‘एटेन्ड’ एपमा ट्याक्सी, एम्बुलेन्स र मोटरसाइकलको सेवा- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एटेन्ड’ एपमा ट्याक्सी, एम्बुलेन्स र मोटरसाइकलको सेवा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली राइड सेयर बजारमा ‘एटेन्ड’ एपले आफ्नो सेवा थालेको छ  । यो हाल बजारमा उपलब्ध अरू राइड सेयर एपभन्दा अलग उत्साह र सुविधासाथ आएको छ  ।

यो एपले आफ्नो निजी सवारी साधन नभएका यात्रुको समस्या समाधान गर्ने बताइएको छ । मोटरसाइकल, एम्बुलेन्स, शववाहन, ट्याक्सी, कार, जिप, मालवाहक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिने एटेन्ड प्रालिका निर्देशक भीमकान्त भण्डारीले बताए ।

प्रकाशित : मंसिर २०, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

जता पनि योग्य

‘पहिले पार्टी प्रवेश गरें, अनि श्रीमतीलाई मन्त्राणीसँग मीत लगाइदिएँ । यति भएपछि जीएम बन्न धेरै दिन लागेन ।’
शरच्चन्द्र वस्ती

काठमाडौँ — उदेक मान्नुपर्ने त केही थिएन, तैपनि ढोलकबहादुरको कुरा सुनेपछि मेरो मुखबाट निस्कियो, ‘तँ त उदेककै मान्छे रैछस्, यार !’

‘हा हा हा...’, ऊ धक फुकाएर हाँस्यो, ‘के नयाँ कुरा भो त ? आफ्नो भविष्य कसले हेर्दैन ?’

कुरा शुरूदेखि नै शुरू गरौं होला । आजको अधबैंसे ढोलकलाई म जुँघाको रेखी बस्तादेखि नै चिन्दछु । क्याम्पसमा एक वर्ष जुनियर थियो, तर तँतँ–ममको साथी । पढाइलेखाइमा मठ्ठु, तर मान्छे पट्याउन माहिर । खेलकूद भनेपछि बाह्र हात पर भाग्थ्यो, तर बाउले गाउँबाट पठाइदिएको भन्दै असनमा किनेको घीउ प्रशिक्षकलाई खुवाएर पोखरा घुमेर आयो— खेलकूद टोलीको ‘असिस्टेन्ट म्यानेजर’ का रूपमा ।

क्याम्पस सकेर म एनजीओमा काम गर्न थालें र चार वर्षपछि एउटा संस्थाको अध्यक्ष बनें । कुर्सी सम्हालेको एक हप्ता पनि बित्न पाएको थिएन, ऊ टुप्लुक्कियो र भन्यो, ‘म पनि जागीर खानुपर्‍यो यार । तेरो अफिसमा जनसम्पर्क अधिकृत बना न ।’

‘त्यस्तो पद नै छैन त’, मैले असमर्थता जनाएँ ।

ऊ निराश भएन । कुरा गर्दै जाँदा थाहा भयो, एउटा संस्थानको जीएम बन्न दुई महीनादेखि एक जना मन्त्रीको चाकरीमा धाइरहेको रहेछ । यसैबीच एउटा आईएनजीओमा दक्षिण एशियाको निर्देशक बन्न पनि फारम भरेको रहेछ । एक जना नेताको नाम लिएर भन्दैथियो, ‘त्यसको एक फोन लगाउन पाए त जागीर फरकै पर्ने थिएन ।’

फुच्चे गैरसरकारी संस्थाको जनसम्पर्क अधिकृत, सरकारी संस्थानको जीएम र अन्तर्राष्ट्रिय संस्थाको निर्देशक पदका लागि एकैचोटि प्रयास गरिरहेको त्यो मान्छेलाई देखेर म जिल्ल परेको थिएँ । र, भनेको थिएँ, ‘तँ त अचम्मकै मान्छे रैछस्, यार !’

उसको भनाइ थियो, ‘के फरक पर्छ ? जहाँ जहाँ पाइन्छ, त्यहीं त्यहीं जागीर खाने त हो नि ।’

छ महीना पछि म कतै जाँदैथिएँ, पहेंलो नम्बर प्लेटको एउटा कार नजीकै आएर रोकियो र ठूलो स्वरमा ‘जय नेपाल’ भन्दै त्यसबाट ढोलक ओर्लियो । उसको हुलिया पूरै बदलिएको थियो— सेतो कुर्ता–पाइजामा, कालो चप्पल र कालो चश्मा । ताकेकै संस्थानको जीएम भएछ ।

‘बाटोमा के कुरा गर्ने ? जाऊँ मेरो अफिसमा, चिया खान’, उसले मलाई गाडीमा चढायो ।

चिया आएपछि मैले सोधें, ‘गजब गरिछस् त । मन्त्रीलाई कसरी पट्याइस् नि ?’

