जडिबुटी सम्बन्धी अनुसन्धान गर्न नेपाली महिला वैज्ञानिकलाई ५० हजार डलर अनुदान

गोविन्द पोखरेल

काठमाडौँ — जडिबुटी सम्बन्धी अनुसन्धान गर्न एक नेपाली महिला वैज्ञानिकले ५० हजार डलर अनुदान पाएकी छन् । पोखरा वन विज्ञान अध्ययन संस्थानको सिल्भिकल्चर एन्ड फरेस्ट बायोलोजी विभागकी उपप्राध्यापक समेत रहेकी ज्योति भण्डारीले जडिबुटीबाट औषधि उत्पादन सम्बन्धी अनुसन्धानका लागि करिब ५७ लाख रुपैयाँ बराबरको अनुसन्धानवृत्ति पाएकी हुन् ।

जडिबुटी सम्बन्धी अनुसन्धान गर्न नेपाली महिला वैज्ञानिकलाई ५० हजार डलर अनुदान

युनेस्कोअन्तर्गतको अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड (ओडब्लूएसडी)ले भण्डारीको प्रस्तावलाई छनोट गरेको हो । ओडब्लूएसडीले नेपालसहित १५ मुलुकका २३ जना महिला अनुसन्धानकर्ताहरुको प्रस्तावलाई जनही ५० हजार डलरको अनुदान उपलब्ध गराएको हो । भण्डारीले दुई वर्षभित्रमा सक्नुपर्ने यो अनुसन्धान अन्‍नपूर्ण संरक्षण क्षेत्रमा हुनेछ ।

अन्नपूर्ण क्षेत्रमा पाइने महत्वपूर्ण जटिबुटीको पहिचान र औषधि उत्पादनमा भण्डारीको अनुसन्धानले सघाउ पुर्‍याउने ओडब्लूएसडीले जनाएको छ । कान्तिपुरसित भण्डारीले भनिन्, 'यत्रो ठूलो रकम अनुसन्धानका लागि पाउँदा एकदमै खुसी छु । हाम्रो जस्तो देशमा अनुसन्धानमा कम प्राथमिकता हुन्छ । तर मलाई हौसला बढेको छ । '

भण्डारीले गाउँघरहरुमा औषधिको रुपमा प्रयोग हुँदै आएका जडिबुटीको प्रयोगशालामा अध्ययन गरेर त्यस सम्बन्धी थप जानकारी हासिल हुने बताइन् । उनले जटिबुटीको अध्ययन पछि कृषकहरुलाई तालिम दिएर व्यावसायिक उत्पादनमा लैजाने सक्नु पनि आफ्नो अनुसन्धानको अर्को उद्देश्य रहेको बताइन् ।

'हाम्रो गाउँ घरमा धेरै प्रकारको जडिबुटी अनुसन्धानका लागि प्रयोग हुन्छन् । तर तीनमा पाइने तत्वहरुको अनुसन्धान कम छन्,' भण्डारीले भनिन्, 'वनस्पतिहरुको पहिचान र त्यसले त्यसबाट स्थानीयहरुले कसरी लाभ लिन सक्छन् भन्ने सवालमा पनि मेरो अनुसन्धान हुनेछ । ' आफ्नो अनुसन्धान रिपोर्टमा मात्रै सीमित नभएर जनतासामू पुर्‍याएर त्यसलाई व्यवसायसँग जोड्नु पनि रहेको उनले सुनाइन् । यो अनुसन्धान हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्म पाइने जडिबुटीको पहिचान र अनुसन्धानमा सघाउ पुग्‍ने उनले बताइन् ।

'ग्रासल्यान्ड इकोलोजी'मा विद्यावारिधि गरेकी भण्डारीले आफ्नो अनुसन्धानमा स्‍नातकोत्तरका विद्यार्थीहरुलाई पनि समावेश गराउने बताइन् । उनले विद्यार्थीहरुमा अनुसन्धानप्रति रुची जगाउनका यसमा सामेल गराउने बताइन् ।

अघिल्लो वर्ष नाष्टकी वैज्ञानिक टिस्टा प्रसाईं जोसी र रीसर्च इन्स्टिच्युट फर बायो साइन्स एन्ड बायोटेक्नोलोजीकी अनुसन्धानकर्ता एवं क्याटालिस्ट टेक्नोलोजीकी सीईओ प्रतिभा पाण्डेले जनही ५०/५० डलर अनुदान पाएका थिए ।

ओडब्लूएसडीले प्रदान गर्ने अनुदान अध्ययन तथा अनुसन्धानमा खर्च गर्नुपर्छ । नेपाली महिला वैज्ञानिकहरुले शोध गर्न चाहेको विषयमा पाएको यो रकम धेरै हो । अनुसन्धानबाट परिणाममुखी काम हुने भण्डारीले बताइन् ।

प्रकाशित : आश्विन ६, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?