मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान बन्यो इन्ज्युनिटी
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो । 

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।

मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, 'पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो । '

हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।

प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।

मंगल ग्रहमा टेस्ट फ्लाइटपछि सतहमा रहेको हेलिकप्टर । तस्बिरः नासा

नासाको 'मार्स २०२० पर्सिभरेन्स रोभर' मिसनका अन्तर्गतकै 'इन्ज्युनिटी मिसन'ले मंगल ग्रहको पातलो वायुमण्डलमा पहिलो उडान भर्दै इतिहास रचेको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।

मंगल ग्रहमा पर्सिभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टरको रोभरबाट केही साताअघि सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छोएको थियो । अघिल्लो साता नै यसको टेस्ट फ्लाइट गर्ने भनिए पनि प्राविधिक कारणले केही ढिलाइ भएको थियो । अल्बना राज्यको एक हाइस्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।

मंगल ग्रहमा यो हेलिकप्टरको मिसन ३० दिनको छ । नासाले यसअघि जारी गरेको विज्ञप्ति अनुसार यसले ५ वटा पावर फ्लाइट गर्ने जनाएको थियो । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबोटिक उडान हुने वस्तु निर्माण गर्नका लागि इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।

यो हेलिकप्टरमा दुई वटा क्यामेराबाहेक अन्य उपकरण छैनन् । गणतीय 'अल्गोरिदम'हरु भएकाले यो हेलिकप्टरले पृथ्वीबाट कमान्ड दिएपछि मंगल ग्रहमा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ ।

मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुन सक्‍ने बताइएको छ ।

यो पनि पढ्नुहोस्ः

मंगल ग्रहमा पठाइएको झन्डै दुई केजीको हेलिकप्टर

प्रकाशित : वैशाख ६, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ मा २ बजे बैठक बस्नेगरी अधिवेशनको आह्वान गरेका हुन् ।

आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अधिवेशनको अन्त्य गरेका थिए । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशनको माग गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×