३ वर्षपछि नाष्टको जर्नल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ वर्षपछि नाष्टको जर्नल

गोविन्द पोखरेल

काठमाडौँ — ३ वर्षदेखि रोकिएको नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)  को 'नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी' सोमबार प्रकाशित भएको छ ।

सन् १९९२ देखि प्रकाशित हुँदै आएको यो जर्नल विविध कारणले गर्दा हालसम्म १९ वटा अंक मात्रै प्रकाशित छ ।

सोमबार वेभिनारमार्फत् पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं नाष्टका सद्‌भावना दूत गणेश साहले जर्नलको सार्वजनिक गरे । नाष्टका उपकूलपति सुनिलबाबु श्रेष्ठ प्रधान सम्पादक रहेको यो जर्नलको व्यस्थापकीय सम्पादक नाष्टका प्राज्ञ एवं प्राध्यापक रमेशकुमार मास्के छन् । नाष्टकी वैज्ञानिक लुना बज्र यो जर्नलकी एसोसिएट म्यानेजिङ इडिटर हुन् ।

अंक १९ को पहिलो भाग प्रकाशित गरिएको नाष्टका प्राज्ञ मास्केले बताए । दोस्रो भाग यस वर्षको डिसेम्बरसम्म प्रकाशित गर्ने र वैज्ञानिक आलेखहरु माग गरिएको उनले जानकारी दिए ।

२६ वटा वैज्ञानिक लेख रहेको यो जर्नलमा नेचरल र एप्लाइड साइन्ससँग सम्बन्धित रिसर्च आर्टिकलहरु प्रकाशित छन् । 'यो अंकमा हामीले एप्लाइड साइन्स सम्बन्धी ४ वटा पेपरलाई मात्रै स्थान दिन पाएका छौं,' प्राडा मास्केले भने,'अरु नेचर साइन्स र केही रिभ्यू पेपरहरु छन् । '

विगत ३ वर्षदेखि विविध कारणले जर्नल प्रकाशित हुन सकिरहेको थिएन । जर्नल प्रकाशनलाई नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले चासो देखाएपछि प्राडा मास्केको नेतृत्वमा समिति बनाइएको थियो ।

कोभिड-१९को महामारीका बेला जर्नल प्रकाशित भएपनि यो जर्नलमा कोरोनासँग सम्बन्धि आलेखहरु भने छैनन् । प्राडा मास्केले भने,'जर्नलका लागि भनेर पहिल्यै पठाइएका आर्टिकल्सहरु प्रकाशित भएका थिएनन् । अहिले हामीले पुराना आलेखहरुलाई समावेश गरेका छौं ।'

प्राडा मास्केले नाष्टको यो जर्नललाई 'इम्प्याक्ट फ्याक्टर' जर्नलको रुपमा विकासित गर्नका लागि आवश्यक पर्ने सबै सूचांकहरु सुधार गर्न जरुरी रहेको बताए । हाल जर्नलको डिजिटल अब्जेक्ट आइडेन्टिफाएर(डीओई) लिइएको र यसले अनलाइन मार्फत प्रकाशित वैज्ञानिक लेखहरुको खोज्‍न सजिलो हुने बताए । नाष्टका यसअघिका अंकका जर्नलहरुमा डीओई नम्बर नभएको उनले बताए ।

नेपालमा १५० भन्दा बढी जर्नलहरु प्रकाशित छन् । तीमध्ये विज्ञान र प्रविधिका धेरै कम रहेको मास्केले बताए । 'नेपालका धेरै जनर्लहरु मेडिकल क्षेत्रसँग सम्बन्धित छन्,' उनले भने,'ती मध्ये केहीको मात्रै इम्प्याक्ट फ्याक्टर छ,अन्यको छैन् ।' नेपालका जर्नलहरुलाई अन्तर्राष्ट्रिय मान्यता र इम्प्याक्ट फ्याक्टर बढाउनका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

