आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने

गोविन्द पोखरेल

काठमाडौँ — यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई ३० मा नासाको ‘पर्सिभरेन्स रोभर’ मंगल ग्रह मिसनका लागि प्रक्षेपण गरिए ।

सौर्य मण्डल परिवारको चौथो ग्रह मंगल हरेक दुई वर्षमा पृथ्वी नजिकै आइपुग्छ । मंगल र पृथ्वीको औसत दुरी २ सय २५ मिलियन किलोमिटर हो तर यी दुई ग्रहबीचको दूरी हरेक दुई वर्षमा ५४.६ मिलियन किलोमिटरसम्म नजिक हुन्छ । यही मौका छोपेर मंगल ग्रह मिसनका लागि यानहरु प्रक्षेपण हुँदै आएका छन् ।

मंगल र पृथ्वीले अण्डाकारमा सूर्यको परिक्रमा गर्ने भएकाले यी दुईबीचको दूरी फरक भइरहन्छ । दूरीलाई नै आधारमा मानेर मंगल मिसनको टुंगो लगाइन्छ । दूरी कम हुँदा कम इन्धन प्रयोग हुने र ग्रह पनि ठूलो अनि चम्किलो देखिने भएकाले यो समय छनोट गरिने त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख एवं खगोलशास्त्री प्रा.डा विनिल अर्याल बताउँछन् । यस वर्ष रुसको पनि मंगल मिसन थियो तर प्राविधिक कारणले प्रक्षेपण हुन सकेन । अब उसले सन् २०२२ मा मात्रै प्रक्षेपण गर्नेछ ।

सन् २००३ मा मंगल र पृथ्वीबीचको दूरी ५५.७६ मिलियन किलोमिटर थियो । उक्त दूरी ६० हजार वर्षपछिको सबैभन्दा नजिक हो । सोही दूरी सन् २२८७ को अगस्ट २८ मा हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ । सन् २०२० मा मंगल र पृथ्वी अक्टोबर ६ मा सबैभन्दा नजिक देखिए । यी दुईबीचको दूरी ६२.०७ मिलियन किलोमिटर थियो । यो दूरी अब सन् २०३५ मा मात्रै हुने नासाले जनाएको छ ।

मंगलबार (अक्टोबर १३)मा पृथ्वी र मंगल ग्रह आमनेसामाने देखिदैछन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् ।

०००

मंगल ग्रहको एक वर्ष भनेको पृथ्वीको ६८७ दिन हो । सूर्यलाई परिक्रमा गर्ने क्रममा हरेक २६ महिनामा यिनीहरुबीचको दूरी कम हुँदा आमनेसामने हुने अर्यालले बताए । मंगल ग्रहको सतह, वायुमण्डल, पहाड तथा यसको भू–वनावटको कारणले धेरै नै प्रकाश परावर्तन गर्ने भएकाले यो चम्किलो देखिन्छ । पृथ्वी नजिक आउँदा यसलाई नांगो आँखाले नै हेर्न सकिने अर्यालले बताए ।

पछिल्लो समय टेलिस्कोपबाट चन्द्रमा तथा ताराहरु हेर्न क्रम बढ्दो छ । यस्तो अवस्थामा ग्रहलाई नांगो आँखाले हेर्दा यसको महत्व बेग्लै हुने प्राध्यापक अर्यालको भनाइ छ । ‘बालबालिकाहरु अन्तरिक्षसम्बन्धी जानकारीका लागि धेरै नै इच्छुक हुन्छन् । मंगल ग्रहबारे उनीहरुको झन् चासो छ,’ प्राध्यापक अर्यालले भने, ‘आज मंगल ग्रह धेरै चम्किलो देखिने भएकाले उनीहरुलाई नांगो आँखाले हेर्न प्रेरित गराउन सकिन्छ ।’

