१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

३ वर्षपछि नाष्टको जर्नल

गोविन्द पोखरेल

काठमाडौँ — ३ वर्षदेखि रोकिएको नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)  को 'नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी' सोमबार प्रकाशित भएको छ ।

३ वर्षपछि नाष्टको जर्नल

सन् १९९२ देखि प्रकाशित हुँदै आएको यो जर्नल विविध कारणले गर्दा हालसम्म १९ वटा अंक मात्रै प्रकाशित छ ।

सोमबार वेभिनारमार्फत् पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं नाष्टका सद्‌भावना दूत गणेश साहले जर्नलको सार्वजनिक गरे । नाष्टका उपकूलपति सुनिलबाबु श्रेष्ठ प्रधान सम्पादक रहेको यो जर्नलको व्यस्थापकीय सम्पादक नाष्टका प्राज्ञ एवं प्राध्यापक रमेशकुमार मास्के छन् । नाष्टकी वैज्ञानिक लुना बज्र यो जर्नलकी एसोसिएट म्यानेजिङ इडिटर हुन् ।

अंक १९ को पहिलो भाग प्रकाशित गरिएको नाष्टका प्राज्ञ मास्केले बताए । दोस्रो भाग यस वर्षको डिसेम्बरसम्म प्रकाशित गर्ने र वैज्ञानिक आलेखहरु माग गरिएको उनले जानकारी दिए ।

२६ वटा वैज्ञानिक लेख रहेको यो जर्नलमा नेचरल र एप्लाइड साइन्ससँग सम्बन्धित रिसर्च आर्टिकलहरु प्रकाशित छन् । 'यो अंकमा हामीले एप्लाइड साइन्स सम्बन्धी ४ वटा पेपरलाई मात्रै स्थान दिन पाएका छौं,' प्राडा मास्केले भने,'अरु नेचर साइन्स र केही रिभ्यू पेपरहरु छन् । '

विगत ३ वर्षदेखि विविध कारणले जर्नल प्रकाशित हुन सकिरहेको थिएन । जर्नल प्रकाशनलाई नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले चासो देखाएपछि प्राडा मास्केको नेतृत्वमा समिति बनाइएको थियो ।

कोभिड-१९को महामारीका बेला जर्नल प्रकाशित भएपनि यो जर्नलमा कोरोनासँग सम्बन्धि आलेखहरु भने छैनन् । प्राडा मास्केले भने,'जर्नलका लागि भनेर पहिल्यै पठाइएका आर्टिकल्सहरु प्रकाशित भएका थिएनन् । अहिले हामीले पुराना आलेखहरुलाई समावेश गरेका छौं ।'

प्राडा मास्केले नाष्टको यो जर्नललाई 'इम्प्याक्ट फ्याक्टर' जर्नलको रुपमा विकासित गर्नका लागि आवश्यक पर्ने सबै सूचांकहरु सुधार गर्न जरुरी रहेको बताए । हाल जर्नलको डिजिटल अब्जेक्ट आइडेन्टिफाएर(डीओई) लिइएको र यसले अनलाइन मार्फत प्रकाशित वैज्ञानिक लेखहरुको खोज्‍न सजिलो हुने बताए । नाष्टका यसअघिका अंकका जर्नलहरुमा डीओई नम्बर नभएको उनले बताए ।

नेपालमा १५० भन्दा बढी जर्नलहरु प्रकाशित छन् । तीमध्ये विज्ञान र प्रविधिका धेरै कम रहेको मास्केले बताए । 'नेपालका धेरै जनर्लहरु मेडिकल क्षेत्रसँग सम्बन्धित छन्,' उनले भने,'ती मध्ये केहीको मात्रै इम्प्याक्ट फ्याक्टर छ,अन्यको छैन् ।' नेपालका जर्नलहरुलाई अन्तर्राष्ट्रिय मान्यता र इम्प्याक्ट फ्याक्टर बढाउनका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

नाष्टले सोमबार नै अनलाइनमार्फत ३ वर्षदेखि स्थगित भएको विज्ञान लेखमाला पनि सार्वजनिक गरेको छ । नाष्टले साइन्टिफिक पब्लिकेसनलाई निरन्तरता दिने उद्देश्यले जर्नल र लेखमाला प्रकाशित गरिएको उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए । 'विज्ञान लेखमाला धेरै समयदेखि अवरुद्ध भएको थियो,' उनले भने,'वैज्ञानिकहरुलाई समाजसँग जोड्न लेखमालाले काम गर्छ । हामी वर्षमा ३ पटक प्रकाशित गर्ने तयारी गरेका छौं ।'

वैज्ञानिक अनुसन्धान र लेखहरु प्रकाशित हुँदा कुरीति र अफवाहरु फैलन नसक्‍ने पूर्वमन्त्री गणेश साहले बताए । कोभिड-१९का बेला वैज्ञानिक प्रकाशनहरुले महत्वपूर्ण योगदान गरेको उनले बताए । उनले नाष्टलाई विज्ञान कोषको स्थापनाका लागि पहलकदमी गर्न पनि आग्रह गरे ।

विज्ञान दिवसकै अवसर पारेर आयोजित कार्यक्रममा नाष्टका सचिव महेश अधिकारीद्वारा लिखित च्याऊ सम्बन्धिको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित : आश्विन ५, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?