१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डेढ सय मिटर अपलिफ्ट भएर खस्यो 'गरुडा'

गोविन्द पोखरेल

काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको 'गरुडा' रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ । 

डेढ सय मिटर अपलिफ्ट भएर खस्यो 'गरुडा'

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । 'लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,' तामाङले भने, 'मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो । '

इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए । १० मिटर उचाइको गरुडामा 'पोटासियम नाइट्रेट र सुगर' इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ ।

अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । 'हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,' उनले भने,' अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं । '

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि गरुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।

यसैबीच, नियर एरो स्पेस नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षेपण असफल भएको छ । नेपाल स्पेस ड्रिम परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रकेट प्रक्षेपण पनि असफल भएको हो । यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको भएको निर्माणकर्ता शिशिर जिसीले जानकारी दिए । आरम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल खसेको थियो । एप्रिल १६मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण ।

यस्तै, भिमान मै परीक्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्‍ने भनिएको 'गौथली' नाम गरेको औषधि बोक्ने ड्रोनको परीक्षण उडान पनि असफल भएको छ । उक्त ड्रोन एक किलोमिटर माथि पुगेर खसेको जिसीले जानकारी दिए ।

प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट्‌वाल,राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए ।

प्रकाशित : चैत्र ७, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?