‘दुइटा काम गरें । पहिले कांग्रेस प्रवेश गरें, अनि श्रीमतीलाई मन्त्राणीसँग मीत लगाइदिएँ । यति भएपछि जीएम बन्न धेरै दिन लागेन ।’

त्यसपछि तीन वर्ष ऊसँग भेट भएन । न उसले मलाई खोज्यो, न मैले उसलाई खोजें । एकैचोटि चितवनमा भेट भयो । त्यो पनि हात्तीमा चढेको बेला । मजस्तै ऊ पनि सपरिवार निकुञ्ज घुम्न आएको रहेछ ।

‘कस्तो चल्दैछ त जीएमगिरी ?’ साँझ मैले जिस्क्याएँ ।

ऊ जीएमको कार्यकाल सकिएर दुई महीना अघि सुकुम्बासी आयोगको सदस्य नियुक्त भएको रहेछ । भन्यो, ‘काठमाडौंमा ४० रोपनी जति जग्गा जोडियो । अरू खासै कमाउन सकिएन । अब पीएचडी गर्न लाग्या छु ।’

‘धाक नदे’, म हाँसें, ‘एमए त पास गर्न नसकेर सर्टिफिकेट किनेर ल्याइस् । तैंले पीएचडी गर्ने ?’

‘नाम दर्ता भैसक्यो । अब हेर्दै जा न’, ऊ ढुक्क थियो, ‘युनिभर्सिटीकै एउटा प्राध्यापकलाई दुई लाखमा ठेक्का दिएको छु । छ महीनामा थेसिस तयार हुन्छ । भाइभा–साइभा मिलाउन अरू एक लाख लाग्ला । त्यति त हो । एक वर्ष भित्रमा डिग्री हात लाग्छ । अनि एक दिन त्यही युनिभर्सिटीको बोस बन्छु ।’

उसको आत्मविश्वास देखेर म चकित भएँ । सोधें, विषय चाहिं के हो नि ?’

‘झीनामसिना कुरा मलाई कहाँ याद हुन्छ यार ? पख् है,’ उसले भन्यो र खेताला प्राध्यापकलाई फोन लगाएर सोध्यो, ‘मेरो पीएचडीको टपिक के अरे, सर ?’

उताको जवाफ सुनेपछि ‘काम चाहिं टाइममा सकिनुपर्छ है’ भन्दै फोन राख्यो र मलाई आफ्नो ‘टपिक’ सुनायो । अनि घोषणा गर्‍यो, ‘यो ढोलकबहादुर नाम अलिक भद्दा भयो । पीएचडी हात लागेपछि मेरो नाम डी बी हुन्छ । डाक्टर डी बी ।’

सुकुम्बासी आयोगबाट पनि उसले राम्रै जोरजाम गर्‍यो । त्यसपछि केही वर्ष जग्गा दलालीमा लाग्यो । त्यसैबीच एउटा क्याम्पसमा व्यवस्थापन समितिको अध्यक्ष भयो । पदावधि नसकिंदै सरकारी वन परियोजनाको निर्देशक नियुक्त भयो । म खबर थाहा पाउँथें, तर भेट भएको थिएन ।

एक दिन एउटा पार्टीमा जम्काभेट भयो । उसको हुलिया फरक भइसकेको रहेछ । कुर्ता–पाइजामाको सट्टा सर्ट–पाइन्टमाथि इस्टकोट र ढाका टोपी लगाउन थालेछ । भन्यो, ‘म एमाले प्रवेश गरें यार । अब छोरीको बिहा गरिदिन्छु ।’

एमाले प्रवेश र छोरीको बिहाबीचको सम्बन्ध ठम्याउन नसकेर म अलमल्ल परें । अनि सोधें, ‘बिहा गर्ने वेला भइसक्यो र ?’

‘किन नहुनु ? १८ वर्ष लागिसकी’, ऊ हतारिएको जस्तो लाग्थ्यो ।

नभन्दै अर्को महीना उसले छोरीको बिहामा निम्त्यायो । अनि पो थाहा पाएँ, ऊ छोरीको बिहा गर्न होइन, एमालेको नेतालाई सम्धी बनाउन हतारिएको रहेछ । त्यस दिन स्पष्टै भन्यो, ‘ढीला गर्दा नेता उम्केला भन्ने डर !’