नाष्टले सोमबार नै अनलाइनमार्फत ३ वर्षदेखि स्थगित भएको विज्ञान लेखमाला पनि सार्वजनिक गरेको छ । नाष्टले साइन्टिफिक पब्लिकेसनलाई निरन्तरता दिने उद्देश्यले जर्नल र लेखमाला प्रकाशित गरिएको उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए । 'विज्ञान लेखमाला धेरै समयदेखि अवरुद्ध भएको थियो,' उनले भने,'वैज्ञानिकहरुलाई समाजसँग जोड्न लेखमालाले काम गर्छ । हामी वर्षमा ३ पटक प्रकाशित गर्ने तयारी गरेका छौं ।'

वैज्ञानिक अनुसन्धान र लेखहरु प्रकाशित हुँदा कुरीति र अफवाहरु फैलन नसक्‍ने पूर्वमन्त्री गणेश साहले बताए । कोभिड-१९का बेला वैज्ञानिक प्रकाशनहरुले महत्वपूर्ण योगदान गरेको उनले बताए । उनले नाष्टलाई विज्ञान कोषको स्थापनाका लागि पहलकदमी गर्न पनि आग्रह गरे ।

विज्ञान दिवसकै अवसर पारेर आयोजित कार्यक्रममा नाष्टका सचिव महेश अधिकारीद्वारा लिखित च्याऊ सम्बन्धिको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित : आश्विन ५, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

डाक्टर केसी भेरी अस्पतालमा उपचार गराउँदै

'स्वास्थ्य अवस्था सामान्य'
रुपा गहतराज

नेपालगन्ज — स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू कक्षमा अनशनरत सत्याग्रही डाक्टर गोविन्द केसीलाई सोमबार नेपालगन्ज ल्याइएको छ ।

दुई दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू अस्पतालमा भएपनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउँसो समिट एयरमार्फत नेपालगन्ज ल्याइएको हो ।

१९ औं सत्याग्रहको आठौं दिन सोमबार डा. केसी नेपालगन्जकै भेरी अस्पतालमाको क्याबीन नम्बर चारमा राखेर उपचार गरिरहेको भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले बताए ।

केसीको उपचारमा भेरी अस्पतालमा रहेका डाक्टर संकेत रिसाल र डाक्टर निर्मल शाक्य, डाक्टर राजेश मण्डल र नर्स इश्वरी केसी खटिनुभएको अस्पतालका मेसु डाक्टर थापाले जानकारी दिए ।

केसीसँग उनको नियमित जाँच गर्दैै आएका डाक्टर प्रविण गिरी र हिमाल कार्की पनि आएका छन् ।

आठौं दिनमा आएर सोमबार भेरी अस्पतालमा रगत जाँचका लागि डा. केसी राजी भएको डाक्टर प्रविण गिरीले बताए । ‘सबैभन्दा राम्रो कुरा आठौं दिनमा आएर स्वास्थ्य जाँच गर्न राजी हुनुभएको छ’, डाक्टर गिरीले भने, ‘रगत जाँच गरिएको छ, सलाइन पानी दिइरहेका छौं ।’ उनले भोलि बिहानको फलाइटबाट काठमाडाैं जाने तयारी भएको सुनाए ।

भेरी अस्पतालमा डाक्टर केसीको उपचारमा सहभागी संकेत रिसालले केसीको अवस्था सामान्य रहेको बताए ।

‘भाइटल राम्रै छ । पल्सको चाल राम्रै छ । तर अपकोर्स लामो समय अनशन बसेकाले स्वास्थ्य अवस्था कमजोर छ, ’ डाक्टर रिसालले भने, ‘थप कुरा अरु रिपोर्ट आएमा भन्न सकिन्छ ।’

डाक्टर केसीको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर नेपालगन्जका नागरिक समाजले दिप प्रज्वलन गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७७ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×