पृथ्वी र मंगल ग्रह आमनेसामने हुँदा सर्वसाधरण तथा अन्तरिक्ष कार्यक्रमहरु नभएको मुलुकलाई खासै महत्व राख्दैन । मंगल मिसन र अध्ययन तथा अनुसन्धान गर्नेहरुलाई भने यसले ठूलो महत्व राख्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराई बताउँछन् । ‘आज राति आकाशमा सबैभन्दा धेरै चम्किलो देखिने वस्तु नै मंगल ग्रह हो,’ उनले भने ।

तस्बिर स्रोतः नासा

मंगलबार राति ११ बजेर २० मिनेटमा मंगल ग्रह अधिकतम् चम्किलो देखिने प्राध्यापक अर्यालले बताए । टेलिस्कोपबाट अरु बेला पनि देखिने भएकाले उनले सकेसम्म २/३ मिनेटसम्म नांगो आँखाले नै यो ग्रहलाई हेर्न सुझाएका छन् । नांगो आँखाले नै मंगल ग्रहको रंग, यसका पहाड तथा वायुमण्डलहरु देख्न सकिने उनले बताए ।

‘सकेसम्म आफैं समय दिएर यसलाई हेर्न सकिन्छ,’ प्राध्यापक अर्यालले कन्तिपुरसित भने, ‘दुई वर्षअघि र अहिले यसलाई हेर्दा के–के देखियो, के परिवर्तन देखियो भन्ने नांगो आँखाले हेर्दा थाहा पाइने तथा अनुभव लिन सकिन्छ ।’

यस्तो छ मंगल ग्रह:

सौर्य मण्डलको चौथो ग्रह मंगललाई रातो ग्रह पनि भनिन्छ । यहाँ फलाम धेरै पाइन्छन् । अक्सिडाइज भएर खिया बन्दा यसको माटो र वायुमण्डल दुवै रातो जस्तो देखिएको वैज्ञानिकहरु बताउँछन् । त्यही भएर यसलाई रातो ग्रह भनिएको अध्यक्ष भट्टराईले बताए । मंगल ग्रह पृथ्वीभन्दा ५३ प्रतिशतले सानो छ ।

फोबस र पोइमोस नाम गरेका दुई वटा चन्द्रमा रहेको मंगल ग्रहको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा धेरै छ । पृथ्वीमा सय केजी तौल भएको वस्तु मंगल ग्रहमा करिब ४० केजी हुन्छ । यसको कारण भनेको मंगल र पृथ्वीबीचको गुरुत्व बलको फरक रहेको भट्टराईले सुनाए । मंगल ग्रहको वायुमण्डल अर्बौं वर्षअघि बाक्लो रहेको नासाले बताउँदै आएको छ ।

मंगल ग्रह हाम्रो सौर्य मण्डलको सबैभन्दा धेरै अनुसन्धान भइरहेको ग्रह पनि हो । हाल नासाको मात्रै ३ वटा अन्तरिक्ष यानहरु यसको कक्षमा छन् भने ल्यान्डर र रोभर सतहमा अध्ययन गरिरहेका छन् । भारत र युरोपियन स्पेस एजेन्सीको यानहरु पनि मंगल ग्रहको कक्षमा रहेर यस सम्बन्धी अनुसन्धान गरिरहेका छन् । हाल मंगल ग्रहमा जीवनको सम्भाव्यताबारे अनुसन्धानहरु भइरहेका छन् ।

नासाले यस वर्ष प्रक्षेपण गरेको पर्सिभरेन्स रोभर २०२१ को फेब्रुअरी १८ मा मंगल ग्रहमा अवतरण हुँदैछ । यो रोभरले मंगल ग्रहको प्राचीन इतिहासको अनुसन्धान मात्रै नभएर मानव बस्न सक्ने सम्भाव्यताको समेत अध्ययन गर्ने बताइएको छ । नासाको यो मिसनमा ‘इन्ज्युनिटी’ नामक हेलिकप्टर मंगल ग्रहको सतहमा उडाइदैछ । यसले पनि त्यहाँको वातावरण तथा सतहको अध्ययन गर्ने नासाले जनाएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

