् ।

०००

नेपालमा प्राज्ञिक र वैज्ञानिक क्षेत्रमा काम गर्नेहरूका लागि राम्रो वातावरण अझै निर्माण हुन सकेको छैन । वैज्ञानिक र अनुसन्धानकर्तालाई भन्दा ‘भाइरल म्यान’हरू बढी विश्वास गर्ने जमात छ । प्राज्ञिक र वैज्ञानिक क्षेत्रका विषयहरूलाई बहसमा ल्याइँदैन । विदेशमा विद्यावारिधी गरेका नेपाली अनुसन्धानकर्ता हत्तपत्त नेपाल आउन नखोज्नुको कारण पनि यही हो ।

मास्केले अध्ययनका क्रममा १० वर्ष विदेशमा बिताएका छन् । स्वदेशमा केही गर्छु भनेर फर्किएका मास्के नेपालको वातावरणमा काम गर्न गार्‍हो हुने बताउँछन् । उनी भन्छन्, ‘यहाँ युवाहरू लगनशील भएर काम गर्छन् । तर, सामान्य कुराहरूमा पनि समस्या निकालिदिने गर्दा हामीलाई एड्जसमेन्टमा केही गार्‍हो हुन्छ ।’

उसो त उनलाई ‘रिर्भस कल्चर’ले पनि असर गरेको छ । बाहिर हुँदा निर्धारित समयमा तोकिएको काम त्यही बेला सुरु हुन्छ । तर यहाँ भने घन्टौंपछि पनि सुरु हुन्न । नेपाली अनुसन्धानकर्ताहरूमा विश्वको प्रतिस्पर्धात्मक बजारमा टिक्नसक्ने क्षमता छ तर अवसर नपाएको उनले बताए ।

‘नेपाल अन्तरिक्षमा प्रवेश गरेको पनि हो/ होइन’

नेपाली स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपाल अन्तरिक्ष युगमा प्रवेश गरिएको भनेर प्रचार गरिए पनि यसमा दुई खाले टिप्पणीहरू आए । अन्तरिक्षको क्षेत्रमा काम गर्नका लागि हालसम्म नेपाल सरकारका कुनै पनि निकायले काम गरेका छैनन् ।

नेपाली झन्डा अंकित एक केजीको वस्तु अन्तरिक्षमा पुर्‍याउने बित्तिकै नेपाललाई कसरी अन्तरिक्ष युगमा प्रवेश गरेको भन्न सकिन्छ भन्ने प्रश्नहरू आउने गरेका छन् । मास्के यसलाई दुवै रुपमा अर्थ्याउन चाहन्छन् ।

‘एउटा यन्त्र अन्तरिक्षमा राखेर त्योसँग सम्पर्क गर्न सक्यौं । यो हिसाबले हेर्दा नेपाल अन्तरिक्ष युगमा पुगेको भन्न सकिन्छ,’ उनी भन्छन्, ‘तर एक सामान्य नागरिकले त्यो नानो स्याटेलाइटले दिने प्रत्यक्ष फाइदा खोज्छ । उसले नदेख्दा साँच्चै नै अन्तरिक्ष युगमा नेपाल प्रवेश गरेको हो त भन्ने प्रश्न गर्छ । ’

पहिलो स्याटेलाइट मिसनबाट नेपालका लागि अन्तरिक्ष क्षेत्रमा काम गर्नका लागि नेटवर्क विकसित भएको उनले बताए । १५ भन्दा बढी मुलुकहरूसँग बर्डस् नेटवर्कमार्फत संवाद र सहकार्यका लागि नेपालले अवसर पाएको छ । यसका लागि ‘अन्तरिक्ष कूटनीति’ मा ध्यान दिनुपर्ने मास्केको सुझाव छ ।

‘नेपालबाटै स्याटेलाइट प्रक्षेपण गर्ने सम्भावना छैन’

चीन र भारत अन्तरिक्ष दौडमा धेरै उपलब्धि हासिल गरेका मुलुकहरू हुन् । चीनले मंगल ग्रहको सतहमा आफ्नो उपस्थिति जनाइसकेको छ । भारतले सन् २०१४ मै आफ्नो मंगल यान कार्यक्रममार्फत मंगल ग्रहको कक्षमा आफ्नो अर्बाइटर पुर्‍याइसकेको छ ।

नेपालले ठूलो स्याटेलाइट बनाउन अझ धेरै समय लाग्ने मास्केले बताए । भूपरिवेष्ठित मुलुक नजिकै समुद्र छैन । रकेट लन्च गर्दा त्यसका टुक्राहरू अन्य मुलुकतिर जाने खतरा हुने उनी बताउँछन् । ठूलो भूउपग्रहहरू भन्दा सानो भूउपग्रह निर्माणतिर विश्व लागिपरेको उल्लेख गर्दै मास्केले कम लगानीमा सानो स्याटेलाइट निर्माण गरेर धेरै काम गर्ने नीति लिनुपर्ने औंल्याउछन् ।

सरकारले यो क्षेत्रमा लगानी मात्रै गरेपनि उपलब्धि हासिल हुने उनको धारणा छ । १० करोडको लगानीबाट स्याटेलाइटको नक्षत्र नै अन्तरिक्षमा उडाउन सकिने उनले बताए ।

मास्के नेपालमा अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरका स्याटेलाइट निर्माण गरेर यही उत्पादन गर्न सकिने सम्भावना देख्छन् । नेपालका नीति निर्माण, भन्सार सम्बन्धीको कानुन राम्रो भइदिए प्रविधि उत्पादन गर्न समस्या नहुने मास्केको भनाइ छ ।

०००

अहिले विश्वका करिब ८० प्रतिशत क्षेत्र अन्तरिक्षमा निर्भर हुँदै गएका छन् । मोबाइलको जीपीएस पनि स्पेस टेक्नोलोजीको देन हो । विज्ञान र प्राविधिमा फड्को मारेर देशलाई समृद्ध बनाउने हो भने सानै उमेरदेखि मोबाइल चलाउन सक्ने बालबालिकाहरूलाई स्याटेलाइट निर्माण सम्बन्धीको तालिम दिनुपर्ने उनको सुझाव छ ।

‘राम्रोसँग मोबाइल चलाउन सक्ने बच्चालाई साना किसिमका क्युब स्याटेलाइट बनाउन सिकाए उनीहरूले भविष्यमा अझ राम्रोसँग काम गर्न सक्छन् । हामीले खोटाङमा यसै सम्बन्धी एक विद्यालयमा तालिम दिएका थियौं । ती बालबालिकाहरूले बनाउन सके,’ मास्केले भने ।

नास्ट र आविष्कार केन्द्रमामार्फत उनको सस्तो क्युबको उत्पादन गर्ने तयारी छ । केन्द्रका प्रमुख महावीर पुनको सहयोगले नयाँ पुस्ताहरूलाई स्याटेलाइट बनाउने तालिमहरू पनि मास्केले दिएका छन् । हाल अन्तरिक्ष प्रतिष्ठान नेपाल संस्था खोलेर उनले नयाँ पुस्तालाई सानो स्याटेलाइट निर्माण सम्बन्धी तालिमहरू पनि दिने गरेका छन् ।

उनी भन्छन्, ‘विदेशमा पढेर मैले सिकेका कुरा अरुलाई सिकाउँदा ज्ञान झन् बढ्छ । आज मैले १० जनालाई सिकाएँ भने भोलि उसले सय जनालाई सिकाउन सक्छ । ज्ञान भनेको बाँड्दै जाने हो नि ।’

प्रकाशित : आश्विन १, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?