नाष्टको पहिलो ‘ह्युमोनोइड’ रोबाेट ‘यान्त्रिका’- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाष्टको पहिलो ‘ह्युमोनोइड’ रोबाेट ‘यान्त्रिका’

गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलो ह्युमोनोइड एआई रोबाेट निर्माण गरेको छ ।

सोमबार भर्चुअल माध्यमबाट आर्टिफिसियल इन्टिलिजिन्स र मेसिन लर्निङ सिस्टम जडित ‘यान्त्रिका’ नाम गरेकी रोबाेट नाष्टले सार्वजनिक गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लक्षित गरेर निर्माण गरिएको यान्त्रिका एआई र मेसिन लर्निङ फिचर भएको नेपालमै निर्मित पहिलो रोबाेट भएको नाष्टले दाबी गरेको छ । हाल यान्त्रिकाले नाष्टको कार्यालय परिसरभित्र सेवा दिने निर्माणकर्ता समेत रहेका नाष्टका प्राविधिक अधिकृत इन्जिनियर रोशन पाण्डेले बताए । यो रोबाेटको डिजाइन र निर्माण नाष्टको प्रविधिक संकायले गरेको हो ।

नाष्टको मुख्य ढोकाबाट छिर्ने बित्तिकै स्वागत गर्ने यान्त्रिकाले आगन्तुकले मास्क लगाएको/नलगाएको बारे जानकारी लिन्छे । यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट गर्ने उपकरणले आगन्तुकहरुको तापक्रम पनि जाँच्छे ।

मास्क नलगाई नाष्ट छिरेको व्यक्तिलाई यान्त्रिकाले आफ्नो दायाँ हातको मद्दतबाट झोलामा राखिएको मास्क अटोमेटिक रुपमा दिने पाण्डेले बताए । मास्क लगाएपछि यान्त्रिकाले स्यानिटाइजर दिन्छे । यान्त्रिकाले बाँया हातको मद्दतबाट अटोमेटिक डिस्पेन्सर सिस्टमबाट स्यानिटाइजर दिन्छे । यान्त्रिकामा जडित न्यूरल नेटवर्कले मास्क लगाएको/नलगाएको थाहा पाउँछे र मास्क लगाएको छ भने ‘छ’ भन्छे र छैन भने छैन भन्छे ।

यान्त्रिकाले सूचना दिँदा मानिसले जस्तै आँखा झिम्क्याउने तथा आँखाले पनि एक्सप्रेसन दिने नाष्टले जनाएको छ । यान्त्रिकामा जडित भ्वाइस डिटेक्सन सिस्टेमको माध्यमबाट यो एक ठाउँबाट अर्को ठाउँबाट अर्को ठाउँमा पनि जान सक्छे । यान्त्रिकाको एउटै हातमा ६ वटासम्म मोटर भएकाले मानिसको जस्तै सजिलो तरिकाले नमस्कार गर्ने र हात हल्लाउने पाण्डेले बताए ।

यान्त्रिकाको छातिमा जडित टच स्क्रिन (ट्याबलेट)बाट आगन्तुकहरुलाई नाष्ट सम्बन्धी जानकारी पनि लिन सक्ने नाष्टले जनाएको छ ।

‘कोरोनाको महामारीमा रोबाेटले जानेर स्वयंसेविकाको रुपमा मास्क र स्यानिटाइजर लगाउनुपर्छ भन्ने चेतना हुन्छ,’ पाण्डेले भने,‘ हामी मानिसहरु पनि स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो ।’

पाण्डेको नेतृत्वमा नवप्रवर्तन समूह नाम दिएर निर्माण गरिएको यो रोबाेटको डिजाइनदेखि हरेक सिस्टमहरु नयाँ किसिमको रहेको बताइएको छ । ‘यो कम्पनी प्रोडक्ट नभएर अनुसन्धानका लागि हो,’पाण्डेले भने ।

यो रोबाेटमा मेसिन लर्निङ र आर्टिफिसियल इन्टिलिजेन्स पनि जडान गरिएको छ । हाल यान्त्रिका ०.१ भर्सनको भएकाले सन् २०२१ को अन्त्यतिर यसको दोस्रो भर्सन यान्त्रिका ०.२ ल्याउने तयारी भइरहेको नाष्टले जनाएको छ । उक्त भर्सनमा केही नयाँ विशेषताहरु थपिने र उक्त रोबाेटले मानिसहरुसँग वादविवाद पनि गर्न सक्ने पाण्डेले कान्तिपुरलाई बताए ।

