करिब ४ सय वर्षपछि बृहस्पति र शनि ग्रह एकआपासमा धेरै नजिक देखिए- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करिब ४ सय वर्षपछि बृहस्पति र शनि ग्रह एकआपासमा धेरै नजिक देखिए

गोविन्द पोखरेल

काठमाडौँ — सन् १६१० मा खगोलशास्त्री ग्यालिलियो गेलिलीले बृहस्पति गृहका चार वटा चन्द्रमा पत्ता लगाए । आईओ, युरोपा, ग्यानिमेट र क्यालिस्टो नाम गरेका यी चन्द्रामालाई उनले पहिलो पटक देखे ।

खगोल विज्ञानमा यी चन्द्रमालाई ग्यालिलियोका चन्द्रमा पनि भन्ने गरिन्छ । सोही वर्ष उनले शनि ग्रहको 'रिङ' पनि पत्ता लगाए ।

त्यसको १३ वर्षपछि अर्थात् सन् १६२३ मा ग्यालिलियोले यी दुई ग्रहहरु एकआपसबाट धेरै नजिक भएको पाए । यसको नाम दिइयो 'द ग्रेट कन्जङ्सन' । अर्थात् बृहस्पति र शनि ग्रह सबैभन्दा नजिक हुने अवस्था ।

सौर्य मण्डलको सबैभन्दा ठूलो र पाँचौं ग्रह हो, बृहस्पति । यसले करिब १२ वर्षमा सूर्यको परिक्रमा गर्छ । शनि ग्रह बृहस्पति पछिको ठूलो र सौर्यमण्डलको छौटौं ग्रह हो । शनिले सूर्यको परिक्रमा गर्न करिब ३० वर्ष लगाउँछ । यी दुई ग्रहबीचको दूरी ४५६ मिलियन माइल हो ।

सूर्यको परिक्रमा गर्ने क्रममा यी ग्रहहरु एक आपस नजिक आएको चाहिँ हरेक २० वर्षमा देखिन्छ । अर्थात् यी ग्रहहरु हरेक २० वर्षमा 'द ग्रेट कन्जङ्सन' भएको पृथ्वीबाट देख्‍न सकिन्छ । यिनीहरु धेरै ढिलो परिक्रमा गर्ने भएकाले यो र यस्ता घटनाहरु हेर्न धेरै वर्ष पर्खनुपर्छ ।

सन् २००० पछि यी ग्रहहरु २०२० को डिसेम्बर २१ अर्थात् सोमबार(आज) देखिए । पृथ्वीबाट हेर्दा यी दुई ग्रहबीचको कोण दूरी ०.१ डिग्री थियो । एउटा पूर्ण चन्द्रमाको कोण दूरी ०.५ डिग्री हुन्छ ।

नासोकी कार्यक्रम अधिकृत मनिषा द्‍वाले खिचेकी 'द ग्रेट कन्जङ्सन'को तस्बिर ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराई भन्छन्,' जुपिटर र स्याटर्न करिब ४ सय वर्षपछि सोमबार नजिक देखिए । २० वर्षपछि पनि नजिक त आँउछन् तर आजको जसरी नजिक चाही सन् २०८० को मार्च १५ मा मात्रै देखिनेछन् । दुई ठूला ग्रहहरु एक आपसमा नजिक देखिने भएकाले यिनीहरलाई द ग्रेट कन्जङ्सन भनिएको हो ।'

गत नोभेम्बर २१देखि यिनीहरु नजिक देखिएका थिए । अबको केही दिनपछि यिनीहरु विस्तारै टाढा हुँदै जाने उनले बताए ।

आकाशमा हेर्दा बृहस्पति र शनि ग्रह सबैभन्दा चम्किला देखिन्छन् । बृहस्पति शनिभन्दा केही चम्किलो देखिन्छ । बृहस्पतिको पूर्वपट्टि शनि ग्रह हुने गरेको भट्टराईले बताए । रातको समयमा ताराभन्दा पनि चम्किला देखिन्छन् । यिनीहरुलाई नांगो आँखाहरुले हेर्दा पनि देखिन्छ ।