मुसामा कोरोना अध्ययन गर्दै नेपाली वैज्ञानिक

कोरोनाको परिवारमा पाइने मर्स, सार्स भाइरसविरूद्ध जडीबुटी प्रयोग भए पनि कुन कति प्रभावकारी छन् भन्ने अनुसन्धानले पुष्टि गर्ने
गोविन्द पोखरेल

काठमाडौँ — कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ ।

यी यौगिकमा पनि कुन कुन कोरोना प्रतिरोधी क्षमता बढाउने हुन् भन्ने पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका केन्द्रीय विभागका अनुसन्धानकर्मी जुटेका हुन् ।

मुसामा कोभिड–१९ का (आरएनए वा प्रोटिन) संक्रमण गराएर प्रतिरोधात्मक क्षमता बढाउने रसायन प्रयोग गर्दै त्यसले रोगसँग कसरी लड्छ भन्ने अध्ययन गरिनेछ ।

अनुसन्धानमा विभाग प्रमुख प्रा.डा. रामचन्द्र बस्न्यात नेतृत्वको अनुसन्धानकर्ताको समूहमा डा. खगराज शर्मा, डा. विष्णुप्रसाद मरासिनी, डा. मदनकुमार पौडेल, विनोद रायमाझी, सरोज बस्नेत र करन खडायतलगायत सहभागी छन् । डा. अच्युत अधिकारी प्राविधिक र प्रा.डा. निरञ्जन पराजुली वैज्ञानिक सल्लाहकार रहेको यो अनुसन्धान एक वर्ष अवधिको छ ।

‘१ सय ३६ वटा यौगिकहरूको अनुसन्धान गरेर कोरोना लाग्दा कुन यौगिक (पाइने जडीबुटी) प्रयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउनका लागि छुट्टै परीक्षण आवश्यक भयो,’ डा.पराजुलीले भने, ‘कोभिड गराइएको मुसामा प्रयोग गरेपछि त्यो पक्कै पत्ता लाग्छ ।’

आयुर्वेद तथा अन्य वैद्यहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग गर्न दिने परम्परागत जडीबुटीको कुन रसायनका हितकारी भन्ने पनि यो अनुसन्धानले प्रस्ट्याउने उनले बताए । ‘गुर्जोको झोलमा सयौं मोलिकुलसहरू छन् । तर गुर्जोमा पाइने कुन मोलिकुलसले कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता विस्तार गराउन मद्दत पुर्‍याउँछ भन्ने रिपोर्ट हाम्रो अनुसन्धानले बाहिर ल्याउनेछ,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले यो अनुसन्धानका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

नेसनल कलेजका बायो टेक्नोलोजी विभाग प्रमुख मरासिनी जडीबुटीको प्रयोगले कोरोना संक्रिमतहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइए पनि त्यसको ठोस प्रमाण आइनसकेको बताउँछन् । कोरोनाको परिवारमा पाइने मर्स, सार्स भाइरसविरुद्ध जडीबुटी प्रयोग भए पनि कुन कति प्रभावकारी छन् भन्ने कुरा अनुसन्धानले पुष्टि गर्ने उनको भनाइ छ ।

अनुसन्धानका क्रममा कम्प्युटरमै भाइरसको मोडल बनाएर जडीबुटीका यौगिकहरूका बनावटसँग म्याच गराइन्छ । यसका लागि विशेष प्रकारको सफ्टवेयर प्रयोग हुनेछ । वैज्ञानिकको समूहले भाइरस (कोरोना) लाई कसरी शरीरभित्र छिर्न नदिने, शरीरमा पसेको भाइरसलाई कसरी वृद्धि गर्न नदिने र रोग प्रतिरोधात्मक क्षमताको विस्तारसम्बन्धी अनुसन्धान गर्दै छ । दुइटा अनुसन्धानका लागि कम्प्युटर विधि अपनाएर नतिजा निकाले पनि प्रतिरोधात्मक क्षमताको अनुसन्धानका लागि भने मुसामा परीक्षण गरिनेछ । ‘हामी ३ वटा विधिबाट अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘भाइरसलाई शरीरभित्र पस्न नदिने र वृद्धिदर रोक्नका लागि उपलब्ध यौगिकहरूलाई म्याच गराइनेछ । तीमध्ये कसले धेरै एन्टिबडी उत्पादन गर्छन्, हामी त्यही प्रयोग गर्न सझुाव दिन्छौं ।’

कम्प्युटर विधिबाट पत्ता लागेका प्रतिरोधात्मक क्षमता विस्तार गर्न सक्ने यौगिकहरूलाई मुसामा प्रयोग गरिने छ । त्यसको दुई दिनपछि कोरोना भाइरसका आरएनए वा प्रोटिन (भाइरसका भागहरू) मुसामा लगाइन्छ । त्यसपछि मुसाले कति मात्रामा एन्टिबडीको उत्पादन गर्‍यो भन्ने थाहा हुन्छ । जुन यौगिक प्रयोग गर्दा धेरै एन्टिबडी उत्पादन भएको पाइन्छ, त्यही यौगिक पाइने जडीबुटी प्रयोग गर्न सुझाव दिइने डा. पराजुलीले बताए । ‘कोभिड–१९ लाग्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग भइरहेका जडीबुटीमा पाइने यौगिक कतिको प्रभावकारी छन् भनेर पत्ता लगाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘मुसामा गर्न लागिएको परीक्षणले हितकारी जानकारी बाहिर ल्याउनेछ ।’

अनुसन्धानमा मुसा नै किन ?

मानिसमा प्रयोग हुने औषधिको भ्याक्सिन तथा खोप निर्माण पूर्व विभिन्न क्लिनिकल ट्रायलका क्रममा संसारभर वैज्ञानिकहरू प्रायः मुसामा प्रयोग गर्छन् । हरेक स्तनधारी जीवमा रोगविरुद्ध प्रतिरोधात्मक क्षमता हुन्छ । मुसा स्तनधानी जीव हुनुका साथै शरीरका विभिन्न प्रणालीहरू मानिससँग मिल्दोजुल्दो भएकाले अनुसन्धानमा प्रयोग गरिएको डा. मरासिनीले बताए । ‘जीवनचक्र छोटो र आकार सानो हुने भएकाले यसलाई सजिलैसँग ल्याबमा राख्न मिल्छ,’ उनले भने । यो अनुसन्धानमा स्विस एल्बिनोलगायतका मुसाको प्रयोग गरिने उनले बताए ।

मुसामा प्रतिरोधी क्षमता अनुसन्धान सम्बन्धीको परीक्षण एक महिनामा सकिने भनिए पनि कम्प्युटेसनल मोडलिङमा धेरै समय लाग्ने अनुमान छ । अनुसन्धानकर्ताहरूले रसायनशास्त्र विभागको लेभल २ वा ३ को बायो सेफ्टी ल्याबमा मुसाको परीक्षण गर्नेछन् । विभागमा भएको लेभल १ ल्याबलाई स्तरोन्नति गरेर लेभल २ वा ३ को बनाइनेछ । कम्प्युटर मोडलिङबाट कोरोनाका लागि प्रयोग हुन सक्ने सम्भावित जडीबुटीजन्य रसायनको पहिचान भएपछि त्यो मुसामा हालिन्छ ।

‘हामीले १ सय ३६ वटा यौगिक लिएर अनुसन्धान गर्दै छौं । कम्प्युटर मोडलिङबाट आउने उत्कृष्ट १० देखि २० सम्मका यौगिकहरू हामी प्रयोग गर्छौं,’ डा. पराजुलीले भने, ‘मानौं ए नाम गरेको यौगिक हालेपछि उक्त मुसाले कति मात्रामा एन्टिबडी उत्पादन गर्छर् भन्ने थाहा हुन्छ । जुन यौगिकका प्रयोग गर्दा धेरै मात्रामा उत्पादन गर्छ त्यही सम्भावित निष्कर्ष हुन्छ ।’

प्रकाशित : आश्विन २३, २०७७ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×