तस्बिरहरु: रोशन पाण्डे/नाष्ट

कोरोनाकालपछि यो रोबाेटलाई अझ विकसित गरेर कर्मचारीहरुको हाजिरी लिने, हाजिरी गरे/नगरेको सोध्ने, हालखबर पनि सोध्ने पाण्डेले बताए । यसका लागि रोबाेटमा सम्बन्धित व्यक्तिहरुको तस्बिरसहितको जानकारी दिएपछि मेसिन लर्निङ गर्ने उनले सुनाए ।

मोटर, प्रोसेसर लगायत केही इलोक्ट्रोनिक्सहरु अन्य मुलुकबाट ल्याइएको नाष्टले जनाएको छ । करिब ६ हप्ता लगाएर निर्माण गरिएको यान्त्रिकाको २ हप्तासम्म परीक्षण गरिएको थियो ।

हाल यसको लागत इस्टिमेट तयार नगरिएकाले यसको खर्च अन्य मुलुकमा लाग्ने खर्चभन्दा कम खर्चमा तयार भएको उनले जानकारी दिए ।

टिममा पाण्डेसहित इन्जिनियरद्वय ज्ञानेन्द्र थापा र सागरबहादुर तामाङ, ३ जना इन्जिनियरिङका विद्यार्थीहरुमा रामकृष्ण यादव, नविन दाहाल र दिवस खड्का छन् । सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरी गरी ४ जना आर्टिस्टहरुले यान्त्रिकालाई मानिसको स्वरुप दिएका छन् ।

पूर्व विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका नाष्टका सद्भावनादूत गणेश साहले नयाँ पुस्तालाई यो कार्यले ऊर्जा मिल्ने बताउँदै यो कार्य नवप्रवर्तनका लागि एउटा महत्त्वपूर्ण पाइला भएको बताए ।

योजना आयोगका उपाध्यक्ष पुष्पराज काडेलले युवाहरुले गरेको कार्य राम्रो भएपनि यसको उत्पादन र व्यवहारमा कसरी लैजाने भन्ने विषयमा चुनौती भएको बताए । उनले सुरूमा काम गर्ने तर त्यसलाई निरन्तरता नदिने प्रवृत्ति भएको सन्दर्भमा कार्यालयमा सेवा पुर्‍याउने यस किसिमको रोबाेटहरुको आवश्यकता धेरै भएको बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्

२५ वर्षपछि दाङमा भेटियो ‘तक्षक नाग’

सर्पमध्ये यो निकै कम देखा पर्छ । नेपालका लागि रैथाने प्रजाति भए पनि खोज्दा सजिलै भेटिँदैन । विषालु हुँदैन । 
गोविन्द पोखरेल

काठमाडौँ — तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । कथाहरूले नागलाई अलौकिक शक्तियुक्त र सर्पहरूको राजा बताउँछन् । हामीलाई देख्ता–सुन्दा अनौठो लाग्ने शक्ति के सर्पमा साँच्चै हुन्छ ? 

यसको उत्तर अलि जटिल छ । केही सर्प आकारका डरलाग्दा हुन्छन्, विषालु हुँदैनन् । केहीलाई हेर्दा सामान्य लाग्ने केही सर्प निकै विषालु हुन्छन् । सर्पका थुप्रै प्रजातिमध्ये तक्षक नाग नाम दिइएको सर्प पनि छ । नाम राख्ने पौराणिक कथाबाट प्रभावित भएको हुनुपर्छ । यसको डसाइबाट मान्छे त मर्दैन तर यो सर्प उड्न सक्छ ।

असोज ११ मा दाङको घोराही–२ सुर्केडाँगीमा तक्षक नाग भेटियो । दाङमा सर्प उद्धार गर्दै आएका वसन्त सुवेदीले खबर पाए । उद्धार गर्न भनी गए तर उनी पुग्दासम्म स्थानीयले त्यसलाई मारिसकेका थिए । वसन्तलाई स्थानीय आशिष सुवेदीले खबर गरेका थिए । पुग्न अलिकति ढिलाइले उनले त्यो सर्प मरिसकेको मात्रै देख्न पाए । अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने ‘तक्षक नाग’ नेपालमा सर्वत्र सजिलै देख्न पाइने सर्पमा पर्दैन । सर्पको यो प्रजाति निकै कम देखिएको छ ।

