१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मंगल ग्रहमा रहेको चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक 

आफैले निर्माण गरेको अन्तरिक्ष केन्द्रमा अर्को साता तीन अन्तरिक्ष यात्रीहरु पठाउँदै चीन
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिका पछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको चीनले त्यहाँका तस्बिरहरु सार्वजनिक गरेको छ । 

मंगल ग्रहमा रहेको चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक 

चिनियाँ झन्डा अंकित मंगल ग्रहको सतहमा गुडिरहेको चुरोङ रोभरले खिचेका तस्बिरहरु चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन(सीएनएसए)ले ले सार्वजनिक गरेको हो ।

मंगल ग्रहको सतहका साथै मार्सियन सतहमा रोभरले सेल्फी लिएको तस्बिर समेत सीएनएसएले एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

एउटा तस्बिरमा रोभरले सेल्फी लिएको, अर्को तस्बिरमा अवतरण गर्ने बेलामा रोभरको प्लेटफर्मलगायतका तस्बिरहरु छन् ।

गत बिहीबार अमेरिकाको एरिजोना विश्वविद्यालयले मंगल ग्रहको सतहमा रहेको चीनको चुरोङ रोभरको स्याटेलाइट तस्बिर सार्वजनिक गरेको थियो ।

करिब सात महिनाको अन्तरिक्ष यात्रापछि रोभर गत मेमा मंगल ग्रह पुगेको थियो । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर चुरोङ रोभर त्यहाँ पुगेको थियो । चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो । रोभरले ९० मार्सियन दिनसम्म काम गर्ने अपेक्षा लिइएको छ ।

सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन-१ मिसन सञ्चालन गरेको थियो । चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रुपमा लिइएको छ ।

चीनले तियान्वेन मिसनबारे थोरै जानकारी मात्र सार्वजनिक गरेको छ । तर यो रोभरले ‌मंगल ग्रहको सतहको नक्सांकन र त्यहाँ जीवको अस्तित्वको खोज गर्नेछ । तियान्वेन-१ यानमा एउटा अर्बिटर, ल्यान्डर र रोभर छ ।

अघिल्लो वर्ष प्रक्षेपण भएपछि तियान्वेन-१ले धेरै मात्रामा वैज्ञानिक तथ्यांक संकलन गरिरहेको चीनले जनाएको छ ।

चीनको यो रोभर मंगल ग्रहको उत्तरी गोलार्धस्थित युटोपिया प्‍लेनेसिया भू-भागमा अवतरण गरेको थियो । त्यहाँबाट पृथ्वीमा रेडियो सन्देश पुर्‍याउन करिब १८ मिनेट लाग्छ । पृथ्वी र मंगल ग्रहबीचको दूरी ३२ करोड किलोमिटर छ ।

चिनियाँ मंगल मिसनलाई अन्तरिक्ष अन्वेषणको एक महत्वपूर्ण हिस्साको रुपमा लिइएको छ । सन् २०२० मा चिनियाँ यानले चन्द्रमामा अवतरण गरेर केही नमुना लिएर पृथ्वीमा फर्किएको थियो । उक्त मिसनपछि अमेरिका र सोभियत युनियनपछि चन्द्रमाबाट लुनर नमुना लिएर फर्कने तेस्रो मुलुक बनेको थियो ।

चीनको चुरोङ रोभरका अलावम यो वर्ष मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर पनि अवतरण गरेको थियो । गत फेब्रुअरी १८मा पर्सिभरेन्स रोभरले मंगल ग्रहको सतहलाई छोएको थियो । हाल उक्त रोभरले मंगल ग्रहमा खोज तथा अनुसन्धान गरिरहेको छ । पर्सिभरेन्स रोभर मंगल ग्रहमा रहेको सय दिनको अवसर पारेर नासाले तस्बिरहरु समेत सार्वजनिक गरेको थियो । उक्त रोभरसँगै मंगल ग्रहमा पठाइएको इन्जिन्युटी हेलिकप्‍टरको पनि सफल परीक्षण भएको

सन् २०२१को फेब्रुअरीमै यूएईको होप यान मंगल ग्रहको कक्षमा प्रवेश गरेर नयाँ कीर्तिमान कायम गरेको थियो । यूएई मंगल ग्रहको कक्षमा आफ्नो यान पुर्‍याउने यूएई संसारको पाचौं मुलुक बनेको छ । उक्त यान मंगल ग्रहलाई परिक्रमा गरेर त्यसको वायुमण्डल अध्ययन गर्नका लागि तयार गरिएको थियो ।

यसैबीच चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।

चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेसवाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो ।

लङ मार्च–२एफ वाई१२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ । यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्षमा पठाउने बताइएको छ ।

चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ । हाल तियान्हेको वजन करिब ७० टन छ । चीनले चार पटक अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।

चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरुमा वरिष्ट अन्तरिक्ष यात्रीहरु, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन् । चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरु रहेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?