३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘डिजाइन काठमाडौं कन्टेष्ट’ हुँदै

काठमाडौँ — कक्षा १०, ११ र १२ का विद्यार्थीहरुका लागि लक्षित गरेर ‘डिजाइन काठमाडौं कन्टेष्ट’ हुने भएको छ ।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने यो बौद्धिक क्षमता प्रतिस्पर्धा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्क रुपमा आवदेन दिन सक्नेछन् । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेष्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशकका रुपमा राख्न पाउने छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभो साइन्सले आयोजना गर्न लागेको यो प्रतियोगिताले विद्यार्थीको सिर्जना प्रस्फुटन तथा सहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरुको बुझाइ थप मजबुत हुने र उनीहरुको बौद्धिक विकास तथा विविध शोधसामग्री अध्ययन तथा शोध गर्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ ।

रिभो साइन्सका लक्षमण डंगोलका अनुसार काल्पनिक रुपमा विद्यार्थीले कम्तीमा बीस पानामा सहरको परिकल्पना बनाउन सक्नेछन् । प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडौं उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञानप्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबर्ड हल, व्यावसायिक केन्द्र, कला तथा मनोरञ्जन, अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

विद्यार्थीले आवेदन दिने प्रक्रिया ‘डिजाइन काठमाडौं कन्टेष्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्न, डिजाइन तयार पार्नु पूर्व चाहिने आवश्यक खुराक वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्नेछ । यो प्रतिस्पर्धीमा विजयी विद्यार्थीले १० हजार,५ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित : चैत्र १०, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?