अनुसन्धानकर्ता श्रेष्ठलाई ४३ हजार डलरको 'नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड'

गोविन्द पोखरेल

काठमाडौँ — वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन् ।

अनुसन्धानकर्ता श्रेष्ठलाई ४३ हजार डलरको 'नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड'

कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जि‌‌ओग्राफिक सोसाइटीले श्रेष्ठलाई ४३ हजार डलर(करिब ५५ लाख नेपाली रूपैयाँ) बराबरको अनुसन्धान वृत्ति दिएको हो ।

अनुसन्धान मुख्य गरी नेपालको संरक्षणमा क्षेत्रमा हुनेछ । कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको अनुसन्धानकर्ता श्रेष्ठले बताए ।

सेप्टेम्बर १ तारिखबाट सुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

यो अनुसन्धान वृत्तिका लागि विश्वभरका १२ सयजना अनुसन्धानकर्ताहरुले आवेदन दिएका थिए । तीमध्ये दोस्रो चरणमा ५० जना छनोट भएका थिए । छनोट भएकामध्ये १० जनालाई जनही ४६ हजार डलरको अवार्ड दिइएको हो । यो अनुदान पाउने श्रेष्ठ एक्ला नेपाली हुन् ।

श्रेष्ठले यसअघि पनि दुई पटक नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका थिए । सन् २०१९ मा उनले ७३ हजार डलरको अनुसन्धान वृत्ति पाएका थिए । उक्त अनुदान ड्रोनको प्रयोग गरेर हिमाली चरन क्षेत्र(खर्क)को अध्ययन/अनुसन्धानका लागि दिइएको थियो । यो अनुसन्धान श्रेष्ठले अहिले पनि गरिरहेका छन् । २०२२ को सेप्टम्बरमा ३० मा अनुसन्धान सम्पन्न हुनेछ ।

सन् २०१२ मा पनि उनले यार्सागुम्बाको अध्ययनका लागि नेसनल जिओग्राफिक सोसाइटीबाट २० हजार डलरको अनुसन्धान अनुदान पाएका थिए ।

वातावरण, वनस्पति, जैविक विविधताको क्षेत्रमा अनुसन्धान गर्दै आएका श्रेष्ठ विज्ञान लेखनमासमेत सक्रिय छन् । वातावरण विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक हुन् ।

प्रकाशित : भाद्र ७, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?