छ महीना नबित्दै टेलिभिजनले उसको अनुहार देखाएर समाचार भन्यो, ‘सरकारले डाक्टर डी बी लाई फलानो विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ ।’ चारवर्षे कार्यकालमा सम्धीले सिफारिश गरेका आधा दर्जन मेडिकल कलेजलाई सम्बन्धन दिएर आफू मालामाल भयो र सम्धीलाई पनि दंग पार्‍यो । दुवैले राजधानीको सबैभन्दा महँगो कोलोनीमा छोराको नाममा सँगसँगै घर किने र कुइरेलाई भाडामा लगाए ।

उपकुलपतिबाट खुस्केको केही महीना पछि ऊ भर्खरै स्थापित एउटा संस्थानको अध्यक्ष बनाइयो । दुई वर्षको कार्यकाल उसले संस्थानको भवन बनाउन र एक दर्जन गाडी समेत अरू सरसामान खरीद गर्नमै बितायो । भन्थ्यो, ‘राम्रै कमाइयो ।’

त्यसपछि तरकारी बजार विकास समितिमा नियुक्त भयो, जहाँ कुनै काम थिएन, नाममात्रको तलब–भत्ता आउँथ्यो । ‘त्यत्रो चकचकी गरेको मान्छे, यति सानो पदमा बस्न कसरी मानिस् ?’ भनेर सोध्दा पुरानै पारामा भनेको थियो, ‘के फरक पर्छ यार ? जहाँ पाइन्छ त्यहीं जागीर खाने त हो नि ।’

केही दिन पछि फेरि उसको हुलिया फेरियो । अब ऊ सूट–टाईमा देखिन थाल्यो, जेल लगाएर कपाल कोरेको । माओवादीसँग नजिकिएछ र केन्द्रीय सरकारमा वरिष्ठ मन्त्री रहेको एउटा नेताको पैसा आफ्नो नामबाट लगानी गरिदिन थालेछ, नाफा आधा–आधा बाँड्ने गरी । भन्थ्यो, ‘यो पो गजबको काम रहेछ, बाघको छालामा स्यालले रजाइँ गरेजस्तो ।’

एक दिन मलाई लिएर रिंगरोड छेउको अठारतले बिल्डिङमा गयो । आठौं तलामा उसको एउटा फ्ल्याट रहेछ, छरितो र चिटिक्क सजिएको । आफ्नो ‘पार्टनर’ उही माओवादी मन्त्रीको नाम लिंदै भन्यो, ‘यो फ्ल्याट उसकी गर्लफ्रेन्डलाई बस्न दिन लाग्या छु । अहिले बसेको ठाउँ चित्त बुझेन अरे ।’

‘आगोसँग खेल्न डराउनुपर्छ । फ्ल्याट नै कब्जा गरिदेलान् नि,’ मैले डर देखाएँ ।

ऊ पटक्कै डराएन । भन्यो, ‘चिन्ता नगर् । एउटा गए चारवटा थपिन्छ ।’

अर्को महीना ऊ त्यही मन्त्रीको वरिष्ठ सल्लाहकार नियुक्त भयो, राज्यमन्त्री सरहको सुविधा पाउने गरी । उसको फुर्ती बढ्दै गयो । आम्दानीका बाटा त कति हुन् कति !

एक वर्ष पछि उसले आफ्नो नयाँ घरमा मलाई खान बोलायो । महँगा विलासी सामानले सजिएको, झ्यालको पर्दा रिमोट कन्ट्रोलले चल्ने भव्य घर देखेर म हेर्‍या हेर्‍यै भएँ । ऊ भने त्यतिले नपुगेर सोफा, टेबुल, कुर्सी, पलङ र आफ्ना तस्वीरहरूमा सुनको जलप लगाउने तयारी गर्दै रहेछ । ‘धेर चाहिंदैन, दुई किलो सुनले पुग्छ,’ दंग परेर मलाई सुनायो ।

सबै ठीकठाक चलिरहेको थियो । मन्त्री ऊसँग अनुगृहीत थियो र आफ्नो नामबाट धेरै कुरा गर्न उसलाई छूट दिएको थियो । पैसा वर्षिरहेकै थियो । फुर्तीफार्ती बढिरहेकै थियो । यसैबीच एक दिन उसले मसित खुसुक्क भन्यो, ‘म राजावादीहरूको एउटा कमिटीमा बस्ने भएँ ।’

‘बुद्धि बिग्र्यो कि क्या हो तेरो ? भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाउलास् नि !’ मैले तर्साउन खोजें ।

‘गोप्य कमिटीमा बस्ने हो यार, अरू कसैलाई थाहा हुँदैन । काम पनि खास केही छैन । यसो कहिलेकाहीं यताको भित्री सूचना उता पुर्‍याइदिने मात्र हो,’ उसको स्वर शान्त थियो, ‘भोलि के हो के हो ? यिनीहरूलाई किन टाढा राख्नु ? मैले त टन्न चन्दा पनि दिइसकें ।’

जसलाई पनि, जे गरेर भए पनि पट्याउनुपर्ने र जति भए पनि नपुग्ने उसको स्वभाव हेर्दा उदेक मान्नुपर्ने त केही थिएन, तर ढोलकको कुरा सुनेपछि मेरो मुखबाट त्यही वाक्य निस्क्यो, जुन शुरूमै तपार्इंलाई भनिसकेको छु, ‘तँ त उदेककै मान्छे रैछस्, यार !’

जता पनि, जेमा पनि ‘योग्य’ ठहरिने र जसको पनि भित्रिया हुन सक्ने यो उदेककै मान्छे होइन त ?

प्रकाशित : मंसिर २०, २०७७ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×