नाष्टको पहिलो ‘ह्युमोनोइड’ रोबाेट ‘यान्त्रिका’
काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलो ह्युमोनोइड एआई रोबाेट निर्माण गरेको छ ।
सोमबार भर्चुअल माध्यमबाट आर्टिफिसियल इन्टिलिजिन्स र मेसिन लर्निङ सिस्टम जडित ‘यान्त्रिका’ नाम गरेकी रोबाेट नाष्टले सार्वजनिक गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लक्षित गरेर निर्माण गरिएको यान्त्रिका एआई र मेसिन लर्निङ फिचर भएको नेपालमै निर्मित पहिलो रोबाेट भएको नाष्टले दाबी गरेको छ । हाल यान्त्रिकाले नाष्टको कार्यालय परिसरभित्र सेवा दिने निर्माणकर्ता समेत रहेका नाष्टका प्राविधिक अधिकृत इन्जिनियर रोशन पाण्डेले बताए । यो रोबाेटको डिजाइन र निर्माण नाष्टको प्रविधिक संकायले गरेको हो ।
नाष्टको मुख्य ढोकाबाट छिर्ने बित्तिकै स्वागत गर्ने यान्त्रिकाले आगन्तुकले मास्क लगाएको/नलगाएको बारे जानकारी लिन्छे । यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट गर्ने उपकरणले आगन्तुकहरुको तापक्रम पनि जाँच्छे ।
मास्क नलगाई नाष्ट छिरेको व्यक्तिलाई यान्त्रिकाले आफ्नो दायाँ हातको मद्दतबाट झोलामा राखिएको मास्क अटोमेटिक रुपमा दिने पाण्डेले बताए । मास्क लगाएपछि यान्त्रिकाले स्यानिटाइजर दिन्छे । यान्त्रिकाले बाँया हातको मद्दतबाट अटोमेटिक डिस्पेन्सर सिस्टमबाट स्यानिटाइजर दिन्छे । यान्त्रिकामा जडित न्यूरल नेटवर्कले मास्क लगाएको/नलगाएको थाहा पाउँछे र मास्क लगाएको छ भने ‘छ’ भन्छे र छैन भने छैन भन्छे ।
यान्त्रिकाले सूचना दिँदा मानिसले जस्तै आँखा झिम्क्याउने तथा आँखाले पनि एक्सप्रेसन दिने नाष्टले जनाएको छ । यान्त्रिकामा जडित भ्वाइस डिटेक्सन सिस्टेमको माध्यमबाट यो एक ठाउँबाट अर्को ठाउँबाट अर्को ठाउँमा पनि जान सक्छे । यान्त्रिकाको एउटै हातमा ६ वटासम्म मोटर भएकाले मानिसको जस्तै सजिलो तरिकाले नमस्कार गर्ने र हात हल्लाउने पाण्डेले बताए ।
यान्त्रिकाको छातिमा जडित टच स्क्रिन (ट्याबलेट)बाट आगन्तुकहरुलाई नाष्ट सम्बन्धी जानकारी पनि लिन सक्ने नाष्टले जनाएको छ ।
‘कोरोनाको महामारीमा रोबाेटले जानेर स्वयंसेविकाको रुपमा मास्क र स्यानिटाइजर लगाउनुपर्छ भन्ने चेतना हुन्छ,’ पाण्डेले भने,‘ हामी मानिसहरु पनि स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो ।’
पाण्डेको नेतृत्वमा नवप्रवर्तन समूह नाम दिएर निर्माण गरिएको यो रोबाेटको डिजाइनदेखि हरेक सिस्टमहरु नयाँ किसिमको रहेको बताइएको छ । ‘यो कम्पनी प्रोडक्ट नभएर अनुसन्धानका लागि हो,’पाण्डेले भने ।
यो रोबाेटमा मेसिन लर्निङ र आर्टिफिसियल इन्टिलिजेन्स पनि जडान गरिएको छ । हाल यान्त्रिका ०.१ भर्सनको भएकाले सन् २०२१ को अन्त्यतिर यसको दोस्रो भर्सन यान्त्रिका ०.२ ल्याउने तयारी भइरहेको नाष्टले जनाएको छ । उक्त भर्सनमा केही नयाँ विशेषताहरु थपिने र उक्त रोबाेटले मानिसहरुसँग वादविवाद पनि गर्न सक्ने पाण्डेले कान्तिपुरलाई बताए ।
तस्बिरहरु: रोशन पाण्डे/नाष्ट
कोरोनाकालपछि यो रोबाेटलाई अझ विकसित गरेर कर्मचारीहरुको हाजिरी लिने, हाजिरी गरे/नगरेको सोध्ने, हालखबर पनि सोध्ने पाण्डेले बताए । यसका लागि रोबाेटमा सम्बन्धित व्यक्तिहरुको तस्बिरसहितको जानकारी दिएपछि मेसिन लर्निङ गर्ने उनले सुनाए ।
मोटर, प्रोसेसर लगायत केही इलोक्ट्रोनिक्सहरु अन्य मुलुकबाट ल्याइएको नाष्टले जनाएको छ । करिब ६ हप्ता लगाएर निर्माण गरिएको यान्त्रिकाको २ हप्तासम्म परीक्षण गरिएको थियो ।
हाल यसको लागत इस्टिमेट तयार नगरिएकाले यसको खर्च अन्य मुलुकमा लाग्ने खर्चभन्दा कम खर्चमा तयार भएको उनले जानकारी दिए ।
टिममा पाण्डेसहित इन्जिनियरद्वय ज्ञानेन्द्र थापा र सागरबहादुर तामाङ, ३ जना इन्जिनियरिङका विद्यार्थीहरुमा रामकृष्ण यादव, नविन दाहाल र दिवस खड्का छन् । सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरी गरी ४ जना आर्टिस्टहरुले यान्त्रिकालाई मानिसको स्वरुप दिएका छन् ।
पूर्व विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका नाष्टका सद्भावनादूत गणेश साहले नयाँ पुस्तालाई यो कार्यले ऊर्जा मिल्ने बताउँदै यो कार्य नवप्रवर्तनका लागि एउटा महत्त्वपूर्ण पाइला भएको बताए ।
योजना आयोगका उपाध्यक्ष पुष्पराज काडेलले युवाहरुले गरेको कार्य राम्रो भएपनि यसको उत्पादन र व्यवहारमा कसरी लैजाने भन्ने विषयमा चुनौती भएको बताए । उनले सुरूमा काम गर्ने तर त्यसलाई निरन्तरता नदिने प्रवृत्ति भएको सन्दर्भमा कार्यालयमा सेवा पुर्याउने यस किसिमको रोबाेटहरुको आवश्यकता धेरै भएको बताए ।
प्रकाशित : कार्तिक ३, २०७७ २०:४९