सरिसृप अध्ययनकर्ताहरूका अनुसार मान्छेले देख्यो कि मारिहाल्ने प्रवृत्तिले सर्पका प्रजाति त्यसै पनि संकटमा छन् । यस्तो अवस्था उनीहरूका प्रजाति छुट्याएर पहिचान गर्न झन् असजिलो छ । उद्धारकर्मी सुवेदीका अनुसार सुर्केडाँगीका स्थानीयले त्यो प्रकारको सर्प पहिलोपटक देखेको बताएका थिए । टोक्छ/टोक्दैन भन्ने थाहा नै नपाई डराएर मारिहाले । त्यस्तो सर्प २५ वर्षअघि दाङमै भेटिएको थियो । सन् १९९५ मा प्राध्यापक एवं सर्पविज्ञ करनबहादुर शाहको ‘इनुमुरेसन अफ द एम्फिबियन एन्ड रेप्टाइल्स अफ नेपाल’ नामक अनुसन्धानपत्रमा यो सर्पबारे उल्लेख छ ।

‘तक्षक नाग भनिने सर्प पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै भूभागमा पाइन्छ तर निकै कम देखिन्छ,’ प्राध्यापक शाह भन्छन्, ‘यो सर्प ५ सय मिटर उचाइ माथिदेखि नेपालका भित्री मधेसमा समेत पाइन्छ ।

तस्बिर सौजन्य : वसन्त सुवेदी

यो सर्प नेपालबाहेक भारत, चीन, श्रीलंका म्यानमार इन्डोनेसिया तथा फिलिपिन्ससम्म पाइएका रेकर्ड भेटिएका छन् ।’ यो सर्पको पोथीभन्दा भाले केही सानो हुन्छ । भालेको लम्बाइ १.०४ हुन्छ भने पोथीको १.१ मिटरसम्म हुने प्राध्यापक शाह र सगेन्द्र तिवारीद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ पुस्तकमा उल्लेख छ । प्राध्यापक शाहका अनुसार यो नेपालमा पाइने एक मात्रै उड्ने सर्प हो । हेर्दा गहना जस्तो राम्रो देखिने, बुट्टेदार यो सर्पलाई ‘अर्नामेन्ट’बाट ‘अर्नेट’ राखिएको उनले बताए । यो सर्प हेर्दा सुन्दर देखिने र गहनाभन्दा पनि राम्रो भएकाले यसको नाम अर्नेट राखिएको विज्ञहरू बताउँछन् ।

बंगाराका पछाडि भागतिर विषथैली हुने यो सर्प मानिसका लागि विषालु होइन । चरा मार्न भने यसको विष काफी हुने उनले सुनाए । प्रायः चराका बच्चा र अन्डा खाएर बाँच्ने यो सर्पले माउसुली तथा रुखमा भेटिने स–साना जीव पनि खान्छ । यसले भ्यागुता कमै मात्र खाने गर्छ ।

यो सर्प एउटा रुखबाट अर्कोमा २७/२८ फिटसम्म उड्ने (ग्लाइड गर्ने) शाहले बताए । नेपालमा पाइने सर्पमध्ये उड्न सक्ने एक मात्र, अरूभन्दा सुन्दर देखिने, कम विषालु, कमै देखिनेलगायत अन्य विविध महत्त्व बोकेकाले हुलाक सेवा विभागले यसको चित्र अंकित टिकट पनि प्रकाशित गरेको छ । यसलाई केही समुदायले पूजासमेत गर्ने भएकाले यसको नाम तक्षक नाग राखिएको हुन सक्ने प्राध्यापक शाहले बताए । यो सर्प उड्ने बेलामा घाँटी चेप्टो बनाउने गर्छ ।

तक्षक नागको तस्बिरअंकित हुलाक टिकट

हलुका हरियो, पहेँलो, कालो र रातोलगायत रङका टाटा हुने यो सर्पले अन्डा पार्छ । प्रायः दिउँसो सक्रिय हुने यो सर्प घना वन तथा ठूला रुखमा बस्न रुचाउने अध्ययनले देखाएको छ ।

दाङमा मानिसले घरका भित्तामा भेटेपछि यसलाई मारेका थिए । प्राध्यापक शाहले यो अमूल्य सर्पलाई मार्नु गलत भएको बताए । उनले भने, ‘यो सर्प उसै पनि राम्रो देखिन्छ । त्यत्रो विषालु पनि होइन । अमूल्य छ ।’

प्रकाशित : आश्विन २९, २०७७ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×