३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मंगल ग्रहको सतहमा चिनियाँ रोभर अवतरण

मंगल ग्रहमा रोभर अवतरण गराउने अमेरिकापछि चीन दोस्रो मुलुक बनेको छ ।
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकापछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने चीन दोस्रो मुलुक बनेको छ । चीनको चुरोङ रोभरले मंगल ग्रहमा अवतरण गरेको हो । 

मंगल ग्रहको सतहमा चिनियाँ रोभर अवतरण

करिब सात महिनाको अन्तरिक्ष यात्रापछि उक्त रोभर मंगल ग्रह पुगेको थियो । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर शुक्रबार चुरोङ रोभर मंगल ग्रहको सतहरमा सफलतापूर्वक अवतरण गरेर नयाँ इतिहास कायम राख्न सफल भएको हो । चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो ।

सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन-१ मिसन सञ्चालन गरेको थियो । चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रुपमा लिइएको छ ।

चीनले तियान्वेन मिसनबारे थोरै जानकारी मात्र सार्वजनिक गरेको छ । तर यो रोभरले ‌मंगल ग्रहको सतहको नक्सांकन र त्यहाँ जीवको अस्तित्वको खोज गर्नेछ । तियान्वेन-१ यानमा एउटा अर्बिटर,ल्यान्डर र रोभर छ ।

चीनको नेसनल स्पेस एड्मिनिस्ट्रेसले शुक्रबार एक विज्ञप्ति मार्फत तियान्वेन-१ले अवस्था सामान्य रुपमा रहेको र काम गरिरहेको जनाएको थियो । अघिल्लो वर्ष प्रक्षेपण भएपछि तियान्वेन-१ले धेरै मात्रामा वैज्ञानिक तथ्यांक संकलन गरिरहेको चीनले जनाएको छ ।

चीनको यो रोभर मंगल ग्रहको उत्तरी गोलार्धस्थि युटोपिया प्‍लेनेसिया भू-भागमा अवतरण गरेको हो । त्यहाँबाट पृथ्वीमा रेडियो सन्देश पुर्‍याउन करिब १८ मिनेट लाग्छ । पृथ्वी र मंगल ग्रहबीचको दूरी ३२ करोड किलोमिटर छ ।

नासाको साइन्स मिसन डाइरेक्टरेट थोमस जरबुचेनले चिनियाँ स्पेस एजेन्सीलाई रोभर ल्यान्ड भएको केही समयमा नै बधाई दिएका छन् । उनले विश्वका सबै वैज्ञानिक जगतले स‌ंयुक्त रुपमा काम गर्ने हो भने मंगल ग्रहमा अझ विस्तृत रुपमा बुझ्ने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ मंगल मिसनलाई अन्तरिक्ष अन्वेषणको एक महत्वपूर्ण हिस्साको रुपमा लिइएको छ । सन् २०२०मा चिनियाँ यानले चन्द्रमामा अवतरण गरेर केही नमुना लिएर पृथ्वीमा फर्किएको थियो । उक्त मिसनपछि अमेरिका र सोभियत युनियनपछि चन्द्रमाबाट लुनर नमुना लिएर फर्कने तेस्रो मुलुक बनेको थियो ।

यो वर्षको अप्रिलको अन्त्यमा पनि चीनले आफ्नो छुट्टै अन्तरिक्ष केन्द्रका लागि पहिलो मोड्युल पृथ्वीको कक्षमा पठाएको थियो । उक्त प्रक्षेपणका क्रममा एउटा रकेट अनियन्त्रित भएर हिन्द महासगरमा खसेको थियो ।

चीनको चुरोङ रोभरका अलावम यो वर्ष मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर पनि अवतरण गरेको थियो । गत फेब्रुअरी १८मा पर्सिभरेन्स रोभरले मंगल ग्रहको सतहलाई छोएको थियो । हाल उक्त रोभरले मंगल ग्रहमा खोज तथा अनुसन्धान गरिरहेको छ । पर्सिभरेन्स रोभरसँगै रहेको नासाको इन्जिन्युटी हेलिकप्‍टरको पनि सफल परीक्षण भएको छ । इन्जिन्युटी हेलिकप्टर पृथ्वी बाहिर अन्य कुनै ग्रहको सतहमा उड्ने संसारकै पहिलो यान बनेको छ ।

सन् २०२१को फेब्रुअरीमै यूएईको होप यान मंगल ग्रहको कक्षमा प्रवेश गरेर नयाँ कीर्तिमान कायम गरेको थियो । यूएई मंगल ग्रहको कक्षमा आफ्नो यान पुर्‍याउने यूएई संसारको पाचौं मुलुक बनेको छ । उक्त यान मंगल ग्रहलाई परिक्रमा गरेर त्यसको वायुमण्डल अध्ययन गर्नका लागि तयार गरिएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?