पृथ्वीभन्दा धेरै टाढा भएकाले यिनीहरु धेरै साना देखिन्छन् । पृथ्वीबाट हेर्दा शनिको नजिक बृहस्पति देखिएको छ ।

धार्मिक रुपमा बृहस्पतिलाई शुभ र शनिलाई पाप ग्रहको रुपमा पनि लिइने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढंगेलले धार्मिक रुपमा हेर्दा यो अवस्थामा भनेर नराम्रा घटनाहरु बढ्ने सम्भावना हुने बताउँछन् । यस्तो अवस्थामा धार्मिक रुपमा गरिने शुभ कार्यहरु पनि नहुने गरेको उनले जानकारी दिए ।

यसैबीच, नासोले शनि र बृहस्पति नजिक भएको दृश्य देखाउनका लागि सोमबार खगोलमा इच्छुक राख्‍नेहरुलाई अवलोकन गराएको छ । कोरोनाका कारण सानो समूहमा भएर यी ग्रहहरु देखाएको उनले बताए ।


यस्तै, दुई ग्रहहरु नजिक आएको घटनालाई लिएर सर्च इन्जिन साइट गुगलले आफ्नो डुडलमा पनि बृहस्पति र शनि ग्रहको तस्बिर सोमबार राखेको छ ।

प्रकाशित : पुस ६, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्

गंगामाया फेरि आमरण अनसनमा

घनश्याम खड्का

काठमाडौँ — छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर लामो समयदेखि सत्याग्रहमा होमिएकी गंगामाया अधिकारीले पुन: आमरण अनसन सुरु गरेकी छन् । कोभिडको महामारी सुरु भएपछि वीर अस्पतालको ट्रमा सेन्टरको सातौं तलामा आइसोलेसनमा राखिएकी गंगामायाले आइसोलेसन बेडबाटै सोमबार सत्याग्रह सुरु गरेकी हुन् ।

‘अब म कुनै हालतमापनि पछि फर्किन्नँ र अनसन पनि तोड्दिनँ’, उनले भनिन्, ‘पहिले मलाई धेरै नै झुक्याइयो, न्याय पाइन्छ भनेर जबरजस्ती खुवाइयो, तर भएकोचाहिँ केही होइन ।’

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिनमा ओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए ।

त्यसपछि गंगामाया र उनक पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतैपनि सुनुवाइ नभएपछि उनीहरु काठमाडौं आएर २०७० साउन देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनसन बस्न सुरु गरे ।

सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको २ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि केही समय तोडिएको अनसन विभिन्न समयमा गंगामायाले जारी राख्दै आएकी थिइन् । उनले हत्यामा संलग्नलाई कारबाही नगरेसम्म पतिको सदगद नगर्ने अडान राखेकाले अहिलेसम्म पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको शवगृहमै छ ।

पतिको मृत्यपछि पनि आमरण अनसन बसेकी गंगामायाको हालत सिकिस्त भएपछि सरकारले प्रमुख प्रतिवादी छविलाल पौडेललगायतलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, चितवन जिल्ला अदालतले फरार अभियुक्त रुद्र आचार्य बाहेकलाई २०७५ भदौमा सफाइ दियो । त्यसविरुद्ध गंगामायाले उच्च अदालत हेटौंडामा पुनरावेदन दिएकी छन् जसको छिनोफानो हालसम्म भएको छैन ।

उनको स्वास्थ्य बिग्रनबाट रोक्न मानव अधिकारकर्मीहरुको समन्वयमा सरकारले अनेक गरेर पछिल्लो समय गंगामायालाई अनसन नबस्न मनाइरहेको थियो ।

‘म अब आजितै भएँ, सबैले ढाँटेका रहेछन्,’ उनले भनिन्, ‘मेरो छोरा पनि मर्‍यो, बुढा पनि मरे, म पनि मर्छु बरु तर यस्तो अन्याय सहेर बस्दिनँ ।’

प्रकाशित : पुस ६, २०७७ २१:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×