विज्ञान पत्रकार मञ्चमा नयाँ नेतृत्व- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञान पत्रकार मञ्चमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मेरो लगानी डटकमका सम्पादक राजेन्द्र खनाल चयन भएका छन् । मञ्चको राजधानीमा सम्पन्‍न सातौं साधारणसभाले खनालको नेतृत्वमा सर्वसम्मत रुपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजन पोखरेल (द हिमालयन टाइम्स), सचिवमा गोविन्द पोखरेल (कान्तिपुर) र कोषाध्यक्षमा दीपा अधिकारी चुनिएका छन् । सदस्यहरुमा मधुसुधन गुरागाईं (काभ्रेन्युज डटकम) , बालिका मादेन (रेडियो नेपाल) र बुनु थारु (कान्तिपुर) रहेका छन् । मञ्चको सल्लाहकारमा संस्थापक अध्यक्ष छत्र कार्की र निवर्तमान अध्यक्ष लक्षमण डंगोल रहेका छन् ।

नेपालमा विज्ञान पत्रकारिता प्रवर्द्धनका लागि २०७० सालमा गठन भएको नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) क्यानाडास्थित विश्व विज्ञान पत्रकार महासंघसँग आवद्ध छ ।

नवगठित समितिका अध्यक्ष खनालले विज्ञान लेखन र पत्रकारितालाई समाजसँग जोड्न आफूले यथासक्य भूमिका निर्वाह गर्ने बताए । एनएफएसजेलाई विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकारहरुको फोरमका रुपमा विकास गरी तथ्यपरक र सबैले बुझ्न सकिने विज्ञान समाचार लेखनलाई प्रवर्द्धन गरिनेछ,’ खनालले भने ।

निर्वतमान अध्यक्ष डंगोलले नवगठित समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित : आश्विन ९, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु गर्‍यो अनलाइन परीक्षा

भवानी भट्ट

कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ । पहिलो चरणमा शुक्रबार सिभिल इन्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा सुरु भएको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार पहिलो दिन इन्जिनियरिङका ८८ जना र कृषि विज्ञानका ९५ गरि १ सय ८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएका छन् । ‘दुवै संकायका सबै विद्यार्थी परीक्षामा सहभागी भएका छन्,’ परीक्षा नियन्त्रक नाथले भने, ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लागि यो ऐतिहासिक दिन हो ।’

समय तालिका अनुसार परीक्षाका समय बिहान ९ देखि २ बजेसम्म तोकिएको छ । निर्धारित समयमा सबै विद्यार्थीले प्रश्नपत्र डाउनलोड गर्नेदेखि उत्तर लेखेर उत्तर पुस्तिकासमेत अपलोड गर्न सफल भएको परीक्षा नियन्त्रक नाथले बताए । उनका अनुसार प्रश्नपत्र विश्वविद्यालयले सबै विद्यार्थीको इमेलमा पठाएपछि विद्यार्थीले उक्त प्रश्नपत्र डाउनलोड गरेर उत्तर लेखेपश्चात उत्तरपुस्तिका स्क्यान गरी विश्वविद्यालयको इमेलमा अपलोड गरेका छन् ।

‘हामीले लामो समयदेखि रोकिएका पठनपाठनलाई अनलाइनबाटै सञ्चालन गरेका छाैं,’ विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले भने, ‘पठनपाठन पूरा भएका कक्षाहरुको परीक्षा गर्ने निर्णयमा पुगेका हौं ।’ उनले यसका लागि विगत एक/डेढ महिनादेखि तयारी गरिएको जानकारी दिए ।

शुक्रबारदेखि सुरु भएका परीक्षा असोज २४ मा सम्पन्न हुनेछन् । इन्जिनियरिङ र कृषि विज्ञानसँगै, मानविकी, शिक्षा र विज्ञान संकायका परीक्षा पनि असोज २४ भित्रै सम्पन्न हुनेछन् । ‘विभिन्न संकायका गरि ८ हजार २८० विद्यार्थी सम्मिलित हुनेछन्,’ परीक्षा नियन्त्रण्क नाथले भने, ‘बाँकी रहेका अन्य संकायको परीक्षा तालिका त्यसपछि प्रकाशन गरिनेछ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा केन्द्रीय क्याम्पससहित १४ वटा आंगिक क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका लागि सबै विद्यार्थीको ट्रेसिङदेखि इन्टरनेटसम्म पहुँचका लागि सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारलाई समेत सहयोगका लागि आग्रह गरेको थियो । अनलाइन परीक्षा पूर्व विद्यार्थीहरुलाई अभ्यास पनि गराएको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ २०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×