कोरोना अनुसन्धानका ३ प्रस्ताव स्वीकृत, आयोगले दियो ३ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविद्यालय अनुदान आयोगले कोरोना सम्बन्धी अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुलाई ३ करोड रुपैयाँ अनुदान दिएको छ ।

कोरोना अनुसन्धानका ३ प्रस्ताव स्वीकृत, आयोगले दियो ३ करोड

आयोगका अनुसन्धान महाशाखाका निर्देशक डा. प्रमोद पौडेलले कोभिड-१९ मा आधारित सहकार्यात्मक अनुसन्धान अनुदान सहयोगका लागि ३ वटा प्रस्तावलाई जनही १/१ करोडका दरले अनुदान रकम दिइएको बताए ।

एउट अ–प्राविधिक र दुईवटा प्राविधिक क्षेत्रका लागि उक्त रकम दिइएको उनले बताए ।

आयोगले कोरोना सम्बन्धीको अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेर उत्कृष्ट प्रस्तावलाई छनोट गर्दै अनुदान दिएको हो । विभिन्न २४ वटा प्रस्तावमध्ये ९ वटा प्रस्तावलाई छनोट गरेर प्रस्तुति दिँदा उत्कृष्ट भएका ३ वटा प्रस्तावलाई अनुदान दिइएको उनले बताए । आवेदकहरुको प्रस्ताव मूल्यांकन, प्रस्तुतिकरण, अनुसन्धानात्मक लेख प्रकाशन समेतको आधारमा छनोट गरिएको बताए ।

अप्राविधिक अनुसन्धानतर्फ केन्द्रीय अर्थशास्त्र विभाग र प्राविधिकतर्फ चिकित्सा अध्ययन संस्थान र त्रिवि केन्द्रीय रसायनशास्त्र विभागका अनुसन्धानकर्ताहरुको प्रस्ताव स्वीकृत भएको थियो । सबै अनुसनधान एक वर्षभित्र गरिसिक्नुपर्ने पौडेले बताए ।

तीन वटा अनुसन्धानहरुमा कोरोनाका कारण नेपालको शिक्षा, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा भएको प्रभाव र असर, कोरोना कारण सामजिक आर्थिक क्षेत्रमा परेको असरका साथै आमा तथा शिशुको स्वास्थ्य सम्बन्धीको अनुसन्धान रहेको छ ।

केन्द्रीय रसयानशास्त्र विभागले रोग प्रतिरोधात्मक क्षमता सम्बन्धिको अनुसन्धान गर्दै छ । यसका लागि विभागले कोभिड गराइएको (कोरोनाको आरएनए वा प्रोटिन लगाइएको) मुसामा परीक्षण गर्दै छ ।

अघिल्लो आर्थिक वर्ष अनुसन्धानका लागि १७ करोड बजेट छुट्टयाएको आयोगले चालू आर्थिक वर्षमा ६ करोड वृद्धि गरेर २३ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम प्राज्ञिक अनुसन्धानमा खर्च हुने भएकाले यसबाट अनुसन्धानकर्ताहरुले प्याटेन्ट दर्ता तथा पब्लिकेसन्सहरु गर्ने गरेको पौडेलले बताए ।

प्रकाशित : आश्विन २५, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?