विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित पुस्तक सार्वजनिक- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — विज्ञान दिवसको अवसर पारेर विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित ३ वटा पुस्तक सार्वजनिक भएको छ ।

विगत ३५ वर्षदेखि वातावरण र संरक्षणको क्षेत्रमा काम गर्दै आएको रिसोर्सेस हिमालय फाउन्डेशनले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा ती पुस्तक सार्वजनिक गरेको हो ।

फाउण्डेशनले तामाङ समुदायहरुले प्रयोग गर्ने परम्परागत ज्ञान र उपचार पद्धति सम्बन्धीको 'तामाङ समुदायको परम्परागत ज्ञान र मुख्य उपचार पद्धति'को पुस्तक सार्वजनिक गरेको छ । डा. कमल अधिकारीद्वारा लिखित यस पुस्तकमा तामाङ समुदायहरुले १ सय ११ वटा वनस्पति उपचार पद्धतिमा प्रयोग गर्ने गरेको उल्लेख छ ।

किताबमा तामाङ समुदायले विभिन्न ८ जीवहरु पनि उपचार प्रणालीमा प्रयोग गर्ने गरेको उल्लेख छ । ती प्राणीहरुको अंगहरुलाई तामाङ समुदायले उपचारका क्रममा प्रयोग गर्ने किताबमा उल्लेख छ । तामाङ समुदायले ३३ किसिमका स्वास्थ्य समस्याहरुका लागि यी जटिबुटी तथा वन्यजन्तुको अंग प्रयोग गर्ने गरेको किताबमा उल्लेख छ ।

यस्तै, छैटौं राष्ट्रिय स्‍नातकोत्तर विद्यार्थी सम्मेलन-हिमालयन नलेज कन्क्लेभ मा प्रस्तुत भएका एक सय ५ वटा शोधपत्रहरुलाई समावेश गरेर 'सारंश संग्रह' नामक पुस्तक विमोचन गरिएको छ । किताबमा विद्यार्थीहरुले विज्ञान,प्रविधि,प्रदूषण र व्यवस्थापन,जैविक विविधता,अर्थतन्त्र,मौलिक ज्ञान,स्वास्थ्य तथा चिकित्सा विज्ञान सम्बन्धी अनुसन्धानका विषयहरु समावेश भएको फाउण्डेशनका महासचिव प्राडा दिनेशराज भुजुले बताए ।

कोभिड-१९ को रोकथामका लागि युवा वैज्ञानिकहरुको सञ्जाललाई परिचालन गरि तयार पारिएको 'बिल्डिङ साइन्स चेजिङ कोरोना भाइरस' नामक किताब सार्वजनिक गरिएको थियो । किताबमा कोरोनाले पारेको असर,कोरोना कालमा वन्यजन्तु संरक्षणमा देखिएका चुनौतीहरु,कोरोनाले पानीको प्रयोगमा पारेको प्रभावबारे उल्लेख रहेको फाउण्डेशनका कार्यक्रम निर्देशक डा दिनेश न्यौपानेले बताए ।

विज्ञान दिवसको अवसर पारेर फाउण्डेशनले आयोजना गरेको ग्रायज्युएट कन्फ्रेन्समा नेपालसहित अमेरिका,युके,चीन, जापान, दक्षिण कोरिया, जर्मनी, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, केन्या, पेरु, कोलोम्बिया, स्वीडेन र भारतका अनुसन्धानकर्मीहरुले मुख्य प्रस्तुति दिएका थिए ।

विज्ञान दिवसकै अवसर पारेर नाष्टले ३ वर्षपछि आफ्नो जर्नल र विज्ञान लेख माला सार्वजनिक गरेको थियो ।

प्रकाशित : आश्विन ७, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

झापामा बाढीले सात परिवार विस्थापित

पर्वत पोर्तेल, अर्जुन राजवंशी

बिर्तामोड/काँकडभिट्टा — अविरल वर्षापछि झापाका विभिन्न खोलामा आएको बाढीले बुधबार ७ परिवार विस्थापित भएका छन् । बिरिङ खोलामा आएको बाढीले किनारका बस्ती कटान गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रदशी गाउँपालिका–७ तुल्सीबारी क्षेत्रमा बिरिङले कटान गर्दा ६ परिवार विस्थापित भएका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले जनाएको छ । प्रहरीका अनुसार विस्थापितलाई नजिकैको स्कुल मैदानमा राखिएको छ । बिरिङकै बाढीले कन्काई नगरपालिका–८ स्थित त्रिवेणी टोलमा पनि कटान गरिरहेको छ । त्यहाँका ६ घरपरिवार डुबानको उच्च जोखिममा छन् ।

बाढीका कारण झापाका मेची, कनकाई, रतुवा आदि नदीको बहावसमेत बढेको छ । खासगरी दक्षिणी क्षेत्रका बस्ती डुबान हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै हल्दीवारी गाउँपालिका–३ देवी बस्तीमा देउनिया खोला पस्दा स्थानीय दिलबहादुर राईको परिवार विस्थापित भएको छ । बाढीले राईको घर भत्किएको छ ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रमा समेत मेची नदीले कटान सुरु गरेको छ । पाठामारीका प्रहरी जवान विजय मिश्रका अनुसार नेपाल–भारत सीमाको पिलर नम्बर ११२ आसपासमा करिब ७ मिटर कटान गरेका कारण नजिकैको बस्ती डुब्ने जोखिम बढेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×