प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपालमै तयार पारिएको साइन्स किट (विज्ञान सिकाई सामग्री) सार्वजनिक गरेको छ । 

साइन्स किटमा विज्ञान विषयको पुस्तकमा भएका विषयवस्तुको लागि प्रयोगात्मक सिकाईका सामग्री समावेश छन् । नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । विगत ८ वर्षको अनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ । कारखाना साइन्स किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाइ किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने कारखानाले जनाएको छ ।

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पारेकोले कारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमा पार्नबाट रोक्ने कारखानाको भनाई छ । यसले शिक्षक र विद्यार्थी दुबैलाई फाइदा पुग्ने र विद्यार्थीले घर घरमा साइन्स प्रयोगशालाको अनुभव गर्न पाउने कारखानाले जनाएको छ ।

बालबालिकाको सिकाईलाइ व्यवहारिक बनाउनुपर्ने र आविष्कारको शिक्षा दिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स निर्माणलगायतको काम गरिरहेको कारखानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले बताए ।

प्रकाशित : असार ६, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

कविता कोर्न गाई !

ददि सापकोटा

पेरिस — कालो कोट । कालै पाइन्ट । घाँटीमा बेराले लगाउने कालै रङको बो टाई । ढाडमा पुरानो झोला । दाम्लो चट्ट समातेर गाई डोर्‍याउँदै देशका विभिन्न सहरमा यात्रा गरिरहेछन् एक फ्रान्सेली । गाउँसहरका जनजीवन, रहनसहन र दैनिक चर्यामा कविता प्रस्फुटन गर्न भन्दै रोबर्ट डु मोइन्सले गरिरहेको ‘कविताका लागि गाईयात्रा’ ले फ्रान्समा चर्चा बटुलिरहेको छ । फ्रान्सको सामाजिक सञ्जालमा उनको गाई ओल्हा र रोबर्ट दुवै अभिनेता जस्ता बनेका छन् ।

गाई ओल्हासँगै रोबर्ट डु मोइन्स ।

कतिपय सहरका नागरिकहरूले गाडीवालालाई सचेत गराइरहेका छन्, ‘सतर्क रहनुहोला । तपाईंले गाई डोर्‍याइरहेका एक सज्जनलाई सडकमा जतनले पार गरेर जानुपर्ने हुन सक्छ ।’ आफू आफैंमा हराउनु, आवश्यक वस्तुहरू बिर्सनुको बिन्दुमा बाँच्न र सास फेर्न चाहेको रोबर्टले बताउने गरेका छन् । उनको मूल उद्देश्य गाउँठाउँमा आफूले यात्रा गर्दा देखेभोगेका विषयलाई समेटेर कविता सिर्जना गर्नु हो ।

रोबर्टको भनाइमा यो गाई पनि भाग्न चाहन्थ्यो । लामा सिङ भएका बहरहरूबाट भाग्न चाहने गाई र व्यस्त र निकै व्यस्तताले झेलिएको जिन्दगीबाट भाग्न चाहने रोबर्ट दुवैको उद्देश्य मिलेकाले सहयात्रा सम्भव भएको हो । रोबर्टको खास घर राजधानी पेरिसबाट करिब ३ सय ४५ किमि टाढाको नात सहर हो । उनले नातबाट सोल्तेन, भालेन्सिन, सेबुर्ग, पैइ द कन्देलगायत सहरहरूको यात्रा गरिसकेका छन् ।

मुख्य सहर पार गरिसकेपछि रोबर्ट गाउँ पस्छन् । त्यहाँका मानिसहरूसँग बातचित गर्छन् । भन्छन्, ‘गाईसँग गाउँ तथा सहर छिरेपछि स्थानीयसँग गफगाफ गर्न सजिलो हुन्छ ।’

रोबर्टसँग एउटा पुरानो जग भने छुट्दैन । किनभने बिहान र साँझ उनले त्यही जगमा गाई दुहुन्छन् । बास नपाए वरिपरि कतै अँगेनो बनाउँछन् । दूध तताएर पिउँछन् । आफ्नो यात्राका घटनाहरू सबै पुरानो नोटबुकमा उतारेर राख्छन् । आफू नात क्षेत्रको एक होटलका पूर्वकर्मचारी प्रमुख भएको उनी बताउँछन् । उनले संसारलाई अवलोकन गर्न चाहेकाले गाई यात्रामा निस्केको बताउने गरेका छन् । रोबर्टलाई गाई भने एक किसानले सापट दिएका हुन् । स्थानीयहरू उनको रहस्यमय चरित्र देखेर उत्सुक हुने गरेका छन् । किनभने कुनै ठाउँको दिशा पत्ता लगाउनुपर्दा उनी आफूसित भएको गोलाकार ट्रपी झिक्छन् । त्यसैमा भएको नक्सा हेर्दै यात्रा गर्छन् । फ्रान्सेली भाषामा एउटा लोकप्रिय भनाइ छ, ‘हामी कता जाने भनेर हामीलाई जति कम जानकारी हुन्छ हामी त्यति नै हराउँछौं ।’ यो रोबर्टमा ठ्याक्कै लागू हुन्छ । उनलाई धेरैले ‘ल भ्वाइयाज पोएत’ अर्थात् यात्रु कवि पनि भन्छन् ।

‘हामी हरेक घण्टा तालिकामा हिँड्छौं । मेट्रो, रेल, बस, गाडी, काम, खाना, कम्प्युटर, मोबाइल, सुत्ने र उठ्ने सबै तालिकामा निर्भर भएका बेला अहिले पनि एउटा गाई डोर्‍याएर सडकसडक हिँडेरै आफ्नो इच्छा पूरा गर्न सक्नु अचम्मको जीवनशैली हो । यो देख्दा त जीवनशैली बदल्न मन लाग्दो रहेछ,’ उनको यात्रालाई उद्धृत गर्दै सामाजिक सञ्जालमा एक पुष्प व्यापारीले लेखेका छन् ।

यो यात्राबाट रोबर्ट भने आफैं जिल्ल छन् । किनभने सडकमा उनले सोचेभन्दा धेरै उदार मानिसहरू भेटेका छन् जसले उनलाई यात्रामा सम्पूर्ण भोजन प्रदान गर्छन् । मिठो मुस्कान छर्दै बास दिन्छन् । उनीसित सुन्दर, परोपकारीहरूको मात्रै जम्काभेट हुन्छ । ‘हामीले बाटोमा सपना देख्नुपर्ने सबै अद्भुत छालको सामना गर्यौं,’ रोबर्ट साहित्यिक पारामा सुनाउँछन् ।

प्रत्येक गाउँमा पुग्दा रोबर्टले कागजको सानो टुक्रामा धागोले बाँधेको एउटा चिर्कटो दिन्छन्, गाउँलेहरूलाई । त्यसमा उनी आफूलाई भेटेर आफ्ना कुरा सुन्न निम्ता दिन्छन् । किनभने बास बसेको गाउँमा उनले आफ्नो यात्राबारे सुनाउने गरेका छन् ।

प्रकाशित : असार ६, २